Comments Add Comment

प्राधिकरणले पाँच जलाशययुक्त आयोजना बनाउने

२१ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पाँच वटा जलाशययुक्त परियोजना अगाडि बढाउन लागेको छ । नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले मात्रै मुलुकको ऊर्जा संकट समाधान गर्न नसकिने निष्कर्षका साथ सरकारले ती परियोजना अगाडि बढाउन लागेको हो ।
Indra lake_ kulekhani (15)
प्राधिकरणले अगाडि बढाउन लागेका जलाशययुक्त आयोजनामा ३०० मेगावाट क्षमताको उत्तर गंगा, २१० मेगावाट क्षमताको दूधकोसी, १८० मेगावाट क्षमताको आँधीखोला, ६६० मेगावाट क्षमताको कालीगण्डकी जलाशययुक्त आयोजना र ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना छन् । ती आयोजनाबाट कुल दुई हजार २२ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

पाँचवटै आयोजनाको प्रारम्भिक अध्ययन यसअघि नै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरेको थियो । प्राधिकरणका अनुसार उत्तरगंगा जलविद्युत् आयोजनाको हाल सर्वेक्षणको काम भइरहेको छ । भौगर्भिक अध्ययन तथा बाँधस्थलको पहिचान गर्ने काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए ।

यस्तै लामो समयदेखि चर्चामा रहेको दूधकोसी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको काम अन्तिम चरणमा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । परामर्शदाताबाट एउटा छनोट गर्ने र मुख्य लगानीकर्ता एसियाली विकास बैंकलाई ‘नो अब्जेक्सन लेटर’का लागि पठाइएको उनले बताए ।

यस्तै कालीगण्डकी ए लजविद्युत् आयोजनाले यसअघि नै पहुँच मार्ग निर्माण गरिसकेकाले आँधीखोला जलविद्युत् परियोजना अगाडि बढाउन सहज हुने निष्कर्षका साथ काम अगाडि बढाउन लागिएको हो । जाइकाले सन् १९८५ मा अध्ययन गरेको तमोर जलाशययुक्त आयोजनालाई छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाउने वा प्राधिकरण आफैंले बनाउने भन्ने विषयमा छिट्टै निर्णय गरिने कार्यकारी निर्देशक काफ्लेको भनाइ छ ।

त्यस्तै अर्को महत्वपूर्ण आयोजनाको रुपमा रहेको माथिल्लो अरुण ३३५ मेगावाट परियोजनाको विस्तृत अध्ययन तथा निर्माण अनुगमनका लागि परामर्शदाता छनोटको काम प्रारम्भ भइसकेको छ । पहुँचमार्ग निर्माणको काम चालु आर्थिक वर्षभित्रै सुरु गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हाल सञ्चालन गरिरहेको प्रायः आयोजनाहरु नदी प्रवाहमा आधारित भएकाले हिउँदमा आवश्यकताअनुसार विद्युत् प्रवाह गर्न नसकिएकाले जलाशय आयोजनालाई अगाडि बढाउन लागेको हो ।
हाल कुलेखानी पहिलो र दोस्रो आयोजनाको कुल ९६ मेगावाटमात्रै जलाशययुक्त आयोजनाका रुपमा छन् । बूढीगण्डकी जलविद्युत् आयोजना पनि जलाशययुक्त आयोजनाका रुपमा निर्माण सुरु गर्न लागिएको छ ।

सुरुको समयमा ६०० मेगावाट मात्रै उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको फ्रान्सेली कम्पनी ट्याक्टबेलले सो आयोजनाबाट कुल एक हजार २०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणले जनाएको छ । सो आयोजनाको डिपिआर तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।

आगामी चैतको मध्यसम्म सो आयोजनाको डिपिआर तयार हुने बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका कार्यकारी अध्यक्ष लक्ष्मी देवकोटाको भनाइ छ ।

यस्तै ४१० मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत् आयोजनालाई पनि जलाशययुक्त परियोजनाका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सो आयोजनाको हाल पहुँचमार्ग निर्माण, प्रभावित क्षेत्रको जग्गा खरिद, मुआब्जा वितरणको काम सुरु भएको छ ।

नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिका कार्यकारी अधिकृत शेरबहादुर शाहीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सो आयोजना कुन प्रणालीमा निर्माण हुने भन्ने विषयमा टुंगो लगाइने छ ।
ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीका अनुसार नदी प्रवाहमा आधारित आयोजनाले राष्ट्रिय आवश्यकता र ऊर्जाको मागलाई सम्बोधन गर्न नसकेकाले बहुउद्देश्यीय जलाशययुक्त आयोजनालाई अगाडि बढाउन लागिएको जानकारी दिए ।

प्राधिकरणले तामाकोसी पाँचौं आयोजनालाई अगाडि बढाउनका लागि माथिल्लो तामाकोसी परियोजनाकै परामर्शदातामार्फत अध्ययन गराइरहेको छ । सो आयोजनाको हाल प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ । तामाकोसी पाँचौं आयोजनाको क्षमता ८७ मेगावाट छ ।

‘नदी प्रवाहमा आधारित १० वटा आयोजना बनाउनुभन्दा जलाशययुक्त आयोजना चार वटामात्रै बनाउँदा पनि त्यो महत्वपूर्ण हुने भएकाले मन्त्रालयले पनि त्यसलाई नै जोड दिएको छ । केही वर्षमा सकारात्मक परिणाम आउँछ,’, सचिव क्षेत्रीले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment