Comments Add Comment

दातालाई सरकारको आश्वासनः पुनर्निर्माण प्राधिकरण चाँडै बन्छ

Finance-Minister-with-Doner

९ मंसिर, काठमाडौं । नेपाल सरकारले अन्तरराष्ट्रिय दाताहरुलाई अब चाँडै पुनर्निर्माण प्राधिकरणले पूर्णता पाउने आश्वासन दिएको छ । भूकम्प आएको ८ महिनापछि सरकारले दाताहरुलाई यस्तो आश्वासन दिएको हो ।

अर्थमन्त्रालयमा बुधबार आयोजित दाताहरुसँगको छलफलमा अर्थमन्त्री विष्णु पौडेलले पुननिर्माण प्राधिकरणले छिट्टै पूर्णता पाउने बताएका हुन् ।दातृ निकायका प्रतिनिधिहरुले प्राधिकरण गठन हुन नसक्दा भूकम्पपछिको पुननिर्माणको काम प्रभावित भएको गुनासो गरेपछि मन्त्री पौडेलले चाँडै प्राधिकरणले बन्ने आश्वासन दिए ।

पुननिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको र त्यसलाई पारित गर्न सरकार तयार एवं गम्भीर रहेको मन्त्री पौडेलले बताए । ‘यहाँहरुले भूकम्पपछिको पुननिर्माणप्रति चासो देखाउनुभएको छ, त्यसप्रति म निकै गम्भीर छु,’ अर्थमन्त्री पौडेलले भने- ‘सत्तापक्ष र प्रतिपक्षबीच खासै तिक्तताको विषय केही पनि छैन, हामी छिट्टै विवाद टुङ्ग्याएर प्राधिकरणलाई पूर्णता दिन्छौं ।’

भूकम्पपीडितहरुले भोग्नुपरेको दुःखप्रति सरकार गम्भीर भएकैले प्राधिकरण गठन नहुँदासम्म काम नरोकियोस् भनेर तत्कालका लागि राष्ट्रिय योजना आयोगलाई पुननिर्माणको काम गर्ने जिम्मेवारी दिइएको उनले सुनाए ।

‘प्राधिकरण नबनुञ्जेल एक दिन पनि काम प्रभावित नहोस् भनेर योजना आयोगलाई पुनर्निर्माणको काम गर्ने जिम्मेवारी दिइएको छ’ मन्त्री पौडेलले भने-‘आयोगका उपाध्यक्ष युवराज खतिवडाको काम गर्ने क्षमताप्रति तपाईहरु नै जानकार हुनुहुन्छ ।’

इन्धन र औषधिमा सहयोग गर्न आग्रह

अर्थमन्त्री पौडेलले इन्धन, औषधिलगायतको चरम अभावका कारण देशमा ठूलो मानवीय संकट आउन लागेको भन्दै आवश्यक सहयोग गर्न दाताहरुलाई आग्रह गरेका छन् ।

मन्त्री पौडेलले अहिलेको समस्यालाई वार्ता र कुटनीतिका माध्यमबाटै समाधान गर्न सरकार सक्रिय रहेको जानकारी गराए । सरकारले श्वेतपत्रमार्फत भूकम्पपीडितलाई जाडोमा न्यानो कपडा किन्न १० हजार रुपैयाँ अनुदान दिएको जानकारी गराए । ‘यस्तो अवस्थामा जनताले भोग्नुपरेको यो पीडा अस्थायी परिदृश्य हुनेछ भन्ने चाहन्छु’ उनले भने ।

कार्यक्रममा झन्डै तीन दर्जनजति दातृ निकायका प्रतिनिधि उपस्थित थिए । उनीहरुले सीमानामा आपूर्ति व्यवस्थामा भइरहेको अवरोधका कारण नेपालको अवस्था गम्भीर बन्दै गएकाले सरकारले ठोस कार्ययोजना बनाए आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकको अवस्था जर्जर बनेको जानकारी गराएका थिए ।

सरकारले मुलुकको अवस्थाका बारेमा श्वेतपत्र जारी गरेर छर्लङ्ग पारिसकेको उल्लेख गर्दै विकासका लागि सहयोग गर्न दाताहरुलाई खतिवडाले आग्रह गरे । ‘भूकम्पपछिको पुननिर्माणको काम नरोकियोस् भनेर पुननिर्माण प्राधिकरणको काम योजना आयोगले अघि बढाएको छ’ उनले भने । 

जारी संकटमा मुद्रास्फितिमा परेको चापका कारण महंगीले जनतालाई प्रभावित बनाउन सक्ने भन्दै खतिवडाले दाताहरुसँग चिन्ता व्यक्त गरे ।  उनले ठूला आयोजनाहरुलाई सरकारले विषेश प्राथमिकतामा राखेर काम अघि बढाउने जानकारी गराए । र, पुँजीको अभाव हुन नदिन सहयोग गर्न दाताहरुलाई आग्रहसमेत गरे ।

त्यसैगरी सरकारले बैकल्पिक उर्जालाई पनि प्राथमिकतामा राखेको खतिवडाले दाताहरुलाई जानकारी दिए ।

कार्यक्रममा सहभागी दाताहरुले बढीजसो समय भूकम्पपछिको पुनर्निर्माणबारे चासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment