Comments Add Comment

गृहमन्त्री गौतम र एमाओवादी सभासदबीच चर्काचर्की

२७ भदौ, काठमाडौं । मधेसमा भैरहेको आन्दोलनमा राज्यपक्षबाट दमन भैरहेको भन्दै ध्यानाकर्षण गराउन गएका मधेसबाट प्रतिनिधित्व गर्ने एमाओवादी सभासदहरु र गृहमन्त्री बामदेव गौतमबीच चर्काचर्की भएको छ ।

bamdev-gautam Story
फाइल तस्वीर

प्रमुख सचेतक गिरिराजमणी पोख्रेल, प्रभु साह लगायतका सभासदहरु आइतबार प्रधामन्त्रीलाई भेटेर गृहमन्त्रीलाई भेट्न पुगेका थिए ।

उनीहरुले मधेसमा राज्यपक्षबाट दमन भएको भन्दै राजनीतिकरुपमा समस्याको समाधान खोज्न माग गरे । तर गृहमन्त्री गौतमले त्यसको प्रतिवाद गरे ।

टीकापृुर, महोत्तरी लगायतका जिल्लाको घटनाको उदाहरण दिँदै मन्त्री गौतमले मधेसमा भएको आन्दोलन राजनीतिक नभएको बताए ।

सभासद प्रभु साहले अनलाइनखबरसँग भने, ‘गृहमन्त्री असाध्यै नेगेटिभरुपमा प्रस्तुत हुनुभयो । उहाँले बल प्रयोग गरेरै ठीक हुन्छ भन्नेजस्तो कुरा गर्नुभयो ।’

एमाओवादी सभासदहरुले कैलाली र महोत्तरी घटना दुःखद भएको भन्दै त्यसको प्रतिशोध अन्यत्रका जिल्लाका सर्बसाधारणसँग लिन नहुने बताएका थिए ।

उनीहरुले सुरक्षाकर्मीले निहत्था, सर्बसाधारणमाथि समेत गोली चलाएको र धेरैको छातीभन्दा माथि गोली लागेको सुनाएका थिए । उनीहरुले सेना फिर्ता लिन, कर्फ्यू हटाउन र सम्वादबाटै समाधान खोज्न आग्रह गरे ।

तर, गृहमन्त्री गौतमले ‘म कर्फ्यू हटाउँछु, सेना फिर्ता लिन्छु तर मधेसमा भएको सबै घटनाको जिम्मेवारी तपाईंहरु लिनुहुन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले गृहमन्त्री र आफूहरुको दृष्टिकोण नै फरक रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले तपाईँलाई आएको सूचनाबारे बुझ्नुस् भनेका छौं ।’

उनले मधेसमा अहिले भैरहेको गतिविधिले सरकार र मधेसबीचको दुरी झन् बढ्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटेर एमाओवादी सभासदहरुले सैन्य समाधान नभइ राजनीतिक समाधान खोज्न आग्रह गरेका थिए ।

एमाओवादी सभासदरुका अनुसार दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता लिन, सेना फिर्ता गर्न, कर्फ्यू हटाउन र पक्राउ परेकाहरुलाई रिहा गर्न प्रधानमन्त्री सकारात्मक देखिएका थिए ।

प्रधानमन्त्री कोइरालाले तराईको जनजीवन सामान्य बनाउन सरकारले अधिकतम प्राथमिकता दिएको भन्दै कमी कमजोरी भएको भए सच्याउने बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment