Comments Add Comment

प्रचण्डले भने-संविधान जारी हुँदा देशभर दिपावली हुन्छ कि हुन्न ?

Sambad-Samiti

  • फाइल फोटो

१४ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान जारी हुँदा देशभर दिपावली हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् ।

केही मधेसवादी दल, जनजाति लगायतले संविधानको प्रस्तावित मस्यौदाको विरोध गरिरहेका बेला १६ बुँदेका हस्ताक्षरकर्ता प्रचण्डले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा यस्तो प्रश्न उठाएका हुन् । उनले नयाँ संविधानले शान्ति ल्याउँछ कि नयाँ द्वन्द्व जन्माउँछ भन्नेबारे गम्भीर हुनु पर्ने बताए ।

उनले संविधानको मस्यौदानमा जनताले दिएको सुझाव अनुसार सहमति खोज्न कार्यदल बनाउने प्रस्ताव गरेका छन् । कार्यदलसँग चार दलका शीर्ष नेताहरुले पनि सहमतिको प्रयास गर्नु पर्ने उनले बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि जनताले दिएको सुझाव अनुसार पुनर्विचार गर्नु पर्ने बताए ।

तर, बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन मसान्तभित्रै संविधान ल्याउनु पर्ने बताए । संविधानको मस्यौदा जनताले अस्वीकार गरेको नभइ सुझाव दिएको भन्दै उनले सबैमा सहमति सम्भव नभएको बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको पक्षमा जनमत आएको तर, चार दलको सिण्डिटेकले त्यसलाई स्वीकार नगर्ने देखिएको बताए । उनले चार दलका शीर्ष चार नेताको कार्यदल बनाउन सुझाव दिएका छन् ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले लक्ष्मणलाल कर्ण नेतृत्वको पुरानै कार्यदललाई सहमति खोज्ने जिम्मा दिन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment