१२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पले काठमाडौं उपत्यकामात्र मात्रै करीव ७ सय ज्यान लिएको गृह मन्त्रालयको अनुमान छ । यो भूकम्पले सांस्कृतिक नगरिका रुपमा परिचित काठमाडौं उपत्यकाका प्रायः सबै ऐतिहासिक धार्मिक सम्पदाहरु क्षतिग्रस्त बनाएको छ ।
नेपालको आधुनिक इतिहासको जीवित साक्षी बसन्तुपुर दरवार क्षेत्र भूकम्पका कारण भग्नावशेषमा परिणत भएको छ । बसन्तुपुर दरवार अगाडि दुई ऐतिहासिक मन्दिर भत्किएर ध्वस्त भएका छन् । ती मन्दिर दिनहु सयौं सर्वसाधारणले आश्रय लिने विश्रामस्थल थिए । मन्दिरको अगाडि बनाइएका सिँढीमा भूकम्पको बेला पनि दर्जनौं सर्वसाधारण बसिरहेका थिए ।
तीमध्ये कतिपय पुरिएइका छन् भने कतिपयको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै करीव ३ सय वर्ष पूरानेा बसन्तपुर दरवार पनि क्षतिग्रस्त भएको छ । नारायणहिटी राजदरवारभन्दा पहिले नेपालका शाहवंशीय राजाहरुको दरवार यहि थियो । बसन्तपुरका कुमारी मन्दिर पनि क्षतिग्रस्त भएको छ ।
त्यस्तै ऐतिहासिक पाटनको कृष्ण मन्दिर पनि क्षतिग्रस्त भएको छ भने भक्तपूरको चाँगुनारायण मन्दिर पनि क्षतिग्रस्त भएको छ । भक्तपूरकै न्यातपोल दरवार पनि क्षति भएको छ ।
सुन्धारास्थित ऐतिहासिक भिमसेन स्तम्भ धरहरा पूर्ण रुपमा ध्वस्त भएको छ । भूकम्प गएका बेला धरहराभित्र रहेका अधिकांशको ज्यान गएको छ । ५८ जनाको शव निकालिए पनि अरु पुरिएको अवस्थामै छन् ।
विक्रम संवत १८८२ मा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले ललित त्रिपुरा सुन्दरीको स्मृतिमा यो धरहरा बनाएका थिए । एक सय ९० वर्षअघि बनेको यो धरहरा १९९० सालको महाभूकम्पले क्षतिग्रस्त बनाएपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले पुनिनिर्माण गराएका थिए । अब धरहरा इतिहासमा सिमित भएको छ ।
प्रतिक्रिया 4