२९ साउन, काठमाडौं । प्रभु बैंकले चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन योजना तयार पारेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुँजी वृद्धिका लागि तीनवटा विकल्पसहितको योजना तयार पारेको हो ।एक्वायर वा मर्जरमा जाने र हकप्रद सेयर तथा बोनस सेयर वितरण गरेर ०७४ असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरिएको प्रभु समुह तथा बैंकका अध्यक्ष देबीप्रकाश भट्टचनले अनलाइनखबरलाई बताए ।
पुँजी बढाउनका लागि हाम्रो पहिलो प्राथमिकता एक्वायर वा मर्जर नै हो ।’ उपयुक्त संस्था खोजिरहेका छौं ।’ भट्टचनले भने । धेरै पुँजी तर थोरै कारोबार भएका, खराब कर्जाको मात्रा कम रहेका, पुँजीको पर्याप्तता भएका, कर्जा निक्षेप अनुपात कम भएका र वित्तीय सूचकांक स्वस्थ रहेका संस्था एक्जायर वा मर्ज गर्ने योजना रहेको उनले बताए ।
यस्तो अवस्था भएका केही संस्थामाथि नजर लगाइसकेको उनले जानकारी दिए । यसअघि प्रभूले नोक्सानीमा गएका संस्थाहरू गाभेको थियो भने नोक्सानीमै रहेको ग्रान्ड बैंक एक्वायरको अन्तिम चरणमा छ ।
०७४ मा बैंकले १ अर्ब ५० करोड बढी नाफा कमाउने र सो नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरी ९० करोड पुँजी थप्ने भट्टचनले सुनाए ।
गाभ्ने संस्थाले गुडविल लिने र गाभिने संस्थालार्इ डिस्काउन्ट लिने व्यवस्था मिलाईदिन नियामक राष्ट्र बैंकसँग आग्रहसमेत गरेको छ । मर्जर वा एक्वायारमा जाँदा सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्दा चुक्ता भइसकेको पुँजी पनि घट्ने विद्यमान व्यवस्था हटाउन माग गरेको भट्टचनले बताए ।
‘२/२ अर्ब चुक्ता पुँजी भएका बैंक गाभिँदा चुक्ता पुँजी ४ अर्ब हुनु पर्ने हो तर स्वाप रेसियो निर्धारण गर्दा चुक्ता पुँजी घटाएको राम्रो होइन।’ उनले भने – चुक्ता भइसकेको पुँजी घटाउने व्यवस्था अव्यवहारिक छ ।’ यस्तो व्यवस्था रहेसम्म बैंकहरुलाई मर्जर वा एक्वायरमा गएर पनि तोकिएको समयमा तोकिएको चुक्ता पुँजी पुर्याउन कठिन हुने उनको भनाई थियो ।
मर्जर वा एक्वायर सफल नभए हकप्रद र बोनस सेयर दिएर तोकिएको चुक्ता पुँजी पुर्याउने योजना रहेको उनले बताए ।
‘ग्रान्ड बैंक एक्वायर गरिसकेपछि प्रभूको चुक्ता पुँजी ५ अर्ब २० करोड हुन्छ । यसअघि कै घोषणा अनुसार सेयरधनीलाई २० प्रतिशत हकप्रद सेयर दिँदा यसैवर्ष चुक्ता पुँजी ५ अर्ब ८० करोड पुग्छ ।’ उनले भने ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाए पनि तत्कालीन किष्टका कारण प्रभुको कूल कर्जामा खराब कर्जाको मात्रा ७.३९ प्रतिशत छ । ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंकले लाभांस वितरण गर्न नपाउने राष्ट्र बैंकको व्यवस्था छ ।
०७४ को नाफाबाट बोनस दिँदा चुक्ता पुँजी ६ अर्ब ८० करोड पुग्नेछ । बाँकी रहेको १ अर्ब २० करोड पुँजी २० प्रतिशत हकप्रद सेयर वितरण गरेर चुक्ता गर्ने उनको बताए ।
त्यस्तै, चालू आर्थिक वर्षमा पनि ग्रान्ड बैंकका कारण कमाएको रकम लाभांस बाँड्न सक्ने अवस्था नहुने उनले बताए । यो वर्ष २ अर्ब नाफा कमाउने बैंकको योजना छ । ०७४ मा भने बैंकले १ अर्ब ५० करोडभन्दा बढी नाफा कमाउने र सो नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरी ९० करोड रुपैयाँ पुँजी थप्ने योजना रहेको भट्टचनले सुनाए । ०७४ को नाफाबाट बोनस दिँदा बैंकको चुक्ता पुँजी ६ अर्ब ८० करोड पुग्ने छ । बाँकी रहेको १ अर्ब २० करोड पुँजी २० प्रतिशत हकप्रद सेयर वितरण गरेर चुक्ता गर्ने उनको भनाई थियो ।
२०७१ भदौ ३० गते ‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको प्रभु विकास बैंक, गौरिशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स एकआपसमा गाभिएर प्रभू बैंककोरुपमा कारोबार सुरु गरिएको थियो । बैंकमा संस्थापक र साधारण गरी ५३ हजार सेयरधनी छन् ।
निजी क्षेत्रद्धारा प्रवर्द्धित बैंकमध्ये शाखा, एटीएम र कर्मचारी संख्यामा प्रभु बैंक पहिलो नम्बरमा पर्छ । बैंकले १ सय १२ शाखा, १ सय ६ एटीएममार्फत करिब ७ लाख ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
राष्ट्र बैंकले पुँजी वृद्धिको घोषणा गरेपछि प्रभु बैंकले पुँजी वृद्विको योजना पेस गरिसकेको भट्टचनले बताए । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी आठ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेको थियो ।
हप्तादिन अघि मात्रै घोषणा गरिएको चुक्ता पुँजी पुर्याउने योजना आगामी भदौ मसान्तभित्र पेस गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारि गरिसकेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु पुँजी वृद्धिको योजना तयार गर्न निकै व्यस्त छन् । देशभर ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका गरी २ सय बढी संस्थाहरु सञ्चालनमा छन् ।
सम्बन्धित समाचारहरू
सफलताको कथाः डुबेको किष्टलाई प्रभुले गर्यो कायापलट
प्रतिक्रिया 4