News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापनइतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक धुम्बाराहीमा सुरु गरेको छ।
- बैठकमा समानुपातिक सांसद छनोटमा नियमविपरीत काम भएको आरोप लगाइएको छ।
- महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट हुन आग्रह गर्दै एकतामा नै शक्ति रहेको बताए।
१७ चैत, काठमाडौं । ६ महिनादेखि आन्तरिक विवादमा फस्दै आएको नेपाली कांग्रेसभित्र चुनावपछि अर्को कलहले उत्कर्ष लिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसका आधारमा चुनाव लडेको कांग्रेसभित्र अससन्तुष्ट समूहले समानान्तर गतिविधिमा तीब्रता दिएको छ ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले मंगलबारदेखि १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिको बैठक सुरू गरेको छ । विशेष महाधिवेशन अघि कांग्रेसको कार्यबहाक सभापति रहेका पूर्णबहादुर खड्काले पुरानै कार्यसमितिको अस्तित्व रहेको दाबी गर्दै केन्द्रीय समितिको बैठक चलाएका हुन् ।
सभापति गगन थापाको संस्थापन समूहले पार्टीको विधानविपरीत गतिविधि गरे कारबाहीको चेतावनी दिइरहेका बेला १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका नेता खड्काले बैठक राखेका हुन् ।
कार्यवाहक सभापतिको हैसियतमा खड्काले धुम्बाराहीस्थित होटल स्मार्टमा बोलाएको बैठक बुधबारसम्म चल्ने छ । बैठकको पहिलो दिन १४ औं महाधिवेशनबाट निर्वाचित ८२ जना पदाधिकारी र केन्द्रीय सदस्यहरू तथा दुई जना प्रदेश सभापतिहरू सहभागी थिए ।
खड्काले पहिलो दिनको बैठक पूर्वमहामन्त्री डा. शशांक कोइराला र निवर्तमान केन्द्रीय सदस्य शेखर कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका थिए । बैठकस्थलमा नेता शेखर कोइराला अन्तिम समयमा आइपुगेका थिए ।
उनी पुगेसँगै खड्काले सबै नेतालाई आ–आफ्नो ठाउँमा बसिदिन आग्रह गरेर बैठक अघि बढाएका थिए । बैठकमा कांग्रेसको ब्यानर राखिएको थिएन । यस्तै बैठकमा कुनै माइन्युट पनि नगरिएको सहभागी नेताहरूले जानकारी दिएका छन् ।
बैठक सुरू हुनुअघि निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले दुई दिनका लागि बोलाइएको बैठक अनौपचारिक भेला भएको प्रतिक्रिया दिएका थिए ।
‘यो औपचारिक बैठक हैन, अनौपचारिक भेला हो,’ उनको भनाइ थियो, ‘यो भेलाले पार्टीलाई ध्रुवीकरण नभइ एकताबद्ध गर्न सहयोग गर्छ ।’

तर, बैठकबाट बाहिरिने क्रममा नेता उमेशजंग रायमाझीले फरक प्रतिक्रिया दिए । उनलाई सञ्चारकर्मीले उक्त छलफल १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक कि भेला भनेर प्रश्न गरेका थिए ।
नेता रायमाझीको जवाफ थियो, ‘भेला पनि बैठक नै हो, बैठक पनि भेला नै हो । डेमोक्रेसीमा छलफलहरू भइरहन्छन् । विभिन्न चरणमा विभिन्न तरिकाले हुन्छन् । तर, त्यो मुलरूपमा प्रजातन्त्रका लागि, मुलुकका लागि, पार्टीका लागि नागरिकको हितमा हुनुपर्छ ।’
बैठकमा १५ बढी नेताहरूले धारणा राखेको सहभागीहरूले बताएका छन् । तर, यसबारे औपचारिक रूपमा केही जानकारी दिइएको छैन । तथापि, मंगलबारको बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको प्यानलबाट पछिल्लो महाधिवेशनमा निर्वाचित शीर्ष तहका नेताहरू भने नबोलेको बताइएको छ ।
बैठकमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहिसकेका नेता जीवनबहादुर शाहीले समानान्तर गतिविधिभन्दा पनि एकढिक्का भएर जानुपर्नेमा जोड दिएका छन् । उनले बैठकमा पार्टीलाई एकजुट बनाउन सकिने अवस्था बाँकी नरहेको भए नयाँ पार्टी खोलेर जान सक्नुपर्नेमा पनि जोड दिए ।
‘यो समानान्तर भन्ने कुरा हुँदैन, मैले यसको पीडा भोगिसकेको छु । हामी सबै मिलेर जाऔं । त्यसका लागि संवाद अघि बढाऔं,’ बैठकपछि अनलाइनखबरसँग शाहीले बैठकमा राखेको कुराबारे भने, ‘संवाद गर्न, बस्न मन छैन वा बस्ने इच्छा छैन भने अर्को पार्टी खोलौं । यसरी समानान्तर गतिविधि भन्दै नबसौं ।’
बैठकमा नेता शंकर भण्डारीले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न कांग्रेस लाग्नुपर्ने धारणा राखेका छन् । मुलुकमा विदेशी हस्तक्षेप बढेको भन्दै उनले यसमा पार्टीले चाँडो विचार पुर्याउनु पर्नेमा पनि जोड दिएका छन् ।
‘देश जान लागिसक्यो । संवैधानिक राजसंस्था र हिन्दु राज्य बनाउन नेपाली कांग्रेस लाग्नुपर्छ,’ नेता भण्डारीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भने, ‘यसरी कांग्रेसले हेरेर, कुरेर बस्न हुँदैन । विदेशी हस्तक्षेपमा देश पुगिसक्यो । यसमा चाँडो विचार गरौं ।’
निवर्तमान केन्द्रीय सदस्य सरस्वती तिवारीले नियमित महाधिवेशनको पक्षमा उभिएका नेताहरू २१ फागुनमा सम्पन्न निर्वाचनमा उम्मेदवार भएको प्रति आपत्ति जनाइन् ।
‘तपाईंहरूले गगन थापाको हातबाट किन टिकट लिएर जानुभयो ? चुनाव किन लड्नुभयो ?,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चुनाव लड्नै हुन्थेन । टिकट चाहिन्न, चुनाव लड्दिनँ भन्न सक्नुभएन ?’
नेता मानबहादुर नेपालीले बैठकमा आफूलाई पार्टीबाट अन्याय भएको गुनासो गरे । समानुपातिकतर्फको सिट बाँडफाँटमा आफूमाथि कांग्रेसले अन्याय गरेको उनको दाबी थियो ।
‘पार्टीमा एकदमै धेरै अन्याय भएको गुनसो गर्नुभयो । गलत मान्छेको हातमा पार्टी गएको पनि भन्नुभयो,’ उनले बैठकमा राखेको धारणाबारे एक नेताले भने, ‘पार्टीलाई सुधार गरौं भन्ने उहाँको कुरो थियो । तर, तपाईंहरूको हातबाट पनि पार लाग्दैन पनि भन्नुभयो ।’

निवर्तमान केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले समानुपातिकका लागि दलिततर्फ पहिलो नम्बरमा नाम भएका मानबहादुर नेपाली र पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा नाम भएकी विद्या तिमिल्सिनाको नाम हटाइएको भन्दै आपत्ति जनाइन् ।
‘दलित कोटाको एक नम्बर मानबहादुर नेपाली र पिछडिएको क्षेत्रमा एक नम्बर विद्या तिमिल्सिनाको नाम हटाउन मिल्छ ?,’ उनले बैठकमा प्रश्न गरिन्, ‘यो नियमविपरीत कार्य गरेको छ । यसमा निर्वाचन आयोग मिलेको छ ।’
नियमविपरीत उम्मेदवार मनपरी छनोट गर्न नपाइने भन्दै न्यौपानेले नेपाली र तिमिल्सिनाको नाम छुटाउनुमा निर्वाचन आयोग र विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व दोषी रहेको जिकिर गरिन् ।
बैठकमा निवर्तमान कार्यवाहक सभापति खड्काले पार्टीको संस्थापन समूहले समानुपातिक सांसद छनोटमा नियमविपरीत काम गरेको ‘ब्रिफिङ’ गरेका थिए ।
‘विशेष महाधिवेशनवालाले नियमितविपरीत काम गरे । समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खसआर्य कोटाको ७ नम्बरमा नाम भएका कालीबहादुर सहकारीलाई राखियो,’ उनले बैठकमा भने, ‘हाम्रा उम्मेदवारहरू अदादत गएका छन् ।’
नेता मानबहादुर विश्वकर्माले देश र पार्टी दुर्घटनातर्फ गएको भन्दै चिन्ता व्यक्त गरे । ‘यो हामी दुर्घटनामा जादैछौं । मैले धेरै समयदेखि भनेँ, तपाईंहरूले ख्याल नगर्दा आजको दुर्घटना भयो,’ उनले बैठकमा भने ।
नेता मोहन बस्नेतले कांग्रेस भूराजनीतिको शिकार बनेको जिकिर गरे । कांग्रेसले कम्युनिस्टसँग गठबन्धन गरेर जाँदा भूराजनीतिक सन्तुलन मिलाउन नसकिएको उनको भनाइ थियो ।
‘हामी भूराजनीतिक समस्यामा पर्यौं । नेताहरूले छट्टुहरूको कुरा मात्र सुने, हाम्रो कुरा सुनेन्,’ बस्नेतको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कम्युनिस्टसँग गठबन्धन गरेर हामीले भूराजनीतिक सन्तुलन मिलाउन सकेनौं । हामीले कम्युनिस्टसँग नमिलौं भन्दा कुराको सुनुवाइ भएन ।’
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले धुम्बाराही बैठकलाई अन्यथा नलिन संस्थापन पक्षसँग आग्रह गरे । बैठकमा धारणा राखेर बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले आफूहरूले पार्टीबारेमा चिन्ता व्यक्त गर्दा आक्रोशित हुनुपर्ने कुनै कारण नभएको बताए ।
बलायरलाई पत्रकारले ‘समानान्तर गतिविधि गर्नेलाई संस्थापन पक्षले कारबाही गर्ने तयारी गरेको छ नि ?’ भनेर प्रश्न सोधेका थिए ।

जवाफमा उनले भने, ‘त्यो त केही छैन । हिजो व्यक्तिपिच्छे यस्ता गतिविधि भइराख्थे । सबै नेताले गरिराखेका हुन् । अहिले समग्र रूपमा भइरहेको छ । यो कुनै नौलो कुरा होइन । यसलाई धेरै ठूलो रूपमा पनि लिनुहुँदैन ।’
बैठकमा पार्टी एकताको उपायबारे छलफल भइरहेको बलायरको भनाइ थियो । ‘यसमा कुनै पनि पक्षले दम्भ नराखिकन बीचको बाटो अपनाएर जानुपर्छ,’ उनले भने, ‘आखिर कांग्रेसको अवस्था कहाँ पुग्यो भन्दा उताको कांग्रेस र यताको कांग्रेस दुवैलाई थाहा होला नि । त्यसैले अहिले हामी बलियो छौं अथवा आधिकारिक हौं भनेर हुँदैन ।’
बैठक स्थलबाट बाहिरिने क्रममा नेता उमेशजंग रायमाझीले सभापति गगन थापालाई ‘ग्रान्ड डिजाइन’अन्तर्गत नै निर्वाचनमा सर्लाही लगिएको आशय व्यक्त गरे ।
पत्रकारसँग कुराकानी गर्दै उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’ अहिले मुलुकमा प्रयोग भएको टिप्पणी गरे ।
‘गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ग्रान्ड डिजाइन कस्तो होला भनेको यही रहेछ । डिजाइन गर्ने हो भने यहीँ भित्र गर्ने होला नि त,’ रायमाझीले भने, ‘गगनजीलाई सर्लाही कसले लग्यो चुनाव लडाउन ? हो त्यो डिजाइन हो ।’
नेता रायमाझीले निर्वाचन भएको परिस्थिति पनि ‘डिजाइन’ अनुसारकै रहेको दाबी गरे । ‘निर्वाचन कुन परिस्थितिमा भयो ? सिंहदरबार जलेको छ, सैनिक हेडक्वार्टरमा सरकार बनेको छ, सरकारले चारैतिर सेना चाहेको छ । सेना पहिलो घेरामा बसेको छ । बाकसमा बसेको छ,’ उनले भने ।
रायमाझीले अहिलेको स्थितिबाट देशलाई निकाल्न सबै तयार हुनुपर्नेमा पनि जोड दिए । ‘यसका लागि कांग्रेसमा दुवैपक्षका साथीहरू बस्नुपर्ने होला, अधिवेशनमा जानुपर्ने होला, त्यही कुरा अहिले भइरहेको (खड्का–कोइराला समूहको बैठकमा) हो,’ उनले भने । कांग्रेसले नै मुलुकलाई सम्हालेर लैजानेमा द्विविधा नरहेको उनको भनाइ थियो ।
संस्थापनइतर समूहका नेताहरूको बैठक चलिरहँदा प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जाल फेसबुकमार्फत् धुम्बाराही बैठकले न्याय नगर्ने टिप्पणी गरेका थिए ।
‘प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिन्छ । यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ,’ उनले लेखेका थिए, ‘तर, जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन ।’
पार्टीको महाधिवेशन नजिकिएको समयमा आफ्ना स्पष्ट योजनाहरू सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्नतर्फ लाग्नु उपयुक्त हुने प्रवक्ता चालिसेको भनाइ थियो । उनले नेताहरूलाई पार्टी अनुशासन पनि स्मरण गराएका थिए ।
‘महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सबैका लागि श्रेयस्कर हुन्छ,’ प्रवक्ताले लेखेका थिए, ‘नेतृत्वको बाटो विधानअनुसार खुला छ । पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ । आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथअघि बढौं ।’
त्यसअघि संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता–कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका थिए ।
धुम्बाराही बैठक सुरू गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका थिए, ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभइ एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं ।’
महमन्त्री पौडेलले देशका हरेक संकटमा कांग्रेस एकजुट रहेको र त्यही एकताको बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्दै सफलता हासिल गरेको स्मरण पनि गरेका थिए ।
‘म नेपाली कांग्रेसका सबै नेता–कार्यकर्तामा अनुरोध गर्छु– एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ महामन्त्री पौडेलले भनेका थिए ।
प्रतिक्रिया 4