Comments Add Comment

दिउँसै सपना देख्नेले सफलता पाउँछः बिनोद चौधरी

binod-chudhari
१६ असार, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ब्यवसाय गर्न र त्यसमा सफल हुन चाहनेले सपना देख्नुपर्ने बताएका छन् ।  नेटवर्किङका माध्यमबाट आफ्नो ब्यवसाय विस्तार गर्न चाहने उद्यमीहरुको भेलामा चौधरी भने-‘त्यस्तो सपना सुतेको बेलामा हैन, दिँउँसै देख्नु पर्छ ।’

होटेल याक एण्ड यतिमा बुधबार क्लक बी विजनेश इनोभेसनद्वारा आयोजित विजनेस नेटवर्किङ आवर्स इभेन्टमा सहभागी झण्डै ६ सय युवालाई गरेको सम्बोधनमा उनले आफ्नो ब्यवसाय विश्वभर विस्तार भएको बताउँदै पढेर मात्रै नभइ सपना देखेर ब्यवसायमा ब्यक्ति अगाडि बढ्न सक्ने बताए ।

अर्का युवा ब्यवसायी रंजित आचार्यले अरुभन्दा फरक रुपमा सोच्ने ‘पागल’ हरु नै ब्यवसायमा सफल हुन सक्ने बताए ।

‘काठमाडौंमा एफएम रेडियोको संख्या धेरै भएकाले सबै घाटाको ब्यापार गरिरहेका छन्’ उनले भने, ‘महिलामात्र सहभागी भएर, महिलाको मात्र कार्यक्रम बनाउने,  महिलामात्र संचालक भएको एफएम खोल्ने हो भने त्यस्तो एफएमको बजार काठमाडौंमा ठूलो छ ।’

त्यस अवसरमा ठमेल डटकमका बालकृष्ण जोशीले अनलाइनबाट खसी बेच्दादेखि अहिले अमेरिकाबाट रेमिटान्स भित्र्याउँदा सम्म आफूले भोगेको संघर्षको कथा सुनाएका थिए । त्यस्तै बाजेको सेकुवाका प्रमुख कार्यकारी चेतन भण्डारीले आफ्ना बाबुले सिनामंगलको चौरमा सेकुवा सेकेदेखि नेपालभर यसका आउटलेट खोल्दा सम्मको सफलताको कथा सहभागीलाई बाँडेका थिए ।

कार्यक्रममा भेन्चर क्यापिटलिस्टको आँखामा एउटा स्टार्ट अपमा केके गुण हुनुपर्छ भन्नेबारे सुस्मित ग्रुपका कार्यकारी अधिकृत सुशील पोखरेल, नेपालको लगानीको संभावनाबारे सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापा, स्टार्टअपमा गैरआवासीय नेपालीको लगानी समेट्न सकिनेबारे टिविआइ ग्रुपका प्रबन्ध निर्देशक शिषिर भट्टले प्रस्तुति दिएका थिए ।

कार्यक्रमा बृहद् इन्भेस्टमेन्टका ओम राजभण्डारी, बैंकर अनिलकेशरी शाहलगायतले ब्यवसायमा सफलता हातपार्न निरन्तरता, इमान्दारिता, नेटवर्किङको खाँचो औंल्याए ।

व्यापारिक सञ्जाल निर्माण गर्ने,  व्यापारिक समाजमा आफूलाई चिनाउने, नयाँ व्यापारिक अवसर प्राप्त गर्ने, आफ्ना आइडिया तथा ज्ञानलाई लगानीकर्ता माझ प्रस्तुत गर्ने अवसर दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लक बी विजनेस इन्नोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment