Comments Add Comment

गाडी छुटाउन घुस माग्छन् भारतीय प्रहरी र भन्सार अधिकारी

Bhairahawa-Naka-Final

७ मंसिर, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दी भारतीय प्रहरी र भन्सारका अधिकारीको कमाउ धन्दा बनेको खुलेको छ । पछिल्लो समय सीमा सुरक्षा बल र भन्सार अधिकारीहरुले गाडी छुटाउन रकम माग्न थालेको गुनासो ब्यापक भएको हो ।

भारतीय भूमीबाट गाडी पठाउन आनाकानी भएपछि छुटाउन जाने ब्यापारीहरुसँग भारतीय प्रहरी र भन्सार अधिकारीले घुस माग्ने गरेको नेपाली भन्सार अधिकारीहरुले बताएका छन् ।

‘एउटा गाडी छुटाउन एकलाख रुपैयाँसम्म ब्यापारीले बुझाएका छन्,’ भैरहवाका एक भन्सार अधिकारीले भने, ‘तिहार अघि यो क्रम झन् ब्याप्त थियो । तिहारमा बालिने झिलमिली बत्ती बोकेका गाडीले एकलाख रुपैयाँसम्म घुस बुझाएर भन्सार छुटाएको पाइयो ।’

अत्यावश्यक र कुहिन वा बिग्रन सक्ने उत्पादन नेपाल पठाउन भारतीय भन्सारमा प्रतिगाडी ६० हजार रुपैयाँ घुस मागेको भन्दै नेपाली ब्यापारीहरुले नेपाली भन्सारमा गुनासो गर्ने क्रम बढेको छ ।

‘नेपालमा लागेको नाकाबन्दी सीमापारीका सबैको लागि कमाउधन्दा बन्यो । तेलको तस्करी त एउटा मात्र पाटो हो । अब भारतीय प्रहरी र भन्सार अधिकारी नै गाडी पठाउन बार्गेनिङमा लागेका छन्’ अर्का एक भन्सार अधिकारीले भने, ‘घुस दिने ब्यापारीका गाडी छुटाउन रातभर प्रहरी सक्रिय हुन्छन् । अब जसको आर्थिक तागत बलियो छ, उसैको गाडी छुट्ने अवस्था आयो ।’

छठपछि सबै नाका असहज

छठपछि सीमा नाकामा भारतले थप कडाइ गरेको छ । वीरगञ्ज घटनापछि असहज भएपनि विस्तारै सामान्य अवस्थामा फर्किन लागेका नाकाहरुमा छठपछि थप कडाइ भएको हो । अहिले कैलाली बाहेक मेची, भैरहवा, बिराटनगर र नेपालगञ्ज नाकाबाट दैनिक ५० देखि ६० वटा मात्र मालबाहक गाडी नेपाल भित्रिने गरेका छन् ।

काँकडभिट्टाको मेची भन्सारबाट सोमबार १३ वटा इन्धनका गाडी नेपाल भित्रिए भने भैरहवाबाट ४ दिनपछि सोमबार नै ८ वटा इन्धनबाहक गाडी नेपाल आएको बेलहिया भन्सारले जानकारी दिएको छ ।

नेपालगञ्जबाट दैनिक रुपमा न्युन मात्रामा गाडी नेपाल आएका छन् । कैलालीको गौरीफन्टा भन्सारबाट ५ दिनदेखि इन्धन भित्रिएको छैन भने मुस्किलले २० वटा मालबाहक गाडी नेपाल आएको भन्सार प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

मंगलबार दिउँसोसम्म कुनै नाकाबाट पनि इन्धनका गाडी भित्रिएको छैन । तर, बेलुकाको समयमा इन्धनका केही गाडी छोड्ने गरिएकाले बेलुकीसम्म पेट्रोलियम पदार्थका गाडी आउने भन्सार अधिकारीहरुको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment