Comments Add Comment

भारतबाट नेपाली जालीनोटको कारोबार हुने गरेको प्रमाण भेटियो

२२ फागुन, काठमाडौं ।  भारतीय र नेपाली जाली नोटको उत्पादन भारतमा भई दुवै मुलुकमा वितरण हुने गरेको प्रमाण भारत सरकारसमक्ष पेस गरिएको छ।

केही समयअघि सम्पन्न भारत-नेपाल संयुक्त कार्यदल बैठकमा नेपाल पक्षले सप्रमाण जाली नोटको उत्पादन र वितरणसम्बन्धी कार्य भारतीय भूमिबाट सञ्चालित भएको जानकारी भारतीय टोलीसमक्ष प्रस्तुत गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

गोप्य राखिएको उक्त विवरणबारे उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई नेपाली टोलीले फागुनको पहिलो साता अवगत गराएको थियो।

भारतले हरेकजसो द्विपक्षीय सुरक्षा बैठकमा नेपालमा भारतीय नक्कली नोटको उत्पादन एवं वितरण अवैध तरिकाले भारतमा भइरहेको र त्यसले भारतलाई सुरक्षा तथा आर्थिक खतरा पुर्‍याएको दाबी गर्दै आएको छ।

नेपालले सप्रमाण भारतीय भूमिबाट त्यस्ता गतिविधि सञ्चालन भएको दाबी गरेको यो पहिलोपल्ट हो। नेपालले भारतीय नक्कली नोटमात्र होइन, नेपाली नक्कली नोट भारतीय सीमावर्ती सहर रक्सौलमा उत्पादन हुने गरेको तथ्य पनि भारतलाई बुझाएको जानकारी उच्च आधिकारिक स्रोतबाट अन्नपूर्णलाई प्राप्त भएको छ।

नेपाल-भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूहको माघ २७ र २८ मा पोखरामा सम्पन्न ११ औं बैठकपछि गृह मन्त्रालयमा गोप्य ब्रिफिङ गरिएको थियो।

ब्रिफिङमा भारतीय पक्षलाई नक्कली नोट उत्पादन स्थान (रक्सौल) र संलग्न गिरोहबारेसमेत पर्याप्त जानकारी दिइएको थियो। बारा र पर्सा क्षेत्रमा पक्राउ गरिएका भारतीयहरूसँगको बयानपछि नेपाल पक्ष त्यस्तो प्रमाण जुटाउन सफल भएको हो।

पोखरा बैठकमा भारतीय पक्षले नेपालले भारतीय जाली नोट उत्पादन र तस्करीमा पाकिस्तानीहरू संलग्न भएको आरोप दोहो:याएपछि नेपालले आफ्नो पक्ष प्रस्तुत गरेको हो।

भारतको मागअनुसार नेपाल पक्षले प्राप्त प्रमाण जाली नोटको उत्पादन हुने रक्सौलस्थित घरको लोकेसनसहित अन्य विवरण सुम्पिएको थियो। त्यसमा संलग्न केही व्यक्तिलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंसिर र पुस महिनामा सञ्चालित कारबाहीमा पक्राउ गरेका थिए।

प्रहरीले भारत उत्तरप्रदेश जिल्ला इटाहा (ग्राम पञ्चायत दत्तपुर कुन्जपुर गाउँ नागला) का २२ वर्षका धीरेन्द्र यादवलाई गत पुस २३ गते वीरगन्ज बसपार्कबाट भारतीय जाली नोट ९५ थानसहित पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment