Comments Add Comment

मधेसको आन्दोलन बोर्डरमा पुगिसक्यो : रामेश्वर यादव

मात्रिका पौडेल
२७ भदौ, काठमाडौं । मधेसकेन्द्रित दलहरुमध्ये सबैन्दा ठूलो दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पछिल्लो मधेस आन्दोलनमा भने कान्छो दल बनेको छ । १६ बुँदे सम्झौता गराउन निर्णायक भूमिका खेलेको दाबी गर्ने बिजय गच्छदार नेतृत्वको यो पार्टी संविधासभाको प्रक्रिया छाडेर अहिले आन्दोलनमा गएको छ ।

rameshor-rayaसरकारले आन्दोलनकारीलाई वार्तामा बोलाएलगत्तै गच्छदारले एक चरण प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गरिसकेका छन् । तर, फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव भने त्यसलाई वार्ता मान्न तयार छैनन् ।

उपाध्यक्ष यादवका अनुसार मधेस आन्दोलन अब कुनै दलको झण्डामा छैन । दलको झण्डा र नेताको लगाम बाहिर गइसकेको आन्दोलन बिस्तारै राज्यको नियन्त्रणबाट पनि बाहिर जाने र मुलुक गृहयुद्धमा फस्ने खतरा उनले देखिरहेका छन् ।

प्रमुख दलहरुले संविधानसभाको प्रक्रिया रोकेर वार्तामा बोलाएको अवस्थामा मधेस आन्दोलनको मध्यमार्गी निकास के हुन सक्छ ? यिनै सन्दर्भमा अनलाइनखबरका लागि मात्रिका पौडेलले यादवसँग गरेको कुराकानी :

तराई मधेसमा जुन ढंगले हिंसा मच्चाइएको छ, यसको मध्यमार्गी समाधान के हो ?

हिंसा मच्चाइएको छ, यो निकै चिन्ताजनक कुरा हो । तर, यसको मध्यमार्गी समाधान भनेको वार्ता नै हो । वार्ताबाट अधिकतम माग सम्बोधन गर्ने बाहेक अर्को विकल्पमाा जान हुँदैन । यसमा राज्य र आन्दोलनकारी दुवै पक्ष अतिवादी बन्नु हुँदैन । वार्ताको वातावरण राज्यले बनाउनुपर्छ ।

संविधानसभाको काम कारवाही रोकेर राज्य पक्षले त विकल्प दियो, तर आन्दोलनकारी पक्षले बन्द हडताल छाडेनन् नि ?

आइतवार ११ बजेसम्म संविधानसभाको प्रक्रिया रोक्ने भनिएको छ, त्यो समय अपुृग भयो, त्यसलाई थप्नुपर्छ ।

कति दिन थप्यो भने चाहिँ ठीक हुन्छ ?

यो त नियतमा भर पर्छ । नियत साफ भयो भने एक मिनेटमा पनि कुरा मिल्छ, नियत ठीक भएन भने जति समय लम्ब्याए पनि हुँदैन ।

नियत साफचाहिँ कसको हुनुपर्‍यो ? आन्दोलनकारीको पनि हो कि राज्य पक्षको मात्रै ?

पहिले त राज्य पक्षकै नियत साफ हुनुपर्छ । राज्य पक्षले उदारता देखाउनुपर्छ, त्यसपछि आन्दोलनकारीको नियतको कुरा आउँछ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरी मार्ने नियत भएका आन्दोलनकारीप्रति राज्य उदार बन्नुपर्ने हो ?

अहिले मधेसमा जे भइरहेको छ, त्यो अन्त्यन्त गलत भइरहेको छ । हुन नहुने घटनाहरु भइरहेका छन् । यो सम्पूर्ण प्रक्रियामा म राज्य पक्षलाई बढी दोषी देख्छु । किनभने विगतको माओवादी युद्धमा जति मान्छे मरे, त्यो आतंककरी भनिएको पक्षका कारण भएका थिए ।

अहिले जे भइरहेको छ, यहाँ बल प्रयोग अधिकतम राज्य पक्षबाट भएको छ । जो मरेको छ, जसले उसलाई मारेको छ, मर्नेले उसलाई पाल्न कर तिरेको छ ।

टीकापुरदेखि महोत्तरीसम्म आउँदा जति प्रहरीको बिभत्स ढंगले हत्या गरियो, त्यो कर तिर्नु परेको आक्रोश मात्रै हो त ?

टीकापुरदेखि महोत्तरीसम्म आउँदा जसरी प्रहरी सुरक्षाकर्मीको हत्या भयो, त्यो अत्यन्त दुःखद पक्ष हो । यसलाई मैले ठीक भनेको छैन, तर जसरी राज्य पक्षले गोली टाउकोममै हिर्काएको छ, त्यसले आक्रोश बढायो । म त भन्छु, आक्रोश अझै बढ्न सक्छ । आक्रोश बढाउन राज्य पक्षले भूमिका खेलेको छ । त्यसैले सेना फिर्ता गरेर राज्यले वार्ताको वातावरण बनाओस् । सेना फिर्ता भएपछि सामान्य वातावरण बन्छ ।

यहाँ त वार्ताका लागि भनेर संविधानसभाको प्रक्रिया स्थगित गर्ने, अनि मान्छेलाई कुखुरा मारेजसरी मार्ने काम भयो ।

संविधान जारी गर्ने प्रक्रिया रोक्नु एक प्रकारले सेना फिर्ता गरेजस्तै होइन र ?

यो विल्कुल होइन । जतिबेला कांग्रेसका मधेसी र थारु सभासदले फ्लोर क्रस गर्ने निर्णय गरे, त्यसपछि संविधानसभा स्थगित भएको हो । माओवादीका मधेसी र थारु सभासद पनि फ्लोर क्रस गर्ने अवस्थामा पुगेका थिए । त्यसैले यो स्थगन भनेको वार्ताका लागि होइन, आफ्नै सभासदको बिद्रोह रोक्नका लागि हो । जो आन्दोलनकारी हुन्, उनीहरुलाई वार्तामा बोलाउने खालको बोलावट भएन ।

मधेस आन्दोलन बढ्दै जाँदा आन्दोलनकारी दल र संगठन पनि धेरै निस्किएका छन्, क-कसलाई वार्तामा बोलाउने हो ?

वार्ता सम्पूर्ण आन्दोलनकारीसँग गर्ने हो । सबै पक्षका मागलाई सम्बोधन गर्नुपर्छ । आन्दोलनकारी जो-जो निस्किए पनि मधेस आन्दोलनका मागहरु करीव-करीव एकै छन् । त्यो अवस्थामा सबैलाई सँगै राख्न पनि सकिन्छ । अलग-अलग वार्ता गर्ने कि संयुक्त गर्ने भन्ने पछिको कुरा भयो ।

तर, तपाईका अध्यक्ष बिजयकुमार गच्छदार त शुक्रवार नै वार्तामा बसिसकेको होइन र ?

हाम्रा अध्यक्ष वार्तामा गएका छैनन् । अनौपचारिक रुपमा देशको प्रधानमन्त्रीले भेट्न बोलाउँदा जानु हुन्छ । तर, यही कुरालाई सञ्चारमाध्यमले वार्ताका रुपमा लेखे, जुन कुरा हो ।

वार्ता तराईमै हुनुपर्छ, काठमाडौंको वार्तामा गइँदैन भन्ने कुरा पनि आउन थाले, तपाई वार्ता कहाँ हुनुपर्छ भन्ने लाइनमा हो ?

वार्ता यहीँ हुनुपर्छ भन्ने छैन, जहाँ कार्यन्वयन गर्न सजिलो हुन्छ, त्यहीँ वार्ता हुन्छ । ठाउँलाई होइन, निकासलाई प्राथमिकता दिनुपर्छ । वार्ता हिमाल, पहाड, तराई जहाँ गरे पनि हुन्छ । हेलिकोप्टरमा उडेर आकाशमै गरे पनि हुन्छ । ठाउँको अड्को थाप्ने काम हामीबाट हुदैन ।

आन्दोलनका माग ठ्याक्कै के हो भन्ने पनि प्रष्ट छैन नि यसपालि ?

आन्दोलनका माग नयाँ छैनन् । बिगतको मधेस आन्दोलन जे जगमा भएको थियो, जुन सम्झौता भएको थियो, त्यही कार्यान्वयनको हो ।
त्योबेला स्वायत्त मधेस प्रदेश भनिएको थियो, समावेशी समानुपातिक भनिएको थियो, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र भनिएको थियो, यिनै हुन् त मागहरु ?

यिनै कुराहरु नै हुन् । जहाँसम्म प्रदेशको कुरा छ, स्वायत्त मधेस प्रदेशलाई धेरैले आ-आफ्नो ढंगले ब्याख्या गरे । कतिपयले स्वायत्त मधेस प्रदेश भनेको एक प्रदेश हो भने । तर, हाम्रो पार्टीले मधेसमा दुई प्रदेश भनेको हो । जहाँ मधेसी, थारु जनजाति सबैको पहिचान स्थापित होस् ।
मधेसीको पहिचान स्थापित हुने गरी सप्तरीदेखि पर्सासम्मको मधेसका जिल्ला मात्रै समेटेर बनाइएको दुई नम्बर प्रदेशमा किन आपत्ति भयो त ?

हामीले झापादेखि पर्सासम्मको एउटा प्रदेश र चितवनदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश गरी तराईमा दुई प्रदेश हुनुपर्छ भनेका हौं । मधेस प्रदेशको स्वायत्तता र पहिचान कायम हुने गरी अनुकुल वातावरण बन्छ भने तराई मधेसमा तीन प्रदेश बनाउँदा हामी बाधक बन्दैनौं । पहिचानले मात्र पुग्दैन, त्यसैले सामथ्र्यका लागि उदयपुर, सिन्धुली, मकवानपुर जस्ता चुरे महाभारत भएका जिल्ला पनि समेटिनुपर्छ । मलाई लाग्छ, सबै मधेस आन्दोलनकारीका माग यिनैभित्र समेटिन्छन् ।

त्यसोभए तपाईहरु एउटै मोर्चा बनाएर गए हुँदैन ?

त्यो सम्भावना पनि बन्दैछ । आन्दोलन लम्बिँदै जाँदा धेरैखाले शक्तिहरुसँग मोर्चा हुन्छ, मधेसमा ।

सिके राउत र सशस्त्र समूहहरुसँग पनि हुन्छ ?

त्यतापट्टि गइएको छैन । तर, यसरी नै बल प्रयोग हुँदै गयो भने जे पनि हुन सक्छ । समुद्र मन्थन गर्दा विष र अमृत दुबै निस्किएजस्तै धेरै भँगालाहरु मिसिन सक्छन् । त्यसैले बेलैमा आन्दोलनलाई सम्बोधन गर्नुपर्छ भनेको हो ।

भनेपछि अलग देशको कुरा जुन अहिले आन्दोलनकारीबाटै आइरहेको छ, अन्तिम मिसन त्यही हो ?

अलग देशको आन्दोलनको सोच कम्तिमा पनि हाम्रो पार्टीको छैन । कुनै पनि जिम्मेवार आन्दोलनकारीले त्यस्तो कुरा बोल्न सक्दैन ।

आन्दोलनको जस लिने र यसको जगमा मधेसको राजनीतिमा स्थापित हुने होडले गर्दा जे पनि बोल्न थाले होइन त नेताहरुले ?

मधेसमा आन्दोलन चर्काएर, मान्छेको लासमा टेकेर कसैले आफू स्थापित हुने वा जस लिने सोचेको छ भने त्यो उसले दिमागबाट निकाल्नुपर्छ । अहिलेको आन्दोलन कुनै पार्टीको होइन, जनता स्वस्फूर्त रुपमा आन्दोलित छन् । यो कुनै पार्टीले जस लिने वा भोलि भोटको फाइदा लिने सोचभन्दा निकै पर गइसकेको छ ।

भन्नुको मतलब यो आन्दोलन मधेसवादी भनिएका दलहरुको नियन्त्रणमा छैन ?

जनता आफैं आन्दोलनमा आएका छन् । जनताको आन्दोलनलाई समयमै सम्बोधन गरिएन भने यो गृहयुद्धतिर लम्किसकेको छ ।

आन्दोलनको कमाण्ड राजनीतिक पार्टीको हातबाट बाहिर गइसकेको छ । अब यो आन्दोलनका माग सम्बोधन नहुने हो भने राज्यले यसलाई झेल्न सक्दैन । दुवै पक्षको नियन्त्रणबाट बाहिर बोर्डरमा गइसकेको छ ।

आन्दोलनमा पार्टीका झण्डा देखिन छाडेको कुरा सत्य हो त ?

अब आन्दोलनमा कसैका झण्डा नराख्ने निर्णय भइसकेको छ । अब यो आन्दोलन पार्टीहरुको होइन, जनताको भइसक्यो । मधेसी, मुस्लिम, थारु सबैको आन्दोलनका रुपमा अघि बढेको छ । सबै पार्टीका मान्छेहरु आन्दोलनमा सहभागी भएपछि पार्टीका झण्डा किन राख्ने ?

अहिलेको आन्दोलन कुनै एक दुई पार्टी वा मोर्चाको आन्दोलन नै होइन । यो बेलैमा सम्बोधन भएन भने देशको अवस्था भयावह हुन्छ ।

मधेस आन्दोलन तपाईले भनेजस्तो गृहयुद्ध र भयावह अवस्थातिर लाग्दै जाँदा त्यहाँ बस्ने पहाडे समुदायको अवस्था के हुन्छ ?

केही शक्ति पहाडी मधेसीको सामाजिक संरचना भत्काउन, साम्प्रदायिक दंगा फैलाउन लागेका छन् । तर, हामी त्यसमा जादैनौं । यो देश पहाडी जनताका पनि हो, मधेसीको पनि हो । । यो पहाडे बिरोधी आन्दोलन होइन । हाम्रो आन्दोलन खसवादी चिन्तन बोकेका, एकल जातीय शासन प्रणाली चलाउने व्यक्तिको बिरोधमा लक्षित छ ।

तर, यही आन्दोलनलाई भयावह बनाएर राजतन्त्र फर्किन खोज्दैछ भन्न पनि थाले नि नेताहरु ?

यो देशमा केही विदेशी भरिया छन्, जो आफ्ना दूनो सोझ्याउन यस्ता कुराको भ्रम फैलाउन खोज्दैछन् । हिन्दू राज्यको आन्दोलनको रेलमा राजा बसेका छन् भनेर एकथरि लागेका छन् । यहाँ भारत र राजालाई देखाएर आफ्नो दूनो सोझ्याउने जमातले यस्तो हल्ला चलाएको हो ।
तर, भारतको चलखेल त शुरु भइसक्यो नि । एक महिनासम्म आन्दोलन हुँदा नसुन्ने तर भारतले एकाबिहानमै तह लाउने रहेछ नेताहरुलाई होइन ?

यो आफ्ना नागरिक र राष्ट्रप्रतिको गैरजिम्मेवारीपनको पराकाष्ठा हो । अरुले भन्नु भन्दा पहिले नै किन गरेनन् ? गम्भिर प्रश्न उठेको छ ।

भारतको मध्यस्थता खोज्नुभएको हो तपाईहरुले ?

मिलाउन जो पनि आउन सक्छ । अडोसी पडोसी आउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment