Comments Add Comment

‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन

९ जेठ, काठमाडौं । भारत सरकारले ‘भारतीय भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले B.1.617 लाई ‘भारतीय भेरियन्ट’ नभनेको भन्दै भारत सरकारले त्यसलाई ‘भारतीय भेरियन्ट’ भन्नु गलत हुने तर्क गरेको छ ।

B.1.617 सबैभन्दा पहिले भारतमा फेला परेकाले त्यसलाई ‘भारतीय भेरियन्ट’ भन्ने गरिएको छ । कोरोना भाइरसको भेरियन्टलाई त्यही स्थानको नाम जोडेर भन्ने गरिएको छ, जहाँ सबैभन्दा पहिले पाइएको थियो । ‘युके भेरियन्ट’ र ‘ब्राजिल भेरियन्ट’ यसको उदाहरण हुन् ।

कोरोना संक्रमणको दोस्रो लहरमा भेटिएको युके भेरियन्ट बढी संक्रामक भनिए पनि भारतमा फेला परेको B.1.617 भेरियन्टलाई झन् बढी संक्रामक मानिएको छ । नेपालमा यही भेरियन्ट फैलिएको पुष्टि भइसकेको छ ।

समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई)का अनुसार गत शुक्रबार भारतको सूचना मन्त्रालयले सामाजिक सन्जालका कम्पनीहरुका लागि जारी गरेको निर्देशनमा भनिएको छ, ‘आफ्नो प्लेटफर्मबाट ती सबै सामग्रीहरु तुरुन्त हटाउनू जसमा कोरोना भाइरसको भारतीय भेरियन्ट लेखिएको छ या यसतर्फ संकेत गरिएको छ ।’

गत महिना भारत सरकारले सामाजिक सन्जालका कम्पनीहरुलाई कोरोना महामारीको विषयलाई लिएर भारत सरकारको आलोचना गरिएका पोष्टहरु हटाउन भनेको थियो । यसबाट भारत सरकारको कडा आलोचना भएको थियो ।

विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटले त आफ्नो आठ मेको अंकमा सम्पादकीय नै लेखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको थियो । मोदीले ट्वीटरमा आफ्नो आलोचना दबाउन बढी र कोरोना नियन्त्रणमा कम ध्यान दिएको भनेर ल्यान्सेटले आलोचना गरेको थियो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment