स्मार्टफोन बजारको लडाइँमा दुइवटा मुख्य कम्पनीले आत्मसमर्पण गर्ने योजना बनाएका छन् ।
विश्वका प्रमुख स्मार्टफोन निर्माता कम्पनीहरु सोनी र ब्लाकबेरीले वर्ष सन् २०१६ लाई गर वा मरको वर्ष घोषणा गर्दै लक्षित उद्देश्य हात नपरे कम्पनीहरु स्मार्टफोन बजारबाट बाहिरिने संकेत गरेका हुन् ।
सोनीका प्रमुख कार्यकारी र ब्लाकबेरीका प्रमुखले वर्ष सन् २०१६ आफुहरुको कम्पनीको स्मार्टफोन व्यवसायको बन्ने वा भत्किने वर्षको रुपमा हुने घोषणा गरे ।
कम्पनीको मोबाइल विभागले नाफा आर्जन गर्न नसके व्यवसाय बन्द गर्ने विकल्प सोँचिने सोनीका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । जबकी ब्लाकबेरीले भने आफ्नो हार्डवेयर टिम बन्द गर्ने कुरालाई सधै खुल्ला राखेको र मोबाइल हार्डवेयरको व्यवसाय बन्द गर्ने नगरिने भनेर कहिल्यै नभनेको जनाएको छ ।
हालै पत्रकारहरुसँग कुरा गर्दै सोनीका प्रमुख कार्यकारी काजुओ हिराइले यस्तो बताए । वर्षौँदेखि घाटा बेहोर्नु परेसँगै उनले कम्पनीमा विभिन्न सफल पुनर्संरचना गरे, जसमा खर्च कटौती, पर्सनल कम्प्युटर शाखा बन्द गर्ने तथा इमेज सेन्सर र गेम्सको बिक्रि बढाउने लगायतका छन् ।
तर यावत् प्रयासका बावजुत पनि सोनीको स्मार्टफोन व्यवसायमा प्रगति हुन सकेको छैन । व्यवसाय ट्रयाकमा रहुन्जेल निरन्तरता दिने भन्दै उनले अन्यथा वैकल्पिक उपाय अपनाउने कुरालाई आफुहरुले कहिल्यै निषेध नगरेको बताए ।
सोनीका स्मार्टफोनहरुले स्वदेशी जापानी बजारमा केवल १७.५ प्रतिशत हिस्सा मात्र ओगटेको छ । उत्तर अमेरिकी बजारमा भने सोनीको हिस्सा केवल १ प्रतिशत मात्र रहेको छ ।
गत जुलाइमा कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षमा सोनीको मोबाइल युनिटले कुल ६० अर्ब येन संचालन घाटा बेहोर्ने प्रक्षेपण गरेको थियो ।
सोनीले पछिल्लो समय एक्सपेरिया रेन्जका स्मार्टफोनबाट बजार फस्टाउने अपेक्षा गरिरहेको छ । अघिल्लो महिला सार्वजनिक एक्सपेरिया जेड फाइभको बिक्रिमा सोनीको मोबाइल व्यवसायको भविष्य टुंगो लाग्ने बताइएको छ ।
उता हप्ता भएको कोड मोबाइल कन्फ्रेन्समा ब्लाकबेरी कम्पनीका प्रमुख कार्यकारी जोन चेनले अर्को वर्ष पनि कम्पनीले मुनाफा कमाउन नसकेमा कम्पनीले आफ्नो स्मार्टफोन हार्डवेयर व्यवसाय बन्द गर्ने घोषणा गरे । हार्डवेयर व्यवसाय बन्द गर्ने विषयलाई आफुले कहिल्यैपनि अस्विकार नगरेको भन्दै उनले त्यसपछि ब्लाकबेरी कम्पनी सफ्टवेयर र इन्टरप्राइज प्लेटर्फमहरुमा केन्द्रित रहने जानकारी दिए ।
कार्यकारी चेनले तर ब्लाकबेरीले आफ्नो स्मार्टफोन व्यवसाय बन्द गर्ने अवस्था नआउने विश्वास व्यक्त गरे । स्मरण रहोस् ब्लाकबेरीले हालै आफ्नो स्मार्टफोनमा एन्ड्रोइड एप पनि चलाउन सकिने बनाएको छ भने एन्ड्रोइड स्मार्टफोन प्रिभ ल्याउने योजना पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया 4