Comments Add Comment

आवरणमा पुतली, भित्र झुसिल्किरो

– खगेन्द्र संग्रौला

काँकरभिट्टाको कला-साहित्य मेलाले जगाएको बौद्धिक घर्षणको अर्थपूर्ण प्रतिध्वनि राजधानीका छापाहरुमा अझै गुन्जिँदै छ । यो अझै अलि दिन चल्ला । तर, आज भने मेरो कुरो अर्कै छ । यी घटना उही मेलाको निम्तोमा जाँदा दृष्टिगोचर भएका हुन् । घटना उति सुन्दर छैनन् । त्यसो त हाम्रो जीवन नै उति सुन्दर कहाँ छ र !

काठमाडौंबाट विलम्ब गरी उडेको विमान चन्द्रगढी विमानस्थलमा घ्याच्च बस्यो । हामी विमानबाट ओर्लियौँ । हामी साथीसँगी चारजना थियौँ । डा. देवेन्द्रराज पाण्डे, प्रा. कृष्ण खनाल, एकजना औतारी मानव र म ।

Davendra-raj-Pandey-and-Pradeep-giri
सम्मेलनका क्रममा कांग्रेस नेता प्रदिप गिरीसँग कुराकानी गर्दै देवेन्द्रराज पाण्डे

 

विमानस्थल अगाडि बाटा दुईवटा थिए । एउटा भीआइपीहरु भीआइपी कक्षतिर जाने विशिष्ट बाटो, अर्को भूइँमान्छेहरु हिँड्ने सादा बाटो । भीआइपीको बाटो समात्दै औतारी मानवले भने- ‘यता जाउँ, यता ।’ प्रत्युत्तरमा लौराले भूइँमान्छेको बाटो देखाउँदै डा. पाण्डेले गिज्याए- ‘त्यता होइन, यता ।’ औतारी मानव सुनेको नसुन्यै गरेर सुमुसुमु अघि बढे । जाओस् अन्तरे भनेर हामी आफ्नो बाटो लाग्यौँ ।

जनपथ हुँदै अघि बढ्दा माथि भीआइपी कक्षबाहिरको सानोतिनो खल्बली मेरा कानमा आएर ठोक्कियो । दम्भी मुद्रामा भीआइपीको बाटो समात्ने ती औतारी मानव एमाओवादी थिए । शायद कर्तव्यपरायण प्रहरीलाई ती यसरी थर्काउँदै थिए- ‘हेर, म लर्तरो मानिस होइन । म एमाओवादी नेता हुँ । नेता, अझ त्यसमाथि संविधानसभाको माननीय विधायक म । तसर्थ म अति विशिष्ट व्यक्तिलाई खुरुक्क खोल् यो अति विशिष्ट कक्षको ढोका । नत्र…..।’

हैन कमरेड, आफू राजा हुन नपाएर राजतन्त्रको विरोध गरेको हो कि कसो ? यो त चोर्ने मौका नपाएर चोरीको विरोध गर्ने चोरीउन्मुख चोरको जस्तो चरित्र पो भयो लौ

डा. पाण्डे व्यङ्ग्यको सूक्ष्म कलामा औधी कुशल छन् । ठट्टैठट्टामा ती कति-कति गहिरा कुरा भनिभ्याउँछन् । हामी यात्रुहरुको लस्करसँगै जनपथमा हिँड्दैछौँ । हिँड्दा-हिँड्दै पाण्डेजीका मुखारविन्दबाट ब्यङ्ग्यको पर्रा छुट्न थाल्यो । मलाई हेरेर तिनले भने- ‘भाइ, म त यसै बुर्ज्वा उसै बुर्ज्वा । उता भीआइपी कक्षतिर सवारी हुने महापुरुषचाहिँ सर्वहारा । यता म बुर्ज्वा बूढो राजीखुशीले लौरो टेकेर लुखुर-लुखुर जनपथमा, उता कोमल देह भएका सर्वहारा प्रभु आरामदायी भीआइपी कक्षमा । खै, कसरी पो बुझ्ने हो यो जटिल जिन्दगीलाई ? हे हरि !’

पाण्डेका लबजमा नरम तर अर्थमा खरा कुरा सुनेर खनालजी मुसुमुसु हाँसे ।

जो एक्लै शानका साथ भीआइपी कक्षतिर लागे, ती बृद्ध, रोगी र अशक्त किमार्थ थिएनन् । बरु ती त उमेरदार, स्वस्थ र सशक्त पो थिए । उमेर, सार्वजनिक चिनारी र वरियताका हिसाबले भीआइपी कक्षतिर लाग्दा गाल नपर्ने पाण्डे दाज्यैज्यू यता भूइँमान्छेको लाममा एकाकार भए । उता औतारी महोदयले भूइँमान्छेको गोलोबाट बेग्लिएर राजसी औतार धारण गरे ।

लौराको सहाराले हिँड्ने पाण्डेलाई धूलामा छाडेर आफू एक्लै भीआइपी कक्षतिर सोझिन एमाओवादी माननीयलाई लाज लागेन । ती औतारी मानवको लज्जाहीन ताल देखेर मानौँ लज्जा स्वयं लज्जित भयो ।

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

को हुन् यी औतारी एमाओवादी माननीय ? मलाई आवरणमा यी मानव आदर्शप्रेमी र अपेक्षाकृत सुन्दर लाग्थे । यो उनका विचारहरुबाट मेरो मानसमा बनेको उनको बिम्ब थियो ।

यी मानव लेखनीमा वा वार्तामा वर्गका कुरा गर्थे । आफ्नो पार्टी वर्गका कुरालाई तल र जातिका कुरालाई माथि पारेर मार्क्र्सवादबाट चुक्यो भन्ने यिनको जिद्दी मैले कति कतिपटक पढेको र सुनेको हुँ । त्यतिमात्र कहाँ र ? आफ्नो पार्टी सादा जीवन र उच्च विचारबाट विचलित भयो भन्ने यिनको ठहर पनि मैले घरिघरि नपढेको र नसुनेको होइन । मलाई लाग्थ्यो, यी मानिस अध्ययनशील र विचारवान् हुन् । र, मलाई यो पनि लाग्थ्यो, यी मानिसले श्रमिकवर्गीय विचारधारा र राजनीतिको उदात्त आदर्श बिर्सेका छैनन् ।

खलिप्सा र भोगलिप्साका मुखेञ्जी आदर्श खतरामा परेका समयमा आदर्शको बीउ जोगाउने यत्न गर्नु ठूलो कुरा हो । त्यसैले म यिनलाई आदर्शको बीउका बिरलाकोटी रक्षक ठान्थेँ । तर अहिले सुन्दर आवरणभित्र लुकीबसेको यिनको अर्कै औतार पो प्रकट भयो । आवरणमा पुतली, भित्र झुसिल्किरो भनेजस्तो !

काँकरभिट्टामा अर्का झनै चर्का औतारी प्रकट भए । माथि डायसमा सम्वाद कार्यक्रम चल्दै थियो । तल विशाल दर्शकदीर्घा श्रोतागणले खचाखच भरिएको थियो । संवादकर्ताहरु संवादमा मग्न थिए, र श्रोताहरु थिए श्रवणमा एकाग्र । यस्तैमा प्रकट भए अर्का औतारी मानव । गलामा अँगालाभरिको सयपत्रीको माला छ, अनुहार जीवनहीन छ, स्पन्दनहीन छ, संवेदनाहीन छ, लज्जाहीन छ । त्यो बिबाहमण्डप थिएन, न त ती औतारी दुलाहा थिए । त्यो मूक प्रजाहरुको भीड थिएन, न ती औतारी राजा थिए । तैपनि ती मालाधारी मानव लोकलाई माला देखाउँदै दुलाहाको वा राजाको अभिनयमा प्रस्तुत भए । ती चाइने एमाले थिए ।

ती औतारी कुशासन र भ्रष्टाचारको बिगबिगी भएको संसदमा सांसद भइखाएका, मन्त्री भईखाएका जीवात् थिए । पार्टीका समर्थक वा भक्तले आदरभाव व्यक्त गर्न तिनलाई माला लगाइदिए हुनन् । यो बुझिने कुरा हो । र, यो आपत्तिजनक कुरा पनि होइन । तर गलाको माला सभ्य समाजसामु लगाएको लगायै गरेर प्रदर्शन गरिने जिनिस किमार्थ होइन । त्यो लगाइन्छ, आदर ग्रहण गरिन्छ र तत्काल फुकाइन्छ । त्यो लगाइराख्ने त काठको हनुमानले पो हो ।

काँकरभिट्टामा एमालेका निर्जीवतुल्य हनुमानश्रीले सारा लोकका मुखेञ्जी दुदुई घण्टासम्म त्यो लगाइराखे ।

दर्शकदीर्घाको अघिल्लो लहरमा डा. पाण्डे, प्रा. खनाल र अरु केही पाका मानिस बसेका थिए । तिनले मालाधारी औतारीलाई स्तब्ध मुद्रामा ट्वाँ परेर हेरे । यो को हो ? कहाँबाट आयो यो ? र, यसले यो के गरेको हो ? यो मालाधारी सद्दे मनुवा हो कि खुस्केट दुखिया हो ?

लोकले भीआइपीमार्गी कमरेडको बडप्पनको दृष्टान्तलाई अघि सारेर सकल माओवादीलाई सोध्छ- हैन कमरेड, आफू राजा हुन नपाएर राजतन्त्रको विरोध गरेको हो कि कसो ?

हो, तिनका विस्मित अनुहारमा यस्तै भाव झल्केको थियो । मालाधारी एमाले शिष्ट मानिसहरुको त्यो गोलोमा एक्ले ढेडुजस्ता देखिए । त्यो ढेडु, जो आफ्नो दुच्छर चरित्र, असामाजिक मिजास र मैमत्त अहंकारका कारण बथानबाट हटक हुन्छ, र अर्घेलो भएर वनमा लिन्ठिङ-लिन्ठिङ एक्लै घुमिरहन्छ ।

oli n prachanda

यी दुई पात्र अर्थात् भीआइपी एमाओवादी र मालावाले एमालेको प्रवृत्ति उस्तै हो । अर्थात् पात्र दुई, प्रवृत्ति एक । आफूलाई कम्निस्ट भन्नेहरु सादा जीवन, उच्च विचारको बखान गरेर कहिल्यै थाक्दैनन् । यी दुई औतारी पनि नथाक्दा हुन् ।

कम्निस्ट र भूइँमान्छेको सम्बन्ध माछा र पानीको सम्बन्धजस्तै हो भनेर कम्निस्टहरु कहिल्यै थाक्दैनन् । यी दुई औतारी पनि नथाक्दा हुन् । तर, आचरणमा यिनले जे देखाए, त्यो यिनका मीठा कथनीसित कतै मिल्दैन । यी दुई औतारी आफूलाई भूइँमान्छेभन्दा उच्च, विशिष्ट र महान् ठान्छन् । त्यसैले त एउटालाई भीआइपी कक्ष नभई भएन, अर्काले मालाको प्रदर्शन गर्न हत्ते हाल्यो ।

यो भीआइपी कक्ष र यो माला असमानताको द्योतक हो । यो निःसन्देह उच र नीचको निशानी हो । यसबाट म ठूलो, तँ सानो, म माथि, तँ तल, म विशिष्ट, तँ निकृष्ट, म मान्यजन, तँ मानविहीन, म दर्शनीय, तँ दर्शनार्थी, म पूजनीय, तँ पूजक आदिको दूरी र विभेद उत्पन्न हुन्छ ।

आखिर हिजो राजा पनि त यसै गथ्र्यो । ऊ आफू र प्रजामाझ दूरी, उचनीच, विभेद र पृथकताको निर्माण गथ्र्यो । र, सबैको मान-प्रतिष्ठा हरण गरेर र शीरमा अहंकारसूचक श्रीपेच लगाएर ऊ एकलासको उच्च सिंहासनमा गजक्क परेर बस्थ्यो । र, ऊ आफूलाई सर्वसाधारण नरनारीभन्दा श्रेष्ठ ठान्थ्यो, र ऊ स्वघोषित विष्णुको औतार थियो ।

माओवादीको उत्पाती उथलपुथलले राजतन्त्रको जग मानिने नरभक्षी सामन्तवादलाई जरैदेखि हल्लायो भनिन्छ । यो सत्य पनि हो । यसमा माओवादीहरु गर्नुसम्म गर्व गर्छन् । सामन्तवादलाई त्यसरी हल्लाउने माओवादी आफूभित्रचाहिँ कतै केही हल्लिएन कि कसो ? माओवादीले राजालाई सिंहासनबाट मिल्काएको श्रेय दाबी गर्छ । यो दाबीमा दम छ । तर, मिल्काएको किन ? आफैँ राजा हुन ? आफूलाई भूइँमान्छेबाट बेग्ल्याएर भीआइपी कक्षमा भित्र्याउने माओवादीले देखाए त चरित्र !

पुरातनपन्थी बृद्ध एमालेका कुरा नगरुँ । तर, लोकले भीआइपीमार्गी कमरेडको बडप्पनको दृष्टान्तलाई अघि सारेर सकल माओवादीलाई सोध्छ- हैन कमरेड, आफू राजा हुन नपाएर राजतन्त्रको विरोध गरेको हो कि कसो ? यो त चोर्ने मौका नपाएर चोरीको विरोध गर्ने चोरीउन्मुख चोरको जस्तो चरित्र पो भयो लौ ।

आखिर यही त हो आवरणमा पुतली, भित्र झुसिल्किरो भनेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment