Comments Add Comment

क्लिन एन्ड जर्कमा दिनेशको राष्ट्रिय कीर्तिमान

१६ चैत, काठमाडौं । नेपाल आर्मीका दिनेश श्रेष्ठले चौथो ग्रान्डपि्रक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर पुरुषतर्फ ९४ केजीको क्लिन एन्ड जर्कमा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

दिनेशले क्लिन एन्ड जर्कमा १ सय ४६ केजी भार उचाल्दै ज्ञानबहादुर श्रेष्ठको नाममा रहेको १ सय ४५ केजीको कीर्तिमान भंग गरी नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । ज्ञानबहादुरले २०६६ सालमा काठमाडौंमा भएको ११ औं दक्षिण एसियाली खेलकुदको छनोटमा कीर्तिमान बनाएका थिए । दिनेशले स्न्याचमा ११० सहित कुल २५६ केजी भार वहन गर्दै स्वर्ण जिते । आर्मीकै टहलसिंह बस्याल दोश्रो भए ।

अघिल्लो दिन नेपाल प्रहरीकी तारादेवी पुनले आफ्नै नाममा रहेको तीन राष्ट्रिय कीर्तिमान स्न्याच, क्लिन एन्ड जर्क र कुलमा सुधार गरेकी थिइन् । जुनियर पुरुषको ९४ केजीमा बाराका मोहम्मद आसिक हुसेन पहिलो भए । उनले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ९० गरी कुल १ सय ६२ केजी भार वहन गरे । कञ्चनपुरका सागर भण्डारी दोश्रो भए ।

सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा भएको सिनियर पुरुष १०५ केजीमा आर्मीका गगनसिंह वली पहिलो भए । उनले स्न्याचमा १०८ केजी र क्लिन एन्ड जर्कमा १३५ गरी कुल २४३ केजी वजन उठाए । प्रहरीका गगन चन्द दोश्रो भए । सोही तौलसमूहको जुनियर पुरुषमा काठमाडौंका राजिव महर्जन पहिलो भए । उनले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ८७ गरी कुल १५९ केजी वजन उचाले ।

सिनियर पुरुषको १०५ केजीमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १०५ र क्लिन एन्ड जर्कमा १२० गरी कुल २२५ केजी भार उठाउदै शीर्ष स्थान कब्जा गरे । सोही स्पर्धाको जुनियर पुरुषमा चितवनका सन्देश गुरुङले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ९२ गरी कुल १५२ केजी भार उचाले ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित सिनियर पुरुषको ६९ केजीमा आर्मीका कमलबहादुर अधिकारी पहिलो स्थानमा रहे । उनले स्न्याचमा ११० र क्लिन एन्ड जर्कमा १४५ गरी कुल २५५ केजी भार उचाले । त्यसै वजन समूहको जुनियर पुरुषमा धनुषाका अशोककुमार यादव पहिलो भए । उनले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८५ गरी जम्मा १५२ केजी भार वहन गरे ।

सिनियर पुरुषको ७७ केजीमा प्रहरीका लिक्की थापाले स्न्याचमा ९५ र क्लिन एन्ड जर्कमा ११५ गरी कुल २१० केजी भार उठाउदै स्वर्ण चुमे । त्यसै स्पर्धाको जुनियर पुरुषमा कञ्चनपुरका विशालसिंह विष्ट पहिलो भए । उनले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० गरी जम्मा १४० केजी वजन उचाले ।

सिनियर पुरुषको ८५ केजीमा आर्मीका भैरवसिंह थापा पहिलो बने । उनले स्न्याचमा ९५ र क्लिन एन्ड जर्कमा १२७ गरी कुल २२२ केजी वजन उचालेका थिए । उक्त स्पर्धाको जुनियर पुरुषमा कञ्चनपुरका निकेश खाती पहिलो भए । उनले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९२ गरी कुल १६२ केजी भार उठाए ।

दुईदिने प्रतियोगितामा ५४ पुरुष र १६ महिला गरी जम्मा ७० खेलाडी सहभागी थिए । प्रतियोगिता साउन ६ देखि १५ गतेसम्म लगनखेलमा हुने सिनियर पुरुष तथा महिला एसियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रारम्भिक छनोटका रुपमा समेत रहेको आयोजकले जनाएको छ । राष्ट्रिय टिमको छनोट समेत यसै प्रतियोगितालाई आधार मानिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment