Comments Add Comment

कसले हटायो पारसलाई कप्तानबाट ? अध्यक्ष भन्छन्- निर्णय भएकै छैन

Parash-Khadka
१५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको कप्तानबाट पारस खड्कालाई हटाएकोे खबरले शुक्रबार निकै चर्चा पायो ।

पारस सन् २०१० देखि नेपाली क्रिकेट टोलीको कप्तान छन् । र, उनको कप्तानीमा नेपालले टी-२० विश्वकपसम्मको यात्रा तय गर्‍यो । तर, क्यानको कमजोर व्यवस्थापनप्रति पारसले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।

यस विषयलाई लिएर क्यानका सदस्यहरु असन्तुष्ट रहेका छन् । उनीहरुले पारस क्यानविरुद्ध लागेको आरोप लगाउँदै आएका छन् ।

यो साता राजधानीमा क्यानको बोर्ड बैठक बसिरहेका बेला राष्ट्रिय खेलकुद परिषद्ले विघटन गर्ने तयारी गरिरहेको खबर आयो र राखेपसँगको छलफलमा पारससहितका खेलाडी उपस्थित भएपछि क्यानका केही पदाधिकारीले चर्को आलोचना गरे ।

त्यही मौकामा क्यानका केही पदाधिकारीले पारसलाई कप्तानबाट हटाउने निर्णय भएको हल्ला चलाए । अनलाइनखबरसँग कुरा गर्दै ती पदाधिकारीले भने- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत पपुवा न्यूगिनीसँगको खेलमा पारसलाई कप्तान नबनाउने निर्णय भएको छ ।’

ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर र विनोद भण्डारी मध्ये एकलाई कप्तानी दिने निर्णय भएको उनको दावी छ । निर्णयको माइन्यूट तपाईंहरुसँग छ ? भन्ने प्रश्नमा उनी केही हच्किए । माइन्यूटको निर्णय महासचिव उत्तम कर्मचार्यसँग रहेको उनले बताए ।

पारसलाई कप्तानबाट हटाउने निर्णय भएको समाचारले खेलाडीदेखि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको समेत ध्यान तानेको छ ।

खेलाडीहरुले क्यानका अधिकारीहरुलाई निर्णयबारे प्रश्न गरिरहेका छन् ।

तर, क्यानले अहिलेसम्म समाचारको न त औपचारिक रुपमा खण्डन गरेको छ न त पुष्टी नै ।

अनलाइनखबरसँग कुरा गर्दै क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले आफू उपस्थित भएको कुनै पनि मिटिङमा यस्तो निर्णय नभएको बताए । उनले भने, पारसलाई कप्तानबाट हटाएको होइन । म उपस्थित भएको कुनै मिटिङमा त्यस्तो निर्णय भएको छैन् । अरुले अन्तै केही गरेको भए थाहा छैन् ।’

क्यानका केही पदाधिकारीले त्यस्तो निर्णय गरेको भए के हुन्छ भन्ने प्रश्नमा कोइरालाले भने, त्यस्तो निर्णय कसरी कार्यान्वयन हुन्छ र ?
क्यानका कार्यबाहक महासचिव उत्तम कर्मचार्यले पनि पारसलाई कप्तानबाट हटाउने कुनै निर्णय नभएको दाबी गरे ।

उनले अनलाइनखबरसँग भने, पारसलाई कप्तानबाट हटाउने हल्ला गलत हो । यसबारे कुनै छलफल भएको छैन् । हामीले राष्ट्रिय प्रतियोगिताको तयारीबारे मात्र छलफल गरेका हौं ।’

क्यानकी सिइओ भावना घिमिरेले पनि पारसलाई कप्तानबाट हटाउने निर्णय थाहा नभएको बताइन् ।

पछिल्ला बैठकको माइन्यूट हेरेका क्यानका कर्मचारीहरु अहिलेसम्म कुनै पनि बैठकले औपचारिकरुपमा पारसलाई हटाउने निर्णय नगरेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment