News Summary
Generated by OK AI. Editorially reviewed.- कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन सकिने भए पनि कार्यान्वयनमा समस्या हुँदा धेरै नागरिक अझै नागरिकताविहीन छन्।
१७ चैत्र, काठमाडौं । कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था भए पनि कार्यान्वयनमा समस्या हुँदा धेरै नागरिक अझै नागरिकताविहीन बन्नुपरेको पीडितहरूले बताएका छन् ।
मंगलबार सिटिजनसीप अफेक्टेड पिपल्स नेटवर्क (सीएपीएन), नेसनालिटी फर अल (एनएफए) र ग्लोबल क्याम्पियन फर इक्वल नेसनालिटी राइट (जीसीइएनआर) को संयुक्त आयोजनामा ‘आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्था, चुनौती र आवश्यक संवैधानिक संशोधन’ विषयक छलफल सम्पन्न भयो ।
छलफलमा सहभागीहरूले कानुन संशोधन भए पनि व्यवहारमा आमाको नामबाट नागरिकता प्राप्त गर्न अझै झन्झट र असहजता रहेको बताए ।
कार्यक्रममा एक पीडितले आमा नेपाली र बुबा भारतीय भए पनि आफू सधैँ नेपालमै बस्दा ३६ वर्षसम्म नागरिकता नपाएको गुनासो गरे ।
‘१६ वर्षदेखि प्रयास गरिरहेँ, तर अझै अनागरिक छु । नागरिकताकै कारण पढाइ र रोजगारीमा असर पर्यो, मानसिक समस्या समेत झेल्नुपर्यो,’ उनले भने।
त्यस्तै अर्की सहभागीले एकल आमाको नामबाट नागरिकता बनाउन जाँदा आमाको चरित्रमाथि प्रश्न उठाइने र अपमानजनक प्रश्नहरूको सामना गर्नुपरेको गुनासो गरिन् ।
विश्वका १९५ मध्ये १७२ देशहरूमा नि:शर्त आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्छन् । अझै २४ वटा देशमा आमाको नामबाट नागरिकता पाउन असहज छ । एसियाका ४ देशले आमाको नामबाट नागरिकता दिएका छैनन् ।
दक्षिण एसियामा नेपालमा मात्रै आमाको नामबाट नागरिकता पाउन असहज छ । संविधानतः उल्लेख गरिए पनि विभिन्न सर्तहरूसहित नागरिकता नियमावली संशोधन गरिएको छ । जसविरुद्ध पीडित र सरोकारवाला निकायहरूले ध्यानाकर्षण गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न र प्रक्रिया सहज तथा सम्मानजनक बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रतिक्रिया 4