+
+
Shares

वीरगञ्ज नाका खोल्न म आफैं प्रस्ताव लैजान्छुः राजेन्द्र महतो

२१ माघ, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्जको नाकाबन्दीले सरकारलाई असर नपरेको भन्दै नाकाबन्दी खोल्ने प्रस्ताव मोर्चामा आफूले लैजाने बताएका छन् । उनले १२ महिना एउटै शैलीको आन्दोलन जारी राख्न नसकिने अनलाइनखबरलाई बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २१ गते २०:४५

rajendra mahatoचिरञ्जीवी पौडेल

२१ माघ, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्जको नाकाबन्दीले सरकारलाई असर नपरेको भन्दै नाकाबन्दी खोल्ने प्रस्ताव मोर्चामा आफूले लैजाने बताएका छन् । उनले १२ महिना एउटै शैलीको आन्दोलन जारी राख्न नसकिने अनलाइनखबरलाई बताएका हुन् ।

बिहारमा पुगेर मधेस आन्दोलनका पक्षमा लबिङ गरेर फर्केका नेता महतोले भने, ‘देशका अरु सबै नाका खुलिसकेका छन्, एउटा नाका मात्रै किन बन्द गरिराख्ने ? सरकारलाई कुनै दबाब परेको छैन । जनतालाई मात्रै कति दुःख दिइराख्ने ?’

महतोले आन्दोलनको स्वरुप फेर्नका लागि मोर्चाको बैठकमा प्रस्ताव लैजाने भएका छन् । मोर्चाका अर्का नेता महन्त ठाकुरले बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी नाकाबन्दी जारी राख्ने बताएका थिए । यस विषयमा जिज्ञासा राख्दा महतोले भने, ‘मैले आफ्नो व्यक्तिगत धारणा भनेको हुँ । उहाँले बोल्नुभएको विषयमा मलाई थाहा भएन, उहाँलाई नै सोध्नुस् ।’

उनले नाकाबन्दी रोकेर केही समय शक्तिसञ्चय गर्नुपर्ने बताए । महतोले भने, ‘अब केही समय हामीले शक्तिसञ्चय गर्नुपर्छ र उपयुक्त मौका आएपछि चौतर्फी रूपमा जोडदार प्रहार गर्नुपर्छ ।’ उनले सरकारसितको वार्ता प्रक्रिया चियागफमा सीमित रहेको भन्दै यसबाट पार नलाग्ने देखिएको उल्लेख गरे ।

प्रधानमन्त्री केपी ओलीसँग पनि भेट्नुभयो, उहाँ अलि नरम हुनुभएको पाउनुभयो कि भन्ने प्रश्नमा महतो गललल हाँसे । त्यसपछि प्रतिप्रश्न गरे, ‘केपी ओली नरम ? नरम भएको भए आज देशको यो अवस्था हुन्थ्यो ?’ उनले प्रधानमन्त्रीले आफ्नो कुरा ध्यान दिएर सुने पनि अडानबाट पछि हटेको कुनै संकेत नदेखाएको उल्लेख गरे ।

लालु बाबुजस्ता हुन्

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बिहारका नेता लालुप्रसाद यादवसितको भेटका विषयमा उठेको विवादप्रति आश्चर्य व्यक्त गरेका छन् । उनले लालुसित मधेसका नेताहरूको पारिवारिक र आत्मीय सम्बन्ध रहेको भन्दै सो भेटघाट पारिवारिक वातावरणमा भएको जिकिर गरे ।

‘लालुजीसित हाम्रो पारिवारिक सम्बन्ध र स्नेह छ,’ उनले भने, ‘उहाँ हामीभन्दा धेरै बुज्रुक (पाको) हुनुहुन्छ र हामीले उहाँलाई बुवालाई जस्तै आदर गर्छौं । आफूभन्दा बुज्रुक भएका कारण उहाँसँगै उस्तै आसनमा बसेर कुरा गर्न मिल्दैन ।’

लालुले मधेसी मोर्चाका शीर्ष नेताहरूलाई घरको कम्पाउन्डमा प्लास्टिकको कुर्सीमा राखेर कुरा गरेको तस्बिर हालै सार्वजनिक भएको थियो । महतोले लालुले बैठककोठामा नलगेकोमा पनि आफूहरूको कुनै गुनासो नरहेको बताएका छन् ।

‘बाहिर घाम लागेको थियो, हामीले घाम ताप्दै कुरा गर्‍यौँ,’ उनले भने, ‘हामीलाई यसमा कुनै आपत्ति छैन भने अरुले किन आपत्ति जनाउने ?’

भारतीयको जुलुस काठमाडौं आउने !

मधेस आन्दोलनको समर्थन र नेपाल-भारत सम्बन्ध सुधारका लागि बिहारका भारतीयहरू काठमाडौंसम्म पदयात्रामा आउने तयारी भइरहेको महतोले बताएका छन् । बिहारका एक नेताले मधेस आन्दोलनमा सहभागी हुन १० लाख भारतीयलाई पठाउने भनी दिएको अभिव्यक्ति सञ्चारमाध्यममा आएको थियो । यस विषयमा प्रश्न गर्दा महतोले भने, ‘आन्दोलन गर्न होइन, पदयात्रा गर्न आउने हो । बिहारबाट पदयात्रा गरेर पशुपतिनाथसम्म आउने कुरा भएको छ ।’

देशको आन्तरिक मामलामा दबाब दिन विदेशी नागरिकहरू जुलुस लिएर आउनु आपत्तिजनक होइन त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘भारत र नेपालको खुला सिमाना छ, रोटीबेटीको सम्बन्ध छ । उहाँहरू सम्बन्ध बिगार्न आउन लागेको होइन, सम्बन्ध सुधार्नका लागि हो ।’

सामाजिक सञ्जालमा ९९ प्रतिशत खसवादी

मोर्चाका नेताहरू विहारमा पुगेर राजनीतिक लबिङ गरेको विषयमा भइरहेको आलोचनालाई महतोले खसवादी मानसिकताको संज्ञा दिएका छन् । उनले भने, ‘नेपालका मिडिया र सामाजिक सञ्जालमा खसवादी मानसिकता बोकेकाहरू हाबी छन् । सामाजिक सञ्जाल चलाउनेमध्ये त ९९ प्रतिशत खसवादी छन् । उनीहरूले आलोचना गर्नु ठूलो कुरा होइन ।’

उनले प्रश्न गरे, ‘राष्ट्रवादी भनिने नेताहरू पनि त विगतमा भारतीय नेताको घरदैलो चहार्न हिँडेकै हुन् । उनीहरूले चहार्दा केही नहुने, हामीले चहार्दा किन आपत्ति ?’

बिहारका नेताहरूबाट कस्तो आशीर्वाद पाउनुभयो त भन्ने प्रश्नमा महतोले जवाफ दिए, ‘उहाँले नेपालमा मधेसीमाथि भइरहेको विभेद र दमनको निन्दा गर्नुभएको छ र हाम्रो शान्तिपूर्ण आन्दोलनको समर्थन गर्नुभएको छ । हाम्रो आन्दोलनलाई सहयोग गर्न दिल्लीमा गएर केन्द्र सरकारसित कुरा राख्ने वचन दिनुभएको छ । हाम्रो भ्रमण फलदायी भएको छ ।’

‘म नेपालको धर्तीपुत्र हुँ’

महतोको नेपाली नागरिकतालाई लिएर पटक-पटक सवाल उठ्ने गरेको छ । उनले झुटा कागजातका आधारमा नागरिकता लिएको भनेर छानबिनका लागि माग समेत हुँदै आएको छ । महतोले भने आफू नेपालको धर्तीपुत्र भएको र आफूसित नेपालको जन्मसिद्ध नागरिकता रहेको दाबी गरे ।

‘म नेपालमा जन्मेको यहीँको धर्तीपुत्र हुँ,’ उनले भने, ‘मैले बकाइदा नेपाली टोपी लगाएर फोटो खिचेर नागरिकता लिएको हुँ । कसैलाई मेरो नागरिकतामाथि शंका छ भने छानबिन गर्दा हुन्छ ।’ उनले आफू ३० वर्षदेखि मधेसीलाई नागरिकता दिलाउने अभियानमा रहेकाले आफ्नो नागरिकताका विषयमा प्रश्न उठाइने गरेको उल्लेख गरे ।

गालीले मलाई छुँदैन

महतोले मधेसको अधिकारका पक्षमा कडा रूपमा उभिँदा खसवादी मानसिकता भएकाहरूले आफूलाई तारो बनाएको बताए । चौतर्फी रूपमा आलोचना र गाली सुन्नुपर्दा आत्मग्लानि हुँदैन भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘हावा सबैभन्दा बेसी कहाँ लाग्छ ?’ अनि आफैं जवाफ दिए, ‘सबैभन्दा अग्लो ठाउँमा । अब बुझ्नुस कि मलाई किन सबैभन्दा बेसी गाली गर्छन् ?’

उनले ‘खसवादी मानसिकता बोकेकाहरूले’ गाली गर्दैमा केही फरक नपर्ने भन्दै गालीले आफूलाई छुन छोडिसकेको बताए ।

‘मधेस आन्दोलनमा सबैभन्दा बेसी को खटेको छ ? नाका-नाकामा गएर कसले धर्ना दिएको छ ? प्रहरीको लाठी कसले खाएको छ ?’ उनले भने, ‘मैले होइन ?’

मेरो हत्या प्रयास भयो

महतोले जोगबनीमा धर्ना बस्दा नेपाल प्रहरीले आफ्नो हत्या प्रयास गरेको दाबी गरे । प्रहरीको कुटाईपछि अझै आफूलाई सञ्चो भइनसकेको उनले बताए ।

‘मलाई मार्ने प्रयास भएको थियो, तर कार्यकर्ताले बचाए,’ उनले भने, ‘मलाई टाउकोमा लाठी हान्दा आँखामा रगत जमेको रहेछ । त्यही भएर बायाँ आँखाको दृष्टि कम भएको छ । हिजो मात्रै अस्पतालमा गएर जँचाएर आएको हुँ । नपत्याए हेर्न आउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?