Comments Add Comment

कोहलपुरमा थारु समुदायको ‘शक्ति प्रदर्शन’

Tharu-Birodh-Sava-Bakeआरपी सुवेदी
१६ भदौ, नेपालगन्ज । थरुहट प्रदेशको मागलाई सरकारले बेवास्ता गरेको भन्दै थारु संयुक्त संघर्ष समिति बाँकेले कोहलपुरमा शक्ति प्रदर्शन गरेको छ । कोहलपुर चौराहाबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भाग परिक्रमा गरी पुनः कोहलपुर चौराहामा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्नेहरुले लामो समयसम्म आन्दोलन गर्दा पनि सरकारले माग पूरा गर्नुको साटो दमनको नीति अपनाउदा आन्दोलन अझ चर्काउनु परेको बताए ।

सभालाई सम्बोधन गर्दै नेकपा-माओवादीका नेता तथा पूर्वसभासद पट्टु थारुले सरकारले थारुहरुको आन्दोलनलाई दवाउने नीति लिएको आरोप लगाए । उनले राज्यले लामो समयदेखि शान्तिपूर्वक आन्दोलनमा रहेका थारुहरुलाई भड्काउन खोजेकाले नै माग सम्बोधन गर्न नचाहेको जिकीर गरे । उनले तत्काल थारु प्रदेश बनाउन माग गरे ।

तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विजय गुप्ताले यो आन्दोलन थारु र मधेसीको मात्र नभएर सम्पूर्ण बाँकेबासीको भएकाले सबैको सहभागिता आवश्यक रहेको औंल्याए ।

Tharu-Birodh-Sava-Bake

केहि व्यक्तिहरुले आन्दोलन कुनै दुई सम्प्रदायबीच भएको जस्तो बनाउन खोजेको बताउदै उनले भने, ‘यो कुनै सम्प्रदाय विरुद्धको आन्दोलन होइन । हामी सामाजिक सदभाव खल्बलिन नदिन सचेत छौं र सबैलाई सचेत रहन पनि आग्रह गर्दछौं ।’

थारु संयुक्त संघर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कोणसभामा एमालेका तुलसी चौधरी, फोरम लोकतान्त्रिकका हिरालाल लोनिया, थरुहट तराई पार्टीका केन्द्रीय सदस्य सोमति चौधरी, पूर्ण थारु, थारु कल्याणकारी सभाका गणेश चौधरी, प्रवक्ता फूलाराम थारु, सुरेश चौधरी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रबाट थारु समुदाय आफ्नो जातिय पहिरनमा उपस्थित भएका थिए । सो विरोध सभालाई स्थानीय थारु अगुवाहरुले शक्ति प्रदर्शनको संज्ञा दिएका थिए ।  नेपालगन्जमा पनि संयुक्त अवध थरुहट संघर्ष समितिले प्रदर्शन गरेको थियो ।

झण्डै तीन सातादेखि आन्दोलित थारु र मधेसी समुदायले कञ्चनपुरदेखि चितवनसम्मका १० जिल्लालाई थरुहट प्रदेश बनाउन माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment