सन्देश श्रेष्ठ
२० असोज, पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नेपालीहरुको महान चाड बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदूर्गा महोत्सव हुने भएको छ ।
विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज २६ गतेे घटस्थापनाको दिनदेखि कात्तिक ४ गतेसम्म नवदूर्गा महोत्सव हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सदभाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार महोत्सवको पहिलो दिन अर्थात घटस्थापनाको विहान विन्ध्यबासिनी मन्दिर, नवदुर्गाका नौ रुपको झाँकी, १ सय २१ जल कलश, पञ्चैबाजा, विभिन्न जातजातीका संस्कृति झल्कने झाँकीसहित शोभा यात्रा निकालिने छ ।
सुरक्षा निकाय, विद्यार्थी, आमा समुह, भजन समूह, जातीय, धार्मिक, शैक्षिक, सामाजिक संघ संस्थाको सहभागिता रहने शोभायात्रा विन्ध्यबासिनी पार्कबाट सुरु भएर मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेशटोल हुँदै पुनः नालामुख, भिमसेन टोलहुदै मन्दिर पुगेर समापन हुनेछ । घटस्थापनाको दिन पोखरामा एक साथ विभिन्न जातीका वेशभुषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय र धार्मिक एकता प्रदर्शन गर्न लागिएको श्रेष्ठले बताए ।
घटस्थापनाको दिन मन्ध्याहदेखि मन्दिर परिसरमा श्रीमद् देवी भागवत ज्ञान महायज्ञ शुरु हुनेछ । घटस्थापनादेखि महाअष्टमी कात्तिक ४ गतेसम्म विहान ८ बजेदेखि १२ बजेसम्म संगीतमय प्रवचन र दिउँसो १ बजेदेखि ४ बजेसम्म शक्तिको महिमा विषयक प्रवचन हने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार महायज्ञमा विन्ध्यबासिनी गुृरुकुल विद्याश्रमका पूर्व विद्यार्थी नारायणप्रसाद र प्राध्यापक शिवगोपाल रिसालले प्रवचन दिनेछन् ।
महोत्सवमा करिव ५० हजार भक्तजनको सहभगिता रहने अनुमान आयोजकको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले विगत ८ बर्षदेखि दशैंको अवसरमा नवदुर्गा महोत्सव गर्दै आएको छ ।
मन्दिरको भेटीमा समितिको पहुँच पुगेन
मन्दिर भित्रको भेटी र गुठीको जग्गामा समितिको पहुँच पुगेको छैन भने बाषिर्क रुपमा पण्डितहरुले २१ हजार मात्र समितिलाई दिने गरेका छन् । सरकारले गुठी सम्वन्धि ऐन, नियम नबनाएकोले समितिको पहुँच पुग्न नसकेको भनाई सचिव श्रेष्ठको छ ।
समितिले विन्ध्यबासिनी पार्कमा पानीको फोहोरा निर्माण गरिसकेको छ । पार्कलाई व्यवस्थित, ऐतिहासिक महत्वको पुरानो मालअड्डा भवनलाई कलात्मक धरोहरका रुपमा सुरक्षित गर्ने, चारैतिर हरियाली बनाउने, विन्ध्यबासिनी मन्दिरलाई थप आकर्षक र भव्य बनाउन प्रदक्षिणा पथ निर्माण भइरहेको छ ।
आगामि मंसीरदेखि कलात्मक प्रवेशद्वार निर्माणको काम पनि सुरु हुने सचिव श्रेष्ठले बताए । समाजसेवी गोपाल ध्वजुको सहयोगमा प्रवेशद्धार निर्माण गर्न लागिएको हो ।
जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने
समितिले निकट भविश्यमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने योजना बनाएको छ । डे-केयरको रुपमा मिलन केन्द्रलाई संचालन गर्न तयारी सुरु भएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुरुमा २५ जना ७० वर्ष माथिका बृद्धबृद्धाहरुलाई मिलन केन्द्रमा राख्ने योजना समितिको छ ।
केन्द्रमा रहेका जेष्ठ नागरिकको प्रत्येक हप्ता स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइने छ भने दिउँसोको खाजा पनि खुवाइने उनले बताए । त्यस्तै, बृद्ध बृद्धाले जानेको सिप स्वेच्छिक रुपमा गर्न चाहेको खण्डमा सामान उपलब्ध गराइने र उक्त सामानबाट प्राप्त रकम जसले काम गरेको हो उसैलाई दिने ब्यवस्था मिलाइने पनि स्पष्ट पारे ।
समितिले नेपाल खानेपानी संस्थानले छाडेको भवनमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्य राखेर तयारी शुरु गरेको जनाएको छ ।
एम्बुलेन्स सेवा पनि सञ्चालन
समितिले सामाजिक सेवा अन्तर्गत एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । समितिका सचिव श्रेष्ठले मन्दिरको संरक्षण, सरसफाई र धार्मिक जागरणमा केन्दि्रत रहँदै आएको समितिले सामाजिक सेवा अन्तर्गत एम्बुलेन्स सञ्चालन गरेको बताए । नेबुलाईजरसहितको एम्बुलेन्स सस्तो भाडादरमा एम्बुलेन्सको सेवा दिने पनि उनले बताए ।
प्रतिक्रिया 4