News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राखेको छ।
- जाजरकोटको मालिका बस्नेत निर्माण सेवा र कञ्चनपुरको पञ्चकोटी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
- बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालिलाई पनि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरूलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा, बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालि रहेका छन् ।
कार्यालयका अनुसार सडक डिभिजन चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा मालिका बस्नेत निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति शान्तबहादुर बस्नेत हुन् ।
त्यस्तै, सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरको सिफारिसमा पञ्चकोटी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति हरिस सिंह बुढाल हुन् ।
तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाको सिफारिसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा रहेको आदित्य सप्लायर्सलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त सप्लायर्सकी मुख्य व्यक्ति लिला देवी शाह हुन् ।
यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका–३५, सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति सुरेश पण्डित हुन् ।
कार्यालयले कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4