Comments Add Comment

दुवईमा नेपाली मजदुरको नमूना सहकारी, थोपा-थोपा मिलेर बन्यो समुद्र

sagarmatha meeting 2रामप्रसाद ढुंगेल

दुबई । कमाएरमात्र हुँदैन, नियमित बचत गर्नुपर्छ भन्ने बुझेका थिए, नवलपरासीका रामप्रसाद गौडेलले । सामूहिक रुपमा बचत गरे झनै प्रभावकारी हुने उनको अनुभव थियो । मन मिल्ने साथीहरुसँग छलफल चलाए । थाेपाथोपा मिलेर समुन्द्र बन्छ भन्ने उनीहरुलाई विश्वास थियो ।

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटको दुबईमा आएका गौडेलले भावना मिल्ने गुल्मी, पाल्पा र रुपन्देही जिल्लाका साथीहरु काशी काफ्ले, नारायणबहादुर बोहोरा, विष्णु महोत्रा, राजेन्द्र भुर्तेल, श्रवण खत्रीसँग छलफल गरे । सधैं परदेशमा बसेर मात्र हुन्न ।

परदेशमा बसे पनि भविष्यका लागि नेपालमै सामूहिक लगानीमा केही परिणाममुखी काम गर्न नियमित बचत गर्नुपर्ने सहमति भयो । आजभन्दा ३२ महिनाअघि मासिक १ सय दिराम्स बचत गरी भविष्यमा नेपालमै सामूहिक लगानी गर्ने योजना बन्यो । नाम जुर्यो- सगरमाथा बचत तथा ऋण सहकारी संस्था, यूएई ।

अहिले पनि ४८ जना युवाहरु मासिक रुपमा बरदुबईमा भेटघाट गरिहेका हुन्छन् । कमाउन त सबैले आ-आफ्नो योग्यता अनुसार कमाउँछन् तर मासिक १ सय दिराम्स बचत गर्छन् । बचत भएको रकम आफ्ना सदस्यमध्ये जोकोहीलाई सरल ब्याज तिर्ने गरी लगानी पनि गर्छन् । नियमित बचत गरी नेपालमै कृषि वा पशुपालनको क्षेत्रमा सामूहिक लगानी गर्ने तीन वर्ष पहिलेको सोचमा परिवर्तन आएको छैन । सहकारीको भावना अनुरुप आफ्ना सदस्यहरुको आर्थिक विकास गर्ने पहिलो लक्ष्य रहेको जानकारी दिँदै संस्थाका संरक्षक काशी काफ्लेले निकट भविष्यमा एकीकृत रुपमा कृषिमा लगानी गर्ने अनलाइनखबरलाई बताए ।

यसरी थोरै पुँजीलाई एकत्रित गर्ने हो भने निश्चित समयमा त्यो गुणात्मक रुपमा वृद्धि हुने उनीहरुको अनुभव छ । हाल यो संस्थामा करिब २ लाख १५ हजार दिराम्स अर्थात् नेपाली करिब ६० लाख रुपैयाँ बचत भएको छ । यस समूहले करिब तीन वर्षअघिदेखि आफ्ना सदस्यबाट १ सय दिराम्सका दरले नियमित बचत अभियान थालेको थियो ।

यस अवधिमा आफ्ना सदस्यहरुका ठूल्ठूला आर्थिक अभावहरु यहीबाट पूरा भएका छन् । आफ्ना सदस्यहरुलाई दुईचार लाख आवश्यक परे कहिले महिना पुग्ला र तलब आउला भनी कुर्नुपर्दैन । पछिल्लो समय त उनीहरु हरेक महिना करिब ३ लाख रुपैयाँ बचत तथा लगानी गर्न सक्ने भएका छन् ।

पहिलेको तुलनामा ब्याजदर १ प्रतिशतमा झारेका छन् भने ऋण तिर्नुपर्ने समयलाई पनि ४ बाट बढाएर ८ महिना पुर्याएको संस्थाका संस्थाका सक्रिय सदस्य तथा सल्लाहकारसमेत रहेका नारायणबहादुर बोहोराले जानकारी दिए । संस्थाको हिसाबकिताब राख्ने कोषाध्यक्ष र सहकोषाध्यक्षलाई मासिक भत्ता समेत प्रदान गर्न लागेका छन् ।

meeting of sagarmatha-coop-uae-2यस अवधिमा आर्थिक विकाससँगै यस संस्थाले सामाजिक कार्य पनि थालेको संस्थाका अध्यक्ष रामप्रसाद गौडेेलले बताएका छन् ।

व्यवसायिक संस्था भए पनि गत वैशाखमा आएको भूकम्पले प्रभावित नेपालीहरुलाई प्रत्यक्ष आर्थिक सहयोग गर्न पनि भ्याएका छन् ।

यसरी सहयोग पाउनेमा गुल्मीका निरन्जन महोत्रा, ऋषिराम सुवेदी, प्रमोद अधिकारी, पाल्पाका नारायण बोहोरा, धादिङकी पार्वती मगर रहेको संस्थाका संरक्षक काशी काफ्लेले जानकारी दिएका छन् । यस संस्थाका संस्थापक सदस्य बीएन घायलका अनुसार प्रगतिनगर नगरपालिका ७ नम्बर वडामा रहेको सूर्य स्मृति पुस्तकालयलाई पनि यस संस्थाले कम्प्युटर खरिदका लागि आर्थिक सहयोग गरेको छ ।

त्यतिमात्र होइन, भूकम्पीडित नेपाल र नेपालीहरुको लागि भन्दै प्रधानमन्त्री राहतकोषमा समेत यो समूहबाट २० हजार जम्मा गरिएको छ । नवलपरासीमै रहेको अमर बाल क्लबलाई समेत यो संस्थाले आर्थिक सहयोग गरेको छ ।

त्यतिमात्र होइन, मासिक बैठकमा उनीहरु आफ्नो गाउँठाउँमा भएका राम्रा वा नराम्रा घटनाहरुको विषयमा छलफल चलाउँछन् । आफ्नो गाउँको विकास निर्माणमा कसरी सहयोग गर्ने भन्ने विषयमा मन्थन गर्छन् । यूएईमा रहेका अन्य नेपालीहरुको सुखदुःखमा आवश्यक सहयोग गर्न पनि साथ दिन्छन् । त्यसो त उनीहरु आफूलाई समाजसेवी मान्दैनन् । न त कुनै मञ्चमा भाषण गर्छन् न त कुनै कार्यक्रममा अतिथि भएर दोसल्ला ओढ्न पुग्छन् ।

युएईको नेपाली समुदायमा समाजसेवा गर्ने उद्देेश्यले स्थापित करिब ९० वटा संस्था छन् । तर ती संस्थाको भीडमा व्यावसायिक हित तथा सदस्यको आर्थिक विकास गर्ने उद्देश्यले स्थापित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले जस्तै सबै संस्थाले सामाजिक काममा शब्दले मात्र होइन, कर्मले पनि योगदान गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment