+
+

यश कुमारः सुकुम्बासी बस्तीमा फक्रेको फूल

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १७ गते १३:४०

Yes Kumar (1)

‘मैले छोएको पानी चल्दैन !’ माया-प्रीति र दुःखसुखका गीत सुन्दै आएका श्रोतालाई यी शब्द सुन्दा अनौठो लाग्यो । तर, यही गीतले ‘सुरेश कुमार नेपाल परियार’लाई गायक, संगीतकार तथा नायक यश कुमार बनायो ।

यश कुमारका बाबु ब्राह्मण हुन्- नेपाल । आमा परियार । त्यसैले यशले काठमाडौंबाट नागरिकता निकालेका छन्- सुरेश कुमार नेपाल परियार नाममा । बाबुको नाममा नागरिकता निकाल्दा यशले नागरिकमा ‘सुरेश नेपाल’ मात्रै लेख्न सक्थे । तर, लेखेनन् । भन्छन्, ‘बुझ्दै आएँ, मलाई मेरी आमाको थर छाड्न मन लागेन ।’

यश सर्लाही कर्मैयका हुनेखाने परिवारका हुन् । तर, समयले उनलाई राजधानी ल्याएर सुकुम्बासी बनायो, गायक बनायो । उनको काठमाडौं संघर्षको कथा लामो छ ।

बाल्यकालको एउटा साथी रोयो

यशले सानैदेखि रेडियोमा नारायणगोपाल, अरुण थापाका गीत सुन्थे । उनको कलिलो मनमा गायक हुने सपनाले घर गरेको थियो ।

यशको कुर्मैयामा एउटा साथी थिए, पूर्णसिङ वाइबा, घर-गाउँमा ‘बाबु’ भन्थे । यशले पनि बाबु भन्थे । केटाकेटीमै एकपटक यश त्यत्तिकै बहकिएर, बरालिएर काठमाडौं आउन भनेर भागे, साथी बाबुसँग । तर, चन्द्रनिगाहपुरबाट र्फकनुपर्यो । बाबुको बुवा आएर फर्काए ।

धेरै वर्षपछि, ०६३ सालतिरको कुरा होला । सुरेश कुमार गायक यश कुमार भएर चर्चा कमाइसकेका थिए । सांस्कृतिक कार्यक्रमको सिलसिलामा हङकङ गएर र्फकंदै थिए । उनी त्रिभुवन विमानस्थलबाट नयाँबजार डेरा जान ट्याक्सी चढे । ट्याक्सी ड्राइभरले अगाडि सिसाबाट बेलाबेला नियाल्दै थिए । सोधे, ‘तपाईं गायक यश कुमार होइन ?’

यशले भने- हो । ती चालकले सोधे, ‘आराम हुनुहुन्छ ?’

‘हजुर आराम छु, अनि तपाईं ?’

‘हजुर आराम छु । तपाईंले पूर्णसिङ वाइबालाई चिन्नुहुन्छ ?’

‘को पूर्णसिङ वाइबा ?’ यशले प्रतिप्रश्न गरे, कुनै गायक-कलाकारको कुरा गरेको होला भन्ठानेर ।

चालकले भने, ‘सर्लाही कुर्मैयाको पूर्णसिङ वाइबा ।’

‘ए, ऊ त मेरो साथी हो । उसलाई मैले बाबु भन्थेँ, हामी असाध्यै मिल्ने साथी थियौँ,’ यशले भने ।

यशले यति भनेपछि चालकले झ्याप्प ब्रेक लगाएर रुन थाले ।

ती ट्याक्सी चालक नै यशका बाल्यकालका साथी बाबु थिए । बाबुले यशले आफूलाई बिर्सेको होला भन्ठानेका रहेछन् । सबैलाई घरमा बोलाउने नाम प्यारो हुन्छ । जिन्दगीको यात्रामा मानिसलाई धेरै कमले मात्रै घरमा बोलाउने नामले बोलाउँछन् । यशले बालपनको नाम भनिदिएपछि बाबुले आफूलाई थाम्न सकेनन् ।

बाबुले एकछिनपछि भने, ‘तिमीलाई मेरो नाम अझै याद छ ? तिमी कहाँ पुग्यौ यार, हामीलाई छाडेर ।’

पछाडिको सिटमा बसेका यशअगाडि आएर भने, ‘म कहीँ पुगेको छैन, उही पुरानै सुरेश हुँ । जीवन हो, पानीजस्तो एकै ठाउँमा जमेर बस्न हुँदैन, म बगेँ र गायन क्षेत्रमा आएँ ।’

बाबु विदेश जान काठमाडौं आएका रहेछन्, तर दलालले ठगेपछि ट्याक्सी चलाउन थालेका रहेछन् । यश भन्छन्, ‘अहिले हाम्रो भेटघाट भइरहन्छ । फोनमा कुरा भइरहन्छ ।’

Yes Kumar (4)

काठमाडौंमा सुकुम्बासी

यशका बाबु राम नेपाल, काभ्रे ढुङखर्कमा हुनेखाने ब्राह्मण परिवारमा जन्मेका थिए । उनले गाउँकै गीता परियारलाई मन पराए, साँचो माया गरे । कथित तल्लो जातकी गीतालाई बिहे गरेर घरमा भित्र्याउन सम्भव थिएन । त्यसैले रामले गीतालाई लिएर सर्लाही कर्मैयाको वागमती किनारमा आइपुगे । उतिबेला सर्लाहीमा जंगल फाँडेर खेत बनाउन पाइन्थ्यो । रामले पाखुराको बलले थुप्रो जंगल फाँडेर खेतबारी बनाएँ, घरबार बसाए, उब्जनीले खान पुग्थ्यो ।

रामका सातभाइ छोरा भए । छैटौँ छोरा हुन्, गायक यश कुमार ।

यशका बाबुको सृष्टि चल्दै थियो । ०४५ सालतिरको कुरा होला, राति ३ बजेतिर गाउँमा बाढी पस्यो । मानिसहरू पुलमा गए । हेर्दाहेर्दै वागमतीले घरगोठ, गाईवस्तु बगायो । खेतबारीलाई बगर बनायो ।

बाढीले यशको परिवारलगायत धेरै हुनेखानेलाई रुखमुनिको बास बनायो । त्यसपछि यशको परिवार रित्तो हात काठमाडौं आयो ।

सात भाइ छोरा, परिवार ठूलो थियो, एकै ठाउँमा बस्न सम्भव भएन । यशका दाइहरू काम खोज्दै भिन्दाभिन्दै बस्न थाले । यशका बुवा भने दुई छोरा र श्रीमतीलाई लिएर त्रिपुरेश्वर विश्वनिकेतन स्कुलपछाडि सुकुम्बासी बस्तीमा बस्न आए, ०४७ सालमा ।

‘म र ममुनिको भाइ बुवाआमासँग बस्यौँ,’ यश भन्छन्, ‘म त्यहीँ हुर्किएँ । मेरो संघर्ष त्यही सुकुम्बासी बस्तीबाट सुरु भयो ।’

यशका बुवालाई क्षयरोग थियो, बिस्तारै थला पर्दै गए । सक्दासम्म बुवाले दुई-चार पैसा कमाएर ल्याउँथे । ‘बुवा राजनीतिक दलको सम्पर्कमा हुनुहुन्थ्यो । बुवा कुन पार्टीमा हिँड्नुहुन्थ्यो भन्ने त मलाई थाहा भएन । तर, पार्टीको कार्यकर्ता भएर हिँड्नुहुन्थ्यो, दुई-चार पैसा ल्याउनुहुन्थ्यो,’ यश भन्छन्, ‘बिरामी भएपछि बुवाको कमाइ बन्द भयो ।’
यशको खुसी बनेर आउँथ्यो वागमतीमा बाढी

वागमतीको बाढीले सर्लाही कर्मैयाबाट उठाएको घरबास फेरि काठमाडौंको वागमती किनारमै फुल्न खोज्दै थियो । यशले देख्दै थिए- सानो घर, आफ्नो स्कुल, भाइको स्कुल । तर, बुवा गल्दै गएपछि यशको खुुसीको कोपिला फक्रन पाएन । उनको खुसी र अरु मान्छेको खुसीमा फरक पर्न थाल्यो ।

कहिलेकाहीँ बर्खामा वागमतीमा बाढी आउँथ्यो, वरपरका ठूला घर हुनेहरू डराउँथे, बाढीले बित्यास पार्छ कि भनेर । तर यश रमाउँथे । किनभने, बाढीले बालुवा बगाएर ल्याउँथ्यो । यशले साथीहरूसँग मिलेर रातारात बालुवा बटुलेर बेच्थे । पैसा आमालाई दिन्थे । त्यही पैसाले भोटेबहालमा भिडियो फिल्म हेर्न जान्थे ।

जब साँझ पथ्र्यो, बस्तीको खाली भागमा थुप्रै साथीहरू जम्मा हुन्थे, यशले गीत गाउँथे ।

उता स्कुल पनि चलेकै थियो । तर काम, परिस्थितिले यशलाई आवाराजस्तो बनाइसकेको थियो । ‘समय र परिस्थितिले व्यक्तिको चरित्र निर्धारण गर्दो रैछ । अभाव थियो, जे भेट्यो, त्यही काम गरिन्थ्यो । आफूजस्तै अवस्थाको साथी बनाइन्थ्यो,’ यश भन्छन्, ‘केटाहरूको ग्याङ नै थियो, सबैले कपाल पाल्थ्यौँ, मुन्द्रा लगाउँथ्यौँ, कतै झगडा गर्नुपरे सँगै जान्थ्यौँ ।’

बस्तीमा कति ड्राइभर काम गर्ने पनि थिए । उनीहरूले कोठा सर्नेहरूको सामान गाडीमा ओसार्थे । यश साथीहरूसँग ती सामान गाडीमा हाल्ने र झार्ने गर्थे, एकपटक साठी रुपैयाँ कमाउँथे ।

प्रेसमा गीत गाउँदै काम गर्दा…

यसै-उसै घरायसी समस्याले यशको पढाइमा बाधा पुग्यो, १० कक्षाभन्दा माथि पढ्न सकेनन् । अगाडि पढ्न नपाएको उनलाई त्यति विधि गुनासो छैन । भन्छन्, ‘सुखले अगाडि पढ्न पाएको भए मसँग किताबी ज्ञान मात्रै हुन सक्थ्यो । पाइनँ र मैले यो सहर र यो समाज पढ्न पाएँ ।’

स्कुल पढ्दै बिहान-साँझ जे पायो, त्यही काम गरे । यहीबीचमा प्रेसमा काम गर्न थालेका थिए- किताबका पाना फोल्डिङ गर्ने, गाता हाल्ने, ब्यान्डिङ गर्ने । उनले गीत गाउँदै काम गर्थें । यशले गीत गाउँदै काम गर्थे, अन्य साथीहरूले उनको गीत सुन्दै काम गर्थे । यशले स्कुलमा पनि गीत गाएर कापी-कलम पुरस्कार पाइरहन्थे ।

प्रेसको काम ठेक्कामा आउँथ्यो, कहिले कता जानुपथ्र्यो, कहिले कता ।

एकपटक छाउनीमा काम गर्दै थिए । त्यसको नजिकै अल्फा डिजिटल साउन्ड रेकर्डिङ रहेछ ।

त्यही उनको पहिलो गीत रेकर्ड भयो- हाँसो मागे तिमीसँग, ०५१ सालमा । जसमा उनकै शब्द र संगीत थियो । तर यो गीतले चर्चा पाएन ।

संगीत र नाटक

एकजना डेनिस नागरिक सिविनमार्फत बस्तीमा प्रौढ शिक्षा चलाउन आए, ०५३ तिरको कुरा हो । त्यही बेला यशले बस्तीका आमाहरूलाई प्रौढ शिक्षा पढाए । यसरी नै उनी सिविनसँग जोडिए । यशले ठमेलका सडक बालबालिकालाई सिविनसम्म पुर्याउन गर्थे । सिविनले असहायहरूलाई पढाउने, तालिम दिने गथ्र्यो । सिविनबाटै यशले पनि संगीत मण्डपमा संगीत सिकेँ, दुई वर्षजति । त्यसपछि केही समय कैलाश राईसँग सिके ।

त्यतिबेला खुब नाटक चल्थ्यो- नाचघर, सभागृहहरूमा । वागबजारतिर हल भाडामा लिएर नाटक देखाउने थुप्रै हुन्थे । यशले अलिअलि बाँसुरी बजाउन जानेका थिए, नाटकका दृश्यमा बाँसुरी पनि बजाइन्थ्यो ।

यश साथीहरूमार्फत नाटकमा बाँसुरी बजाउन पुगे । नाटकमा बाँसुरी बजाइसकेपछि गर्न भ्याइने सानो-सानो भूमिका पनि गरे । गजब छ बा, नारी अबला होइन लगायत चार नाटकमा काम गरे ।

Yes Kumar (5)

आफ्नै भाइसँग बदाम किन्दा

नाटकको रिहर्सल सकेर यश साथीहरूसँग टुँडिखेलमा गफिएका थिए । एकजना ठिटो बदाम बेच्दै आइपुगे । उसको अनुहार ठ्याक्कै यशकै जस्तो थियो । साथीहरूले हाँसो गरे, ‘ऊ सुरेश त बदाम बेच्न थालिसक्यो ।’ त्यतिबेला सुरेश यश भइसकेका थिएनन् ।

यशले भने, ‘बदाम बेच्ने सुरेश होइन, सुरेशको भाइ सुरेन्द्र हो ।’

यशका भाइले बदाम बेच्दै पढ्थे । बदाम बेच्दै जाँदा उनी आफ्नै दाजुसम्म पुगेका थिए । हाम्रो समाजमा कामलाई सानो र ठूलो ठानिन्छ । त्यसैले यशका भाइ दाइको इज्जतका लागि होला, छेलिन खोजेका थिए । तर, यशले बोलाएपछि उनी आए, यशका साथीहरूले बदाम किनेर खाए ।

अहिले यशका भाइ दुबईमा छन्, ग्राजुयन गरेकाले जागिर राम्रो छ ।

संगीतकारको रुपमा

संघर्षकै बीचमा यशले संगीत सिक्दै थिए । यहीबीचमा संगीतकार भएर ‘आस्था’ एल्बम निकाले, ०५५ सालमा । आस्थामा आनन्द कार्की, कुन्ती मोक्तान, सपनाश्री, रामकृष्ण ढकाल, यम बराल, दीपेशकिशोर भट्टराई, सञ्जय श्रेष्ठ, विवेक श्रेष्ठजस्ता नाम चलेका गायकको स्वर छ । आस्थालाई व्यवसायी रमेश खड्काले लगानी गरेका थिए । त्यसपछि यश र चन्द्र दोङको संगीतमा ‘यो संसार’ एल्बम गरे, ०५७ मा । एल्बममा आठ गीत थिए । ६ गीत नाम चलेका कलाकारले गाएका थिए ।

त्यसमा ‘मैले छोएको पानी चल्दैन’ र ‘यो मनले तिमीलाई नै रोजेको छ’ बोलका गीत पनि थिए । यी दुई गीत यशले अरुलाई नै गाउन दिन चाहन्थे । तर, कसैले गाउन मानेनन् । ‘छुवाछुतको गीतले समाजमा द्वन्द्व ल्याउन सक्छ भन्ने कुरा गर्नुभयो,’ यश भन्छन्, ‘त्यसपछि म आफैँ गाएँ । एल्बमको बी साइडमा राखेँ ।’

त्यतिबेला राम्रो गीत एल्बमको ए साइडमा र ठीकै खालका गीत बी साइडमा राखिन्थ्यो । एल्बमलाई धौलागिरिले बजारमा ल्यायो ।

यश कुमारको उदय

यो संसार एल्बमसम्म आइपुग्दा सुरेश कुमार यश कुमार भइसकेका थिएनन् । ‘यो संसार’को एउटा गीत अलिअलि चल्यो- बेहाल भयो जिन्दगी यो ।

यो गीतको भिडियो बनाउने कुरा भयो, डाइरेक्टर संगीता श्रेष्ठ थिइन् । भिडियोमा खेल्न केटा मोडल नपाएपछि संगीताले सुरेशलाई खेलाइन् । र, उनको नाम यश कुमार राख्ने प्रस्ताव गरिन् । त्यसपछि उनी यश कुमार भए ।

भिडियो गरिसकेपछि यो गीतले चर्चा कमायो । त्यसपछि यशको एकल स्वर, संगीतमा रिजन एल्बम निस्कियो ।

रिजनमा ‘तिम्रो मन बदलिए छ’, ‘म कैले हाँसेको थेँ’ जस्ता राम्रा गीत थिए । तर, रिजन निस्केको दुई-तीन दिनमै दरबार हत्याकाण्ड भयो । ६-७ महिना देश नै शोकमा डुबेको थियो, संगीतको व्यापार भएन ।

एउटा कोट लगाएको मान्छे

आशा गरेको एल्बम ‘रिजन’ले बजार नपाउने अवस्था आएपछि यश निराश भए । र, भीसीडीको पसल थापे, नयाँ बजारमा ।

एक दिन उनको पसलमा एकजना कोट लगाएका मानिस आए, यो ०५९ तिरको कुरा हो । उनले भने, ‘तिमीलाई एकल गायन प्रस्तुतिका लागि सिक्किम लैजान्छु ।’
नेपालमा यशको खासै नाम चलेको थिएन । सिक्किम लैजान्छु भन्दा उनले पत्याएनन् ।

उनले रिजनका एरेन्जर भूपेन्द्र बज्राचार्यलाई बोलाएर कुरा गरे ।

अफर गर्ने मानिस सिक्किमकै विजय थापा थिए । विजयले भने, ‘४० हजार भारतीय रुपैयाँ दिन्छु ।’ यश र भूपेन्द्रले मुखामुख गरे, नपत्याएर । यश भन्छन्, ‘नामै नचलेको गायकलाई एकैचोटि यति ठूलो रकममा प्रस्ताव आउँदा पत्याउनै मुस्किल पर्यो । त्यो जमानामा ४० हजार आईसी निकै ठूलो रकम थियो ।’

विजयले आनाकानी गरेजस्तो मानेछन् र भने, ‘४५ हजार दिन्छु, मान्नुस् ।’

त्यतिबेला नेपाली गीतका क्यासेट सिक्किम, दार्जिलिङतिर नेपालीभाषी माझ पुग्थ्यो । रिजनका दुई गीत ‘मैले छोएको पानी चल्दैन’ र ‘यो मनले तिमीलाई नै रोजेको छ’ दार्जिलिङतिर खुब मन पराइरहेको रहेछ ।

सिक्किम जानका लागि यशले २२ हजार भारतीय रुपैयाँ पेस्की पाए । त्यो पैसाले जीवनमा पहिलोपटक यशले महँगा कपडा किने, न्युरोड विशालबजारमा ।

सिलिगुडीमा आफ्नै एल्बम किन्दा

यश सिक्किम गए, जीवनमा पहिलोपटक पारिश्रमिक लिएर थुप्रै दर्शक-श्रोतामाझ गीत गाउन ।

उनीसँगै भूपेन्द्र बज्राचार्य पनि ब्यान्ड लिएर गए, भूपेन्द्रसँग छुट्टै डिल भएको थियो ।

सिलिगुडी पुग्दा गाडीमा प्लास्टिकको झोलामा खोलबिनाको क्यासेट राखेर कसैले दोहोर्याइरहेको थियो- यश कुमारको हिट गीत, १५ रुपैयाँमा ।

यश कुमार सम्झन्छन्, ‘भूपेन्द्र बज्राचार्यले भन्नुभयो- ए यश, तिम्रो एल्बम त १५ रुपैयाँमा बेचिरहेको छ त । अनि, मैले पनि १५ रुपैयाँ हालेर एउटा एल्बम किनेँ ।’

तर, त्यो बेच्ने मान्छेलाई थाहा भएन, यश कुमारले नै ऊसँग एल्बम किने भन्ने । किनभने, एल्बम खोलबिनाको थियो, खोल भएको भए कसैले खोलको फोटो हेरेर चिन्न सक्थ्यो ।

‘पुराना हिन्दी क्यासेटमा डब गरेर बेचिएको रहेछ, चोरीमा । पछि बजाउँदा राम्रोसँग बजेन,’ यश भन्छन् ।
हातले कोरेको आफ्नै चित्र देख्दा

गान्तोकको अग्रसेन भन्ने हलमा कार्यक्रम थियो । गाडीबाट ओर्लेपछि यशलाई बाजागाजासहित हलसम्म पुर्याइयो, अबिरजात्रा गरियो । गान्तोकवासीले यशलाई काँधमा बोके ।

हलको गेटमा ठूलो कपडामा यशको फोटो थियो, हातले कोरेको । साथी भूपेन्द्रले भने, ‘यश त्यहाँ हेर ।’ यशले हेरे । त्यहाँ लेखिएको थियो- हाम्रो सहरमा यश कुमार ।

थुप्रैले टिकट पाएका थिएनन् । टिकटका लागि झगडा भएछ । कार्यक्रम दुईपटक गर्ने भनेपछि झगडा साम्य भयो ।

यशले जीवनमा पहिलोपटक दर्शकमाझ गीत गाए । उनको हात काँपेको थियो । मुख सुकेको थियो । तर, उनले गाउनै परेन । यश भन्छन्, ‘जब गीतको ट्रयाक बज्थ्यो, दर्शकले आफैँ गाउनुहुन्थ्यो, हलै गुन्जिने गरी ।’

यशले त्यहाँ ‘मैले छोएको पानी चल्दैन’ चारचोटि गाए ।

कार्यक्रम सकेर यश सिक्मिकका गाउँ घुम्न गए । त्यहाँ उनले सुने- यशको एल्बम नभएको कुनै घरै छैन ।

Yes Kumar (2)

यश कुमार पूर्वबाट उदायो

यशको बस्तीमा प्रौढ शिक्षा पढाउने एक नारी थिइन्, बिनु काफ्ले । उनका डायरीमा कविता हुन्थे । एक दिन यशले बिनुलाई आग्रह गरे, ‘एउटा जातीय विभेद देखाउने खालको गीत लेख्नुस् । देशमा अझै पनि छुवाछुत हटेको छैन । म गीत बनाउने कोसिस गर्छु ।’

बिनुले लेखिन्- मैले छोएको पानी चल्दैन… ।

समाजमा मान्छेले मान्छेलाई छुवाछुत गथ्र्यो । तर, बिनुले लेखेको गीतमा पीडितले नै व्यंग्यस्वरुप भनेका छन्, ‘नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन ।’

यश भन्छन्, ‘यो गीत मानिसहरूलाई अनौठो भएछ । नेपालमा त प्रतिबन्धजस्तै थियो । कसैले बजाउँदैनथे । यो जातपातको गीतले द्वन्द्व गराउँछ भनेर । तर, त्यो गीत पूर्व सिक्किमबाट नेपाल पस्यो । घाम पूर्वबाट उदाउँछ भनेझैँ म पनि पूर्वबाटै उदाएँ । मान्छेको भीड भएको ठाउँ, बस, ट्याक्सी, होटलमा बजेको सुनिन्थ्यो । जनताले मन पराएपछि मिडियाले पनि अस्वीकार गर्न सकेन ।’

यशलाई देशभित्रै पनि कार्यक्रममा बोलाउन थालियो । काठमाडौं, पोखरा, धरान, बिर्तामोडमा गीत गाए । यसरी व्यस्त हुन थालेपछि भीसीडी पसल छाडे । र, तीर्खा एल्बमको तयारीमा लागे । ०६० मा निस्केको तीर्खाका म आफ्नै आँगनमा इनार बनाउँछु, हिजो अर्कैसँग देखेँ, धेरै वर्षपछि झरी पर्यो, भनेकै थिएँ बाटैमा घर छ, आनाकानी गछ्यौ किन लगायत सबै गीतलाई श्रोताले निकै मन पराए ।

०६२ मा तिमी एल्बम निकाले । यति बेला नेपाली संगीत क्षेत्र संक्रमणकालमा थियो । क्यासेटलाई सिडी, मेमोरी, इन्टरनेटले विस्थापित गर्न खोज्दै थियो । यहीबीचमा उनी विदेशका नेपालीमाझ आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर पाए । उनी अहिलेसम्म ३० जति देशका नेपालीमाझ सांगीतिक प्रस्तुति दिन गएका छन् ।

अन्तर्जातीय विवाह

यशले वागबजारकी रीना खड्गी शाहीसँग अन्तर्जातीय विवाह गरेका छन् । यश गायनमा संघर्षरत हुँदा बागबजारमा एल्बमको खोलका डिजाइन गर्न जान्थे । त्यही बेला उनको रीनासँग देखभेट र बोलचाल हुन्थ्यो । हुँदाहुँदै उनीहरू एक-अर्काको प्रेममा परे ।

रीना नेवार हुन, जात फरक भएकाले मागी विवाह सम्भव भएन, भागेर बिहे गरे ।

‘समाज नै त्यस्तै थियो, रीनाको परिवारको चाहना छोरीको बिहे जात मिल्नेसँग र राम्रो कमाई-पेसा भएकोसँग भइदिओस् भन्ने थियो । त्यो उहाँहरूको आफ्नी छोरीप्रतिको माया थियो,’ यश भन्छन्, ‘तर, म संघर्षरत थिएँ, कमाई थिएनँ । फेरि पनि हाम्रो माया साँचो थियो । संसारमै यस्तो सामाजिक लडाइँमा अन्तिममा मायाले नै जित्दो रैछ । त्यसैले भागेर बिहे गर्यौँ । अहिले छोरा १२ वर्षको भइसक्यो । म ससुरालीमा प्यारो ज्वाइँ भएको छु ।’

रीनाले स्नातक गरेकी छिन् । मैतीदेवीमा रिदम गोल्ड ट्रेड सेन्टर भनेर ज्वेलरी पसल चलाएकी छिन् ।

नयाँबजारमा पसल खोलेदेखि यश त्यहीँ भाडामा बस्थे । विवाह गरेर रीनालाई त्यहीँ राखे । सेलिब्रेटी भइसकेपछि पनि उनी बस्तीमा गइरहन्थे । त्यहाँ उनकी आमा र भाइ थिए । आमालाई उनले आफूसँगै नयाँ बजारको डेरामा लगेका त थिए । तर, फ्ल्याटको बसाइ आमालाई रमाइलो लागेन । किनभने, बस्तीमा उनका छिमेकी थिए, उनलाई यताउता डुलिरहनुपथ्र्यो । आमा धेरैजसो बस्तीकै डेरामा हुुन्थिन्, यश आमालाई भेट्न डेरामा गइरहन्थे । अहिले उनका आमाबुवा दुवै खसिसक्नुभो, फेरि पनि यश आफू हुर्केको बस्तीमा गइरहन्छन् ।

रेस्टुरेन्ट र बाटोमुनिको फूल

संगीत क्षेत्रमा राम्रो नभएका बेला निराश भए तर विदेश पलायन भएनन् । देशमै केही गरौँ भन्ने भावना प्रबल भयो । अझ उनलाई जातीय विभेदबारे गीत गाउने नशा लागेको थियो । किनभने, उनलाई त्यस्तै गीतले गायक यश कुमारको पहिचान दिएको थियो ।

त्यो नशाले छाडेन र नेपालमै अल्झन साथीहरूसँग मिलेर दरबारमार्ग गजल रेस्टुरेन्ट खोले- रिदम प्यालेस । संगीत क्षेत्रबाट कमाएको केही पैसा उनले रेस्टुरेन्टमा लगानी गरे ।

शुभचिन्तकहरूले गुनासो गर्न थालेछन्, यश कुमारले जातीय विभेदलाई गीत गाउन छाड्यो । त्यसैले उनले जातीय विभेदको अर्थ लाग्ने नामसहितको एल्बम सोचे- बाटोमुनिको फूल ।

तर, साथीहरूको सुझाव रह्यो- यो नाममा त एल्बमभन्दा उपन्यास, उपन्यासभन्दा फिल्म राम्रो बन्छ । अन्ततः यशले फिल्मका लागि कथा तयार पारे । साथीहरूसँग मिलेर फिल्म ‘बाटोमुनिको फूल’ बनाए । जसमा उनी आफैँ नायक छन् ।

फिल्म राम्रो बन्यो । गायनबाट ओझेल पर्न लागेका यशलाई उज्यालोमा ल्यायो । तर, ‘पाइरेसी’मा परेर फिल्मले राम्रो व्यापार गर्न पाएन ।

रेस्टुरेन्टबाट आएको अलिकति पैसाले यशले बालाजुमा जग्गा किनेका थिए । फिल्ममा घाटा भएपछि जग्गा बेच्नुपर्यो ।

अहिले यशले बाटोमुनिको फूल-२ लिएर आएका छन्, यो फिल्म वैशाख १० बाट प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा यशको कथा, पटकथा, संवाद र अभिनय रहेको छ ।

प्रस्तुति : ध्रुवसत्य परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?