Comments Add Comment

तराई-मधेस बन्दले अर्थतन्त्रमा डेढ खर्बको क्षति !

पुष्प दुलाल

१८ असोज, काठमाडौं । भूकम्पपछि भर्खर तंग्रिन लागेको देशको अर्थतन्त्र फेरि नराम्रोसँग थला परेको छ । तराईमा जारी करिब दुई महिनादेखिको हड्तालले मात्रै मुलुकको अर्थतन्त्रमा डेढ खर्ब रुपैयाँ बराबरको क्षति गरेको छ ।

Impact of tarai strike (1)

सानो आकारको अर्थतन्त्र भएको देशका लागि डेढ खर्ब रुपैयाँको क्षति गम्भीर विषय भएको विज्ञहरु बताउँछन् । बैशाख १२ मा आएको विनासकारी भूकम्प र त्यसका पराकम्पले देशको अर्थतन्त्रमा ८ खर्ब रुपैयाँ बराबरको क्षति गरेको थियो ।

उद्योगमा ४५ अर्ब

तराई बन्दले उद्योगमा ४५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी पुगेको उद्योग मन्त्री महेश बस्नेत बताउँछन् । ‘प्रत्यक्ष र अप्रत्यक्ष गरी अहिलको तराई बन्द र भारतीय व्यापारिक नाकाबन्दीले औद्योगिक क्षेत्रमा प्रतिदिन १ अर्ब रुपैयाँको हाराहारीमा नोक्सानी भएको छ’ बस्नेतले भने ।

ठूला उद्योगहरु तराईमै रहेकाले तराईको बन्दले उद्योगधन्धा मारमा परेको उनले बताए । बिराटनगर, बिरगञ्ज, हेटौंडा, भैरहवा, नेपालगञ्ज लगायतका अधिकांश औद्योगिक नगरीहरु तराईमै छन् ।

भूकम्पले भन्दा अहिलेको तराई बन्दले औद्योगिक क्षेत्रमा बढी असर गरेको मन्त्री बस्नेतले अनलाइनखबरलाई बताए । ‘तराई बन्दका कारण उद्योगमा मात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी दैनिक १ अर्ब रुपैयाँ बराबरको भएको छ ।’ मन्त्री बस्नेतले भने- ‘यसले मुलुकको अर्थतन्त्र गम्भीर दुर्घटनाको संघारमा पुर्‍याएको छ ।’

एक दिन तराई बन्द हुँदा देशको अर्थतन्त्रमा २ अर्ब रुपैयाँभन्दा बढी भौतिक नोक्सानी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

‘के कति मानसिक क्षति भयो ? त्यसको त आँकलन नै गर्न सकिँदैन’ मुरारकाले भने । बन्दले औद्योगिक वातावरण विग्रिएको र पर्यटकलाई त्रासमा पारेकाले आन्दोल रोकिएपछि लगानीकर्ताहरुको आत्मबल उच्च नहुने उनको भनाइ छ ।

‘तराईमा उद्योग स्थापना गर्ने सोचमा भएको कुनै पनि उद्योगीले अबको वर्ष दिन काम अघि बढाउँदैन’ मुरारकाले भने- यो वर्ष लुम्बिनीमा आउने पर्यटकको संख्या हेरे हुन्छ, बन्दले पर्यटनमा कस्तो असर गर्‍यो भनेर ।’

व्यापारमा २० अर्ब

तराई बन्दले व्यापारमा २० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको व्यवसायीहरु बताउँछन् ।

बन्दका कारण व्यापार/व्यवसाय ठप्प हुँदा यस्तो नोक्सानी भएको हो । ‘जतात्यतै व्यापार ठप्प छ, यसले अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ’ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने ।

भन्सार राजस्वमा साढे १४ अर्ब

नाकाबन्दी र मधेस बन्दले भन्सार राजस्वमा साढे १३ अर्ब रुपैयाँ बढी भन्सार प्रभावित भएको भन्सार विभागले जनाएको छ । ‘सामान्य अवस्थामा दिनमा ५० देखि ५२ करोड रुपैयाँ भन्सार असूल हुन्थ्यो । तराई बन्दका कारण ४१ दिन दैनिक ३०/३२ करोड रुपैयाँमात्रै उठ्यो । र, पछिल्ला दिनमा दैनिक ४/५ करोडभन्दा बढी उठेको छैन ।’

विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले भने । जसअनुसार संविधान बन्नुअघिका ४१ दिनमा ८ अर्ब २० करोड र पछिल्ला ७ दिनमा सवा ५ अर्ब रुपैयाँ बढी राजस्व मुलुकले गुमाएको छ ।

बन्दका कारण अर्बौं बराबरको राजस्व गुमेको आन्तरिक राजस्व विभागमा महानिर्देशक चूडामणि शर्माले बताए ।

पर्यटनमा १२ अर्ब

तराई बन्दले पर्यटन क्षेत्रमा १२ अर्ब रुपैयाँ बढी असर पारेको पर्यटन व्यवसायीहरु बताउँछन् । पर्यटकीय सिजनको मुखैमा भएको बन्द हड्ताल भएकाले पर्यटक आवागमनमा ठूलो अवरोध उत्पन्न भएको छ ।

पर्यटक नआउँदा होटलहरुको आम्दानी प्रभावित भएको छ । विदेशी पर्यटकबाट हुने आम्दानी ७ अर्ब, भारतीय पर्यटबाट हुन अढाइ अर्ब र आन्तरिक पर्यटकबाट हुने आम्दानी अढाइ अर्ब रुपैयाँको हाराहारीमा नोक्सानी भएको व्यवसायीको आँकलन छ ।

‘बन्दले होटल व्यवसायमा अर्बौंको क्षति गरेको छ । यस्तै अवस्था रहने हो भने हामी व्यवसायीहरु टिक्न सक्ने अवस्था छैन ।’ होटल एसोसिएसन अफ नेपाल हानका अध्यक्ष बिके श्रेष्ठले भने ।

शिक्षामा ५ अर्ब

तराई बन्दले शिक्षा क्षेत्रमा ५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको निजी उच्च माध्यमिक विद्यालयहरुको छाता संगठन (हिसान) का पूर्वअध्यक्ष उमेश श्रेष्ठले बताए ।

‘भौतिकरुपमा ५ अर्ब बढीको क्षति भएको छ । डेढ महिनासम्म विद्यार्थीले पढ्न नपाउँदाको मानसिक क्षति कति भयो होला ?’ श्रेष्ठले भने- पेट्रोलियम पदार्थको अभावका कारण आज (आइतवार) देखि अधिकांश कलेजहरु बन्द छन् । ३/४ दिनभित्र पेट्रोलियम पद्धार्थको आयात सहज भएन भने अर्धवाषिर्क परीक्षा गर्न सक्ने स्थिति छैन ।’

यो पनि पढ्नुहोस्राजधानीका विद्यालय बन्द हुने संकेत, त्रिविको परीक्षा रोकियो

यातायातमा १२ अर्ब
तराई बन्दले यातायात क्षेत्रमा साढे १२ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताए । सिटौलाका अनुसार बन्दका कारण यातायात क्षेत्रलाई दैनिक २० देखि २५ करोड रुपैयाँ घाटा भइरहेको छ । गाडीमा हुने तोडफोड र आजगनीले कति क्षति पुर्‍यायो भन्ने अनुमाान नै गर्न नसकिएको उनले बताए ।

‘बन्द भनेपछि राजमार्गहरुमा नै अवरोध हुन्छ । यसले यात्रुबाहक र मालबाहक सवारी नै प्रभावित हुन्छन् । बन्दको पहिलो मार हामीलाई नै पर्छ,’ सिटौलाले भने- ‘भारतको अघोषित नाकाबन्दीले पनि हाम्रा सवारीहरु प्रभावित भएका छन् ।’

यो पनि पढ्नुहोस्दशैंको टिकट बुकिङ कहिले खुल्छ ?

जलविद्युतमा १० अर्ब

तराई बन्दले जलविद्युत क्षेत्रमा १ अर्ब रुपैयाँ बढी नोक्सानी भएको जलस्रोत विज्ञ ज्ञानेन्द्रलाल प्रधानले बताए । अहिले १२ सय मेगावाट विद्युत उत्पादन गर्ने आयोजनाहरुको निर्माण कार्य भइरहेको छ । ती सबैको निर्माणमा अवरोध पुगेको प्रधानले बताए ।

‘प्रतिमेगावाट १५ करोड रुपैयाँका दरले लागत जोड्दा निर्माणाधीन आयोजनाहरुको लागत १ खर्ब ६० अर्ब रुपैयाँ हुन्छ ।’ उनले भने- दुई महिना ढिलो हुँदा बैंकको व्याज मात्रै ३ अर्ब बढी तिर्नुपर्छ । र, विद्युत उत्पादन २ महिना ढीलो हुँदा ६ अर्ब बढी आम्दानी घटेको छ । साथै आयोजनाहरुको अन्य खर्चलगायत जोड्दा १० अर्ब रुपैयाँ बढी नोक्सानी व्यहोर्नु परेको छ ।’

कृषिमा ८ अर्ब

बन्दले कृषि क्षेत्रमा ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको विज्ञहरुको अनुमान छ । ‘कृषकले बन्दका कारण मल, बिउ पाएका छैनन भने उत्पादन भएको कृषि वस्तु बजार अभावका कारण खेर गएको छ ।’ कृषि मन्त्रालयका उच्च अधिकारीले भने- बन्दले ८/९ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने हाम्रो प्रारम्भिक आँकलन छ ।’

बैंकिङमा ७ अर्ब

तराई बन्दले बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको बैंकहरु बताउँछन् । ‘बन्दले तराई क्षेत्रमा निक्षेप संकलन, कर्जा प्रबाह र असूली ठप्प छ ।’

एक बैंकरले भने- ठ्याक्कै यति नै क्षति भयो भन्न नसकिए पनि ७/८ अर्बको क्षति भएको आँकलन गर्न सकिन्छ ।’ अहिलेको बन्दको असर आगामी त्रैमासिक प्रतिवेदनमा प्रष्ट देखिने बैंकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment