- फाइल तस्वीर
१ कात्तिक, काठमाडौं । दसैंका लागि काठमाडौंबाट बाहिरिने गाडीहरुले यात्रुसंग दोब्बर भन्दा बढी भाडा असुल्ने क्रम तीव्र भएको छ । काठमाडौंका विभिन्न नाका हुँदै बाहिरिने यात्रुबाहक सवारीले दोब्बरभन्दा बढी भाडा असुलेको पाइएको छ ।
काठमाडौंबाट पूर्व तथा पश्चिम जाने बससहित हेटौंडालगायतका क्षेत्रमा जाने सुमोहरुलेे दोब्बरभन्दा बढी भाडा लिएको यात्रुहरुको गुनासो छ । सिट नै नपाएका यात्रुले पनि बढी भाडा तिर्नुपरेको छ ।
हेटौंडा जाने सुमोको मनलाग्दी
सुमोबाट हेटौंडा जान लागेका सुशान्त सापकोटाले भने, ‘टिकटमा ४ सय १५ रुपैयाँ न्युनतम् भाडा नै लेखिएको छ । तर, भाडा १ हजार रुपैयाँ तिर्नुपर्यो ।’ उनले आफ्ना अर्का साथीले पनि ११ सय रुपैयाँ तिरेर टिकट लिएको बताए । ‘बाटामा ट्राफिकले सोधे न्युनतम् भाडा नै तिरेको हो भन्नु भनेर सुमोवालाले भनेका छन्,’ सापकोटाले भने ।
नारायणाी यातायात व्यवसायी संघले नै चलाएका सुमोले पनि प्रतियात्रु ८ सय रुपैयाँ असुलेको छ । तर, संघले टिकट भने दिन नसकिने भन्दै यात्रुलाई धेरै भाडा तिरेको नभन्न भनेको छ । धेरै सुमोले बाटामा प्रहरीलाई रिजर्भमा आएको भन्न लगाउने गरेका छन् ।
धेरैले यात्रुलाई काउन्टरबाट टिकट दिएका छैनन् । यात्रुबाहक सवारीले महंगो मूल्य तिरेर तेल किनेको बाहाना बनाएर बढी भाडा असुलेको पाइएको छ । गाडी कम चलेको समयमा यात्रु पनि जत्ति भाडा तिरेर पनि बाहिरिन हतारिएका छन् ।
बाहाना तेलको
यातायात ब्यवसायीको छाता संगठन भने बढी भाडा लिनेलाई सरकारले कारवाही गर्नुपर्ने बताउँछ । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचि सरोज सिटौलाले सरकारले दशैंमा यात्रुलाई ओसार्न पुग्ने गरी तेल नदिएकाले बढी भाडा असुल्ने वातावरण बनेको बताए । शनिबार निगमले तेल नदिँदा धेरै लामो दुरीका सवारीले यात्रु लिएर जान नसकेको उनले सुनाए ।
‘हामी तेल नभएर तनावमा छौं । गाडी छ, तेल छैन,’ सिटौलाले भने, ‘अनुगमनको काम यातायात व्यवस्था विभागले गर्नुपर्छ । हामी त्यसमा सहयोग गर्छौं ।’
यातायात व्यवस्था विभाग कता छ ?
यातायात व्यवस्था विभागले भने विभिन्न बसपार्कहरुमा टोली खटाएर अनुगमन भईरहेको बताएको छ । तर, विभागले गरेको अनुगमन निकै फितलो भएको छ । तेल संकटमा कारण विभागले स्थापना गरेको यात्रु सहायता कक्ष पनि निष्प्रभावी बनेको छ ।
प्रतिक्रिया 4