Comments Add Comment

सुन्दरबजारकी सरस्वती भन्छिन्- वडाध्यक्षमा लड्छु

विनोद घिमिरे

२७ असार, लमजुङ । सुन्दरबजार नगरपालिका-६ की सरस्वती परियारले लामो समय समाज र परिवारमा दमित भएर बस्नुपर्‍यो । ‘पानी नचल्ने’ जात भनेर समाजमा हेला होचो सहनु त छँदै थियो, घरपरिवारले एक टुक्रो जग्गासमेत नदिएर छुट्टाइदिएपछि सरस्वतीका कठिन दिन सुरु भए ।

Saraswoti Pariyar_Lamjung (1)

कथित उपल्लो जातको समाजसँग संघर्ष गर्नु त छँदै थियो, आफ्नै परिवारभित्र पनि अधिकारका लागि लड्दै आएकी सरस्वती अहिले समाजसेवामा सक्रिय बनेकी छिन् ।

सुन्दर काममा लागेकी सुन्दरबजार-६ ऐंसेलुटोलकी सरस्वती एक उदाहरणीय पात्र हुन् । जातीय विभेद र समाजिक कुरीति हटाएर स्वाभिमानपूर्वक जीवन जिउन सक्ने भएकी छिन् उनी । आय आर्जनको बाटोमा लागेर आत्मनिर्भर बन्न, गाउँ टोल सफा गर्न र दुःखमा परेकालाई सघाउन प्रेरित गर्छिन् उनी ।

स्थानीय विकास मन्त्रालय मातहतको चौतारी नागरिक सचेतना केन्द्रको सदस्य हुँदै अहिले संयोजक बनेकी छन् सरस्वती । केन्द्रमा उनीजस्तै निम्न वर्गका ३० जना महिला सदस्य छन् ।
उनी आफूले जानेबुझेका कुरा अरुलाई सिकाउँछिन् । विभेद विरुद्ध लड्न जागरुक बनाउँछिन् र आफू सुध्रिए समाज सुध्रिन्छ भन्ने पाठ सिकाउन लागि पर्छिन् ।

‘देश बनाउन त सबैभन्दा पहिले तपाई हामी सुधि्रनुपर्‍यो नि,’ हिम्मतका साथ उनले भनिन्, ‘पुरुषभन्दा महिला कुनै कुरामा कम छैनन् ।’

वडा अध्यक्ष बन्ने लक्ष्य

Saraswoti Pariyar_Lamjung (2)

स्थानीय निकायको निर्वाचन गर्ने सरकारले तयारी गरिरहेकाबेला अब सुन्दरबजार नगरपालिका वडानम्बर १२ को अध्यक्ष बन्ने सरस्वतीको लक्ष्य छ ।

‘अब संविधान बनेपछि स्थानीय निकायको निर्वाचन हुने भन्ने सुनेको छु’ उनले भनिन्, ‘चुनाव भयो भने वडा अध्यक्षमा म लड्छु । औपचारिक शिक्षा कम भएर के भयो र, व्यवहारले मलाई परिपक्व बनाएको छ ।’

आफू वडा अध्यक्ष भए गाउँको अझै विकास गरेर देखाइदिने भन्दै उनले त्यसका लागि सबैको साथ पाउने विश्वास व्यक्त गरिन् ।

परिवारभित्रै संघर्ष

सानै छँदा बुवा बितेकाले घर चलाउन मुस्किल थियो सरस्वतीलाई । त्यसैले चाहेर पनि ७ कक्षा भन्दा धेरै पढ्न सकिनन् उनले । सामाजिक संस्कार अनुसार १६ वर्षमै नवघोषित सुन्दरबजार नगरपालिका ६ का खुसीराम परियारसँग उनको मागी विवाह भयो । तर, बिहे भएको केही समयमै ससुराले अंशसमेत नदिएर छुट्याइदिएपछि झन् कठिन दिन सुरु भए सरस्वती र खुसीरामका ।

अंश पाउने जति खर्च विहेमै सकियो भनेर ससुराले अंश दिन नमानेपछि अर्काको जग्गा जोतभोग गरेर जिन्दगी चलाउँदैछन् उनीहरु । अंशका लागि कानुनी लडाइँ पनि जारी राखेकी छन् उनले ।

‘सम्पत्तिका नाममा केही छैन, दुबैजनाले पढेका पनि छैनौं, अरुको जग्गा जोतेर जेनतेन जिन्दगी चल्दैछ,’ सरस्वतीले अनलाइनखबरसँग भनिन्, ‘तर, मैले हिम्मत हारेकी छैन ।’

सचेतना केन्द्रले दिलायो हिम्मत

सुरु-सुरुमा आफ्नो परिचय पनि दिन नसक्ने उनी अहिले कानुनी लडाइँ लड्नेदेखि गरिबी निवारणको काममा सक्रिय छिन् । यो हिम्मत उनलाई स्थानीय विकास मन्त्रालय मातहतको नागरिक सचेतना केन्द्रले दिलाएको हो ।

सरकारले देशभरका गाविसमा विपन्न समुदायलाई लक्षित गरी सचेतना केन्द्र सन्चालन गरेको छ । सो केन्द्रले स्थानीयलाई आत्मनिर्भर बनाउन आयआर्जनमूलक कार्यक्रमदेखि सरसफाइ, शिक्षा, स्वास्थ्य र समाजसेवामूलक काम गर्दै आएको छ ।

तिनैमध्येको सुन्दरबजार नगरपालिका ६ ऐंसेलुटोलस्थित चौतारी नागरिक सचेतना केन्द्रकी संयोजक हुन् सरस्वती । सरस्वती संयोजक रहेको यही केन्द्रले गत वैशाख १२ को विनाशकारी भूकम्पका पीडितहरुलाई राहत, वितरण, उद्धार तथा पुनःस्थापनाको काम गरेर सामाजिक उत्तरदायित्व बहन गरेको थियो ।

सरस्वतीले जिल्लाकै भूकम्प प्रभावित गाविसमा गएर सरसफाइ सम्वन्धि तालिम समेत दिएकी थिइन् ।

सो केन्द्रकी सामाजिक परिचालक शारदा पौडेल भन्छिन्, ‘स्थानीयबासीहरु पशुपंक्षीसँगै बसेर खाने, दिसापिसाब यत्रतत्र गर्ने, जुवातास खेलेर दिन बिताउने, रक्सी खाएर कुटपिट, होहल्ला गर्ने गर्थे । तर, अहिले सरस्वतीजस्तै धेरै महिलाहरु जागरुक भएर गाउँकै मुहार फेरेका छन् । गाउँमा के आवश्यक छ, कस्तो योजना चाहियो, त्यसका लागि कहाँ गएर के प्रक्रिया अपनाउनुपर्छ भनेर उनीहरुले छिमेकीहरुलाई सिकाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment