भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमा कुराकानी गरेका छन् । उक्त संवादमा मोदीले स्मितको साहस र सुझबुझको प्रशंसा गरे ।
मोदीले देशभर उनको दीर्घायु र शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको बताए । गम्भीर चोट लागेका अवस्थामा पनि यात्रुको ज्यान बचाउन क्याप्टेन स्मितले गरेको निर्णयप्रति पूरै देशलाई गर्व रहेको उनले बताए ।
‘पूरै देश तपाईंका लागि प्रार्थना गरिरहेको छ । ठाउँ–ठाउँमा महामृत्युञ्जय मन्त्रको जाप भइरहेको छ,’ मोदीले स्मितसँग भने, ‘तपाईंको साहस, धैर्य र सुझबुझले धेरै मानिसको ज्यान बचायो ।’
मोदीले क्याप्टेन स्मित आफैं गम्भीर घाइते भएर जीवन–मृत्युको संघर्षमा रहेका बेला पनि आफ्नो ज्यानको पर्वाह नगरी यात्रुको सुरक्षालाई प्राथमिकता दिएको बताए । उनले क्याप्टेन स्मितको साहसिक कदमले १४० करोड भारतीयको शिर उँचो बनाएको बताए ।
पाइलट स्मितले के भने ?
क्याप्टेन स्मितले मोदीलाई घटनाका क्रममा आफू लडेको र धेरै चोट लागेको बताए । त्यसका बाबजुद विमानभित्रको अवस्था बिग्रिरहेको आफूले महसुस गरेको उनले बताए ।
‘मलाई लाग्यो, यदि म उठिनँ र कुनै कदम चालिनँ भने अवस्था अझ खराब हुन्छ । म १७ वर्षदेखि विमान उडाइरहेको छु, र पछिल्लो ११ वर्षदेखि क्याप्टेन छु,’ स्मितले भने, ‘मलाई आँखा बन्द गरेर पनि विमानभित्र के भइरहेको छ भन्ने थाहा हुन्छ । म तल लडिरहेको बेला पनि अवस्था खराब हुँदै गएको महसुस भइरहेको थियो ।’
क्याप्टेन स्मितले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेपछि अन्य मानिसहरू त्यहाँ आउन सकेको बताए । उनले यो प्रयासमा अन्य व्यक्तिहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले भने, ‘म आफ्नो ज्यान बचाउने हिसाबले अघि बढिरहेको थिएँ, तर त्यही समयमा मलाई थाहा थियो कि म ती मानिसहरूलाई मर्न दिन सक्दिनँ ।’
हनुमान चालिसाबाट हौसला
मोदीसँग कुराकानीका क्रममा क्याप्टेन स्मितले पीडाका बेला हनुमान चालिसा पाठ गरिरहने गरेको र भगवानले नै आफ्नो ज्यान बचाएको विश्वास रहेको बताए ।
‘जब पनि मलाई पीडा हुन्छ, मलाई एउटै कुरा याद आउँछ, म हनुमान चालिसा नै पढिरहेको हुन्छु। मलाई थाहा छ, भगवानले नै मलाई बचाउनुभएको हो’, उनले भने ।
क्याप्टेन स्मितले आफ्नो चोटलाई केवल घाउका रूपमा नलिएको बताए। उनले यसलाई बिस्तारै निको हुने एउटा यात्राका रूपमा लिएको र आफू पूर्ण रूपमा स्वस्थ हुनेमा विश्वस्त रहेको बताए ।
परिवारसँग पनि मोदीको कुराकानी
मोदीले क्याप्टेन स्मितका बुवा भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको पनि उल्लेख गरे । गीताबेनले स्मितलाई राम्रो संस्कार दिएको भन्दै उनले प्रशंसा गरे । सोनलबेनको साहस र संयमको पनि उनले प्रशंसा गरे ।
मोदीले सावरकुन्डलासहित देशका विभिन्न स्थानमा क्याप्टेन स्मितको दीर्घायु र शीघ्र स्वास्थ्यलाभका लागि पूजाआजा भइरहेको बताए । उनले पूरै भारत क्याप्टेन स्मित स्वस्थ भएर फर्किएको हेर्न प्रतीक्षारत रहेको बताए ।
मोदीले क्याप्टेन स्मितको उपचार र हेरचाहका लागि साउदी अरब र यूएई सरकारलाई पनि धन्यवाद दिए । आवश्यक परेको अवस्थामा आफू केवल एक फोनको दूरीमा रहेको उनले बताए । –बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4