- राजेन्द्र महतो । फाइल तस्वीर
४ असोज, वीरगञ्ज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी र थारु समुदायलाई बेवास्ता गर्दै संविधान जारी गरिएकाले अब ‘वारपारको लडाइँ’ हुने बताएका छन् ।
विरोध प्रदर्शनमा घाइते भएकाहरुलाई सोमबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै मधेस विरोधी संविधान जारी भएकाले आन्दोलन नरोकिने बताए ।
‘यो वारपारको लडाइँ हो । जबसम्म हाम्रो माग सुनुवाई हुँदैन तबसम्म आन्दोलन रोकिदैन,’ उनले भने, ‘आन्दोलन अझै सशक्त बन्छ ।’
केही दिनदेखि वीरगञ्जमै बसेर आन्दोलनको नेतृत्व गर्दै आएका महतोले अस्पताल परिसर बाहिर ‘नेपालको संविधान २०७२’ लेखिएको कागजसमेत जलाएका थिए ।
आइतबार आन्दोलनकारीहरुले पत्रकारलाई दुर्व्यवहार गरेको विरोधमा निकै कम पत्रकार महतोको कार्यक्रममा गएका थिए ।
कर्फ्यू जारी
यसैबीच स्थानीय प्रशासनले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ । यसअघि बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा कर्फ्यू हटाइए पनि सोमबार बिहान ९ बजेदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।
जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न अनिश्चितकालीन कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । तर, मोर्चाका कार्यकर्ताहरुले भने वीरगञ्जका ठाउँ-ठाउँमा टायर बालेर विरोध प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया 4