+
+
Shares

अध्यादेश अनुसार निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गर्नू : गृहसचिव न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते १८:३६

८ जेठ, काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुन तीन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । नागरिकस्तरबाट लापरबाही बढेको भन्दै भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न न्यौपानेले निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन उनले निर्देशन दिए ।

भेटमा मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख जनकराज दाहाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली पनि उपस्थित थिए ।

निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन न्यौपानेले निर्देशन दिएको सहभागी एक अधिकारीले बताए ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

गृहसचिव न्यौपानेले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिंदै भनेका छन्, ‘हालै लागू अध्यादेशमा भएको व्यवस्थाअनुसार निषेधाज्ञाको कार्यान्वयन गराउनू ।’

शनिबारै न्यौपानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?