Comments Add Comment

सुनचाँदीको भाउमा उतार चढाव जारी

१९ भदौ, काठमाडौं । यस हप्ता सुनचाँदीको भाउमा सामान्य उतार चढाव देखिएको छ । हप्ताको सुरुमा उकालो लागेको सुनचाँदीको भाउ हप्ताको मध्यबाट भने ओरालो लाग्यो ।

Goldआइतबार तोलाको ५० हजार ७ सय रुपैयाँमा किनबेच भएको सुन मंगलबारसम्म बढेर ५१ हजार ५५ रुपैयाँ पुगेपछि त्यसपछि निरन्तर ओरालो लागेर शुक्रबार ५० हजार ४ सय रुपैयाँमा किनबेच हुन पुग्यो ।

चाँदी भने आइतबार तोलाको ६ सय ७५ रुपैयाँमा किनबेच भएकोमा उतार चढावका बाबजुत शुक्रबार १० रुपैयाँ बढ्दै ६ सय ८५ रुपैयाँमा किनबेच भयो ।

चिनियाँ शेयर बजारमा आएको गिरावट एवं युआनको अवमूल्यनले सामान्य उकालो लागेको सुनचाँदीको भाउ डलरको उच्च मूल्य कायम रहिरहनाले स्थिर हुन सकेन र क्रमशः ओरालो लाग्न थाल्यो ।

अमेरिकी अर्थतन्त्रमा आएको सुधार एवं गैह्रकृषि बेरोजगार दर प्रक्षेपण अनुसार घटेकाले यसले डलरको मूल्यलाई अझ उच्च बनाएको छ । जसले गर्दा सुनको भाग प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको सुनको भाउ

बार सुन (तोलामा) चाँदी (तोलामा)
आइतबार रु. ५०,७०० रु. ६७५
सोमबार रु. ५०,८५० रु. ६८०
मंगलबार रु. ५१,०५५ रु. ६८०
बुधबार रु. ५०,८०० रु. ६७५
बिहीबार रु. ५०,५५० रु. ६७५
शुक्रबार रु. ५०, ४०० रु. ६८५

सुनको सबैभन्दा ठूलो उपभोक्ता बजार चीनमा दोस्रो विश्वयुद्धमा जापानमाथि विजय प्राप्त गरेको ७०औं वर्षगाँठ मनाउने क्रममा यो हप्ताभरी विदा रहनु, दोस्रो ठूलो उपभोक्ता बजार भारतमा मनसुन वर्षाको सिजनले मागमा असर पर्नु तथा अमेरिकी बजारमा पनि तीन दिन श्रमिक दिवसको विदा हुने भएपछि सुनचाँदीको माग प्रभावित भई मूल्य घट्न थालेको महासंघको ठहर छ ।

अमेरिकी आर्थिक सुचकांक उच्च कायम रहिरहेका कारण अमेरिकी संघीय बैंकले ब्याजदर बढाउने योजना कायम नै राखेकाले पनि सुनको भाउ घटाउन दबाव परिरहेको छ ।

यही कारण आगामी हप्ता पनि सुनको भाउ उच्च हुने भन्दा पनि घट्ने पक्ष नै भारी देखिएको महासंघले जनाएको छ । चिनियाँ अर्थतन्त्र लगातार ओरालो लागेमा भने यसले सुनको भाउ बढाउन मद्दत पुर्‍याउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment