२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अघोषित नाकाबन्दी गरेको भारत आफ्नो पूर्ववत अडानमा कायमै रहेको निष्कर्ष पार्टी स्थायी कमिटी बैठकमा सुनाएका छन् ।
सरकारको नेतृत्वकर्ता दल एमालेले भने अब चीनमा मन्त्रिस्तरीय टोली पठाउन र इन्धन आपूर्तिको विकल्प खोज्न सुझाव दिएको छ ।
नाकाबन्दी खुलाउने प्रयासमा भारत गएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा स्वदेश फर्किए लगतै सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले भारतमा भएको भेटवार्ता र उनीहरुको धारणाबारे बि्रफिङ गरेका थिए ।
मन्त्रिपरिषद् बैठक लगतै बसेको एमाले स्थायी कमिटी बैठकमा ओलीले त्यही बि्रफिङ गरेका गरेका छन् । एक एमाले पदाधिकारीले भने-‘मुलभूत रुपमा भारत आफ्नो पहिलेको स्ट्याण्ड सिफ्ट गरेको छैन, उसले नेपालतर्फ प्रदर्शन भइरहेको लगायतका अनेक बहाना देखारहेको छ भन्ने बि्रफिङ भयो ।’
यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तुलनात्मक रुपमा नरम देखिएको र उनले मिलेर जानु पर्नेमा जोड दिएका थिए । सुरक्षाको कारण देखाउँदै भारतले तत्काल वीरगञ्ज नाका खुल्न नसक्ने बताएको छ । उसले अन्य नाकाहरु प्रयोग गर्न सुझाव दिएको थापाले बैठकमा बताए ।
एमाले स्थायी कमिटीको बैठकले नेपालसँगको नाका सुचारु गर्न इन्धन लगायतका अत्यावश्यक बस्तु आपूर्तिका लागि चीन सरकारलाई औपचारिक पत्रचार गर्न सरकारलाई आग्रह गरेको छ ।
साथै क्याबिनेटमन्त्रीकै नेतृत्वमा चीनमा टोली पठाउन पनि सरकारलाई भनेको सचिव योगेश भट्टराईले जानकारी दिए । एमाले बैठकले इन्धन आपूर्तिमा निजी क्षेत्रलाई संलग्न गराउन पनि सरकारलाई सुझाव दिएको छ ।
प्रतिक्रिया 4