काठमाडौं । नेपाल पत्रकार महासंघ यूके शाखाले नेपालका भूकम्पपीडित पत्रकारलाई सहयोग स्वरुपमा १३ लाख रुपैयाँ प्रदान गरेको छ ।
पत्रकार महासंघ यूकेले नेपाल पत्रकार महासँघलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्मा र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बेलायतमा संकलित उक्त रकम महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट लगायतको टोलीलाई प्रदान गरेको हो ।
एनआरएन अन्तर्राष्ट्रिय सम्मेलनमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तन्तरण गरिएको हो । सोही अवसरमा गैरआवासिय नेपाली संघले पत्रकार दीपा दाहाललाई यसवर्षको एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।
जाजकारकोटमा फैलिएको स्वाइन्फ्लुको नियन्त्रण र बिनासकारी भूकम्पले केन्द्रविन्दु बनाएको गोरखाको बारपाक लगायत अन्य भूकम्प प्रभावित जिल्लामा पुगी त्यहाँ देखिएका स्वास्थ्य समस्या समाधानका लागि दाहालले महत्वपूर्ण रिपोर्टिङ गरेको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
गैरआवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको उक्त पुरस्कार शनिबार संघका नवनिर्वाचित अध्यक्ष शेष घले, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले दाहाललाई ५० हजार ५ सय नगद सहित उक्त पुरस्कार प्रदान गरे ।
यसैबीच टेलिभिजनमार्फत यूरोपस्थित नेपालीहरुले भोगेको कागजातसम्बन्धी समस्याबारेको रिपोर्ट प्रशारण गरेको भन्दै इमेज टेलिभिजनका पत्रकार होम लम्साललाई पनि उक्त पुरस्कारबाट सम्मान गरिएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक मध्येका एक चिरञ्जीवी ढकालले आफ्नी आमाको सम्झनामा स्थापना गरेको सीतादेवी ढकाल अनलाईन अन्तर्राष्ट्रिय पुरस्कार यसवर्ष पहिलो पोष्ट्का सम्पादक उमेश श्रेष्ठलाई गरिएको छ । उक्त पुरस्कारको राशी ५० हजार पाँच सय रुपैयाँ रहेको छ ।
गैरआवासीय नेपाली संघ बेलायतका नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरुङले युकेको जनसमुदायबाट संकलित रकमबाट स्थापना गरेको अक्षयकोषमार्फत नेपालमा कार्यरत पत्रकारहरुलाई प्रोत्साहन स्वरुप उक्त पुरस्कार प्रदान गर्दै आइएको छ । संघले नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा र पत्रकार संगीता मरहठ्ठा रहेको अक्षय कोष सञ्चालन समिति गठन गरेको थियो ।
प्रतिक्रिया 4