+
+
Shares

राष्ट्रपतिको विषयलाई लिएर एमाले नेताहरु विभाजित

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ६:४२

फाइल फाेटाे

१ कात्तिक, काठमाडौं । आगामी महाधिवेशनलाई केन्द्रमा राखेर एमालेभित्र राष्ट्रपतिमा उम्मेदवारको खोजी भइरहेको छ । दशौँ महाधिवेशनमा पार्टी अध्यक्ष हुने दौडमा रहेका नेता माधवकुमार नेपालले राष्ट्रपतिमा नजाने बताएका छन् । महासचिव ईश्वर पोखरेलले नेता नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव राखेर भावी अध्यक्षका लागि बाटो ‘क्लियर’ गर्न खोजेको नयाँ पत्रिकामा खबर छ ।

ओलीको चाहना विद्या

प्रधानमन्त्री ओलीको चाहना उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाउने छ । भण्डारीले पनि पार्टीले निर्णय गरे आफू तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएकी छिन् । उनले कांग्रेसलाई दिनुभन्दा आफू हुने बताएकी छिन् ।

खनाल अझै खुलेनन्

ओलीले नवौँ महाधिवेशनका वेला वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीले मौका पाए राष्ट्रपति बनाउने वचन दिएका थिए । तर, अहिले ओलीले खनालबारे केही बोलेका छैनन् । खनाल आफैँले पनि ओलीसँग भएको भद्र सहमति र आफ्नो इच्छाबारे अझै मुख खोलेका छैनन् ।

नेम्वाङको पनि छलफल

निवर्तमान सभामुख सुवास नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्ने मत पनि एमालेमा छ । पदाधिकारी तहकै केही नेताले जनजाति र संविधानसभाबाट संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका खेलेकाले नेम्वाङलाई बनाउनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसलाई दिन नहुने मत

१६ बुँदे सहमति गर्दा कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति दिने भद्र सहमति भएको थियो । तर, प्रधानमन्त्री निर्वाचनमा ‘भद्र सहमति’ तोडेको भन्दै कांग्रेसलाई राष्ट्रपति दिन नहुने मत एमालेमा बलियो छ । यद्यपि, सत्तारुढ दलभित्र यसबारे ठोस छलफल भएको छैन ।

एमाओवादीको दाबी छैन

सत्तासाझेदार एमाओवादीले राष्ट्रपतिमा दाबी नगर्ने निर्णय गरिसकेको छ । एमाओवादीको तर्फबाट सभामुखमा ओनसरी घर्ती निर्विरोध निर्वाचित भइसकेकी छिन् । सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बनाउँदा राष्ट्रपति एमालेको भागमा पर्नेछ । तर, कांग्रेसले गल्ती स्विकारे राष्ट्रपति उसलाई नै दिनुपर्ने मत पनि एमालेभित्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?