Comments Add Comment

पर्यटनलाई गति दिन दक्ष जनशक्ती र आधुनिक प्रविधि आवश्यक

Pata Nepal 2

२६ माघ, काठमाडौं । महाभूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा ऊर्जा थप्न तथा पर्यटनका नयाँ आयामको खोजीका साथै दक्ष जनशक्ति उत्पादन र आधुनिक प्रविधियोग्य सीपको विकास गर्ने उद्देश्यले राजधानीमा अन्तराष्ट्रिय स्तरको कार्यशाला गोष्ठी दुईवटा विधामा सम्पन्न भएकोे छ ।

प्रशिक्षणका लागि हङकङ पोलिटेक्निक विश्वविद्यालयको होटल एन्ड टुरिजम् म्याजेनमेन्टका डिन प्रोफेसर केय चोन पाटा नेपाल च्याप्टरको निमन्न्नणामा नेपाल आउनु भएको हो । उनी होटल एन्ड टुरिजम म्यानेजमेन्ट सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनको नोबेल पुरस्कार बिजेता समेत हुन् ।

माघ २४ गते काठमाडौंको मन्डीखटारस्थित गेट कलेजमा आयोजित ‘टुरिज्म, वल्र्ड एण्ड योर करियर’ विषयक एक दिने कार्यशाला गोष्ठीमा राजधानीका ९ वटा होटल तथा पर्यटन व्यवस्थापन कलेजमा अध्ययनरत २०० जना विद्यार्थीहरू तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो ।

यसैगरी, माघ २५ र २६ गते र्‍याडिसन होटलमा आयोजित ‘नोभेसन्स एन्ड लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिजम’ विषयक २ दिनेे कार्यशाला गोष्ठीमा पर्यटन क्षेत्रका एयरलाइन्स, होटल, ट्राभल व्यवसायी तथा विद्यार्थी गरी करिव १८० जनाको सहभागिता थियो ।

पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको दुई दिने गोष्ठीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन उद्योगलाई गतिवान बनाउन मानव संसाधन आवश्यकता रहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि यस्तो तालिम उपयोगी हुने उल्लेख गरे ।

Pata Nepal

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले भूकम्प र नाकाबन्दीजस्ता संकटबाट बहुपक्षीय रूपमा प्रभावित हुन पुगेको नेपालको पर्यटन उद्योगलाई ब्युताउनका लागि अब उपयुक्त रणनीतिका साथ लाग्नुपर्ने बताए । ‘हामी कठिन अवस्थामा पनि मुस्कुराउन सक्छौं, अतिथिहरूलाई सेवा दिन सक्छौं भन्ने हामीले प्रमाणित गरिसक्यौं । नाकाबन्दी खुलेसँगै अब नेपालको पर्यटन उद्योगलाई ब्युताउनका लागि ठोस काम गर्नुपर्ने बेला भएको छ’ पाण्डेले भने ।

अध्यक्ष पाण्डेले संक्रमणमा परेको मुलुकको पर्यटन पुनरुत्थानका लागि थप ऊर्जा थप्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रोफेसर चोनले एसिया प्रशान्त क्षेत्रमा विश्व पर्यटन उद्योगले फड्को मारिरहेको तथा पर्यटन पूर्वाधार निर्माणका कार्य तीब्र रुपमा अघि बढिरहेको सन्दर्भमा नेपालको पर्यटन बजारलाई गति दिन पर्यटकको आवश्यकता अनुरुप नयाँ पर्यटकीय प्याकेजका कार्यक्रम ल्याईनुपर्ने खाँचो औंल्याउनुका साथै ‘नविनतम अभ्यास र सफल नेतृत्व’ पर्यटन क्षेत्रको दिगो विकास एवं सफल व्यवसायका लागी अभिन्न पक्ष भएको कुरामा जोड दिए ।

‘युरोप र अमेरिकाबाट आर्थिक शक्ति अब एसियातर्फ सरेको छ, एसियामा पनि चीनले त्यसको नेतृत्व गरिरहेको छ’ विश्वभर घुमफिर गर्ने एसियाली पर्यटकहरूको संख्या बढ्दै गएको उदाहरण दिँदै उनले एसियाका विभिन्न मुलुकमा भ्रमण गर्नेमध्ये ८० प्रतिशत पर्यटक एसियाली नै भइरहेकोले यो आफैमा बृहत् बजार भएको बताए ।

‘अहिले विश्वभरि एसियाली पर्यटकले नेतृत्व गरेको ‘रेन्बो टुरिजम’ फस्टाउँदैछ, त्यो भनेको विभिन्न रंग, रूप, भाषा भएका विविधतायुक्त पर्यटकहरूको अवधारणा हो’ चोनले भने ।

विगतमा एसियाली मुलुक घुम्न आउनेहरूमा अमेरिकी र युरोपली पर्यटकहरू बढी रहने गरेकोमा अहिले चिनियाँ, भारतीयसहित अन्य एसियाली मुलुकका अनुपात बढ्दै जानुले यस क्षेत्रको पर्यटन विकासको बृहत् सम्भावना उजागर गरेको उनले बताए ।

‘तीन वर्षअघि विश्वभरि १ अर्ब पर्यटक संख्या पुग्यो भनेर खुसी मनाइयो, त्यसको ठूलो हिस्सा एसियाली पर्यटकले धानेका छन्, एसियाका कुल पर्यटकमध्ये ८० प्रतिशत एसियाली नै छन’ प्रा. चोन भन्छन् ।

‘विगतमा यस क्षेत्रका पर्यटन नै पश्चिमा पर्यटकले धान्ने गरेकाले हाम्रो होटल तथा आतिथ्य सत्कार उद्योगका उच्च व्यवस्थापकहरू पनि पश्चिमा नै हुने गरेका थिए । अब हामीले हाम्रै सक्षम जनशक्ति विकास गर्न थालिसकेका छौं, अबको नेतृत्व स्थानीय जनशक्तिले नै गर्नुपर्छ’ उनले भने ।

सगरमाथाजस्तो विश्वका कसैले नक्कल गर्न नसक्ने अद्वितीय पर्यटन सम्पदा रहेको नेपालको पर्यटन उद्योगलाई पनि अब स्थानीय जनशक्तिले नै प्रभावकारीरूपमा नेतृत्व गर्न उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment