Comments Add Comment
उच्च हिमाली क्षेत्रको जोखिम-१ :

गौरीशंकरमा हिमालमा के हुँदैछ ? कोशी बेसिनका बासिन्दालाई थाहा होस् !

Koshi Besine 1
दोलखाको चरिकोटबाट देखिएको गौरीशङ्कर हिमाल र तामाकोशी नदी । तामाकोशी सप्तकोशीका ७ नदीमध्ये एक हो ।

पहिरो, भूकम्प, पग्लँदो हिमनदी तथा भयानक बाढीले नेपाल-तिब्बत सीमाना नजिक बस्ने मानिसहरूको जनजीवन अप्ठ्यारो बनाएको छ । तिब्बती सीमा नजिकै, नेपालको सिन्धुपाल्चोक जिल्लामा, झण्डै दुई वर्षअघि जुरेको वस्ती ध्वस्त पारेको पहिरोले छाडेको गेग्र्यानको थुप्रोमुनिबाट पानीको तीव्र प्रवाह निस्किन्छ।

Koshi Basine 2
रातो घेराभित्रको क्षेत्र कोशी बेसिन क्षेत्र हो

सन् २०१४ मा, जुरे पहिरोले पूरै गाउँ बगाइदियो । यसमा परेर १५६ जनाले ज्यान गुमाए । लोकमार्गको झण्डै २ किलोमिटर भाग भत्कियो र कैयौँ महिनाका लागि सडक यातायात अवरुद्ध भयो । अहिले पनि यहाँ केही लोकल बस र सुनकोशी नदीबाट ढुङ्गा बालुवा बोक्ने केही ट्रिपरहरू मात्र देखिन्छन् ।

Koshi 3
जुरे पहिरोको ढिस्कोमा बस कुर्दै एक स्थानीय

पहिरोको ढिस्को चढी माथि पुगेर तलतिर हेर्दा नागवेली परि बगिरहेको सुनकोशी देखिन्छ । यो नदीलाई तिब्बतमा पोइकु नामले चिनिन्छ, तल बग्दै जाँदा भोटेकोशीको नामले चिनिन्छ र अलि तलपुगेपछि यो सुनकोशीको रुफमा सप्तकोशीको एक सहायक नदीको रुपमा बग्दै नेपाल भारत सीमानामा पुग्छ ।

जुरे पहिरोपछि सुनकोशीले आफ्नो बाटो फेर्यो । पहिरोले नदी थुनिएर विशाल अस्थायी तलाउ बनेको थियो, जसले लोकमार्ग, दुईटा अग्ला भवनसहित सडक छेउका कैयौँ घरहरू र विद्युत प्रशारण टावर डुबाएको थियो । ७० वर्षे जीतबहादुर तामाङ पहिरो गएको भयङ्कर रातलाई यसरी सम्झिन्छन्, ँँमध्यरातमा लगातार बम पड्केको जस्तो ठूलो आवाज आयो । पूरै अँध्यारो थियो । पारिपट्टिबाट गाउँलेहरूले भाग भाग भनेर चिच्याउँदै थिए जस्तो लाग्छ, तर कहाँ जाने रु पहिरो भन्ने हामीलाई थाहा थिएन । धन्य, हामी सडकै सडक उत्तरतिर लाग्यौँ र अर्को गाउँतिर उकालो लाग्यौँ ।’’

पहिरोले आफ्ना थुप्रै नातागोता र गाउँलेहरूको ज्यान लिएपछि तामाङ बगरभन्दा केही माथि सानो झुपडीमा डरैडरमा बस्दै आएका छन् । पोहोर साल गएको भूकम्पले उनको जिन्दगीलाई झन् कठीन बनाइदियो । ‘जे बचेको छ, त्यसैसँग बस्नुबाहेक मेरो कुनै उपाय छैन, अब वर्षामा झन् गाह्रो होला,’’ बाँस काँट्न हँसिया उद्याउँदै गरेका तामाङले भने ।

पचासी प्रतिशत भूभाग हिमाल र पहाडले ओगटेको नेपालमा अक्सर पहिरो गैरहन्छ । नेपालमा हरेक वर्ष साना ठूला गरी औसत १२ हजार वटा पहिरो जाने गर्छन्, जसमा परेर ३ सय बढी मानिस मर्छन् ।

‘ठूला पहिराले नदी थुन्न सक्छन् । पहिले पनि यस्तो भएको छ, र जलवायु परिवर्तनका कारण अतिवृष्टि हुने प्रक्षेपण गरिएकाले यस्ता घटना भविष्यमा बढ्न सक्छन्,’’ त्रिभुवन विश्वविद्यालय, काठमाडौँको भूगोल विभागका प्राध्यापक नरेन्द्रराज खनालले भने ।

सक्नेले गाउँ छोडेका छन्, तर धेरैका लागि यो सम्भव छैन । पहिले व्यस्त रहने सडक सुनसान भएपछि, २२ वर्षे ड्राइभर लङ्क लामा बेरोजगार भएका छन् । पहिरो हटाएपछि व्यवसाय राम्रो हुँदै थियो, यत्तिकैमा भूकम्पले गर्दा चीनको सीमा नाका बन्द भयो । ँँम जस्तो दुःख पाएका सयौँ युवाहरू छन् गाउँघरमा । हाम्रो काम पनि छैन, जग्गा पनि छैन,’’ पहिरो र भूकम्पमा भाञ्जी र धेरै नातागोता एवं साथीहरू गुमाएका लामाले भने ।

कुनै समय नेपाल र चीन जोड्ने सबैभन्दा व्यस्त लोकमार्ग पहिरोपछि कैयौँ महिनाको लागि बन्द भयो । पहिरो हटाएर लोकमार्ग खुलेको केही दिनमै नेपालमा ठूलो भूइँचालो गयो, जसले गर्दा लोकमार्गमा थुप्रै पहिरो गए र लोकमार्ग फेरि बन्द भयो ।

भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि नेपाल सरकारको थुप्रै अनुरोधका बाबजुद चीनले पहिरोको उच्च जोखिमका कारण सीमानाका खोलेको छैन । बरु चीन सिन्धुपाल्चोकको पश्चिममा रहेको रसुवा जिल्लाको रसुवागढी नाका खोल्नमा लागेको छ । भलै यो क्षेत्रमा पनि भूकम्पले उत्तिकै क्षति पुर्याएको छ ।

चीनले नियोजित रुपमै सिन्धुपाल्चोकको सीमानाका नखोली नेपाललाई रसुवागढी हुँदै केरुङसम्म जोड्न खोजेको कतिपयको बुझाइ छ । केरुङलाई सन् २०२० सम्ममा गुङ्झाइ-तिब्बत रेल सञ्जालमा जोडिने लक्ष्य लिइएको छ । यद्यपि, चीन सरकारको यो बुझाइ गलत भएको र भौगर्भिक कारणले मात्र सिन्धुपाल्चोकको तातोपानी नाका नखोलिएको बताएको छ ।

Koshi 4
जुरे पहिरोले बनाएको बाँधका कारण पानीमुनि डुबेको घर र विजुलीको पोल

नेपालमा पहिलेदेखि नै पहिरो धेरै जाने गरेको भए पनि, विज्ञहरू पोहोरको भूकम्पपछि थप चिन्तित छन् । भूकम्पले ३ हजार भन्दा बढी पहिरोहरू गएको बताइएको छ । यसबाट कोशी बेसिनमा पनि नराम्रो प्रभाव परेको थियो । ४० प्रतिशत भूभाग समुद्री सतहदेखि ४ हजार मिटरमाथि रहेको र ३० प्रतिशत भूभाग एवं ३० डिग्रीभन्दा बढी भिरालो रहेको कोशी बेसिन भौगर्भिक हिसाबले देशकै सबैभन्दा नाजुक क्षेत्र हो ।

‘यहाँ ठूलो पहिरोको उच्च जोखिम रहेको छ । पहिरोलाई बुझ्न र यसबाट बच्न जटिल हुनाले समग्र पहिरोको जोखिम व्यवस्थापन योजनाको तत्काल आवश्यकता रहेको छ,’’ काठमाडौँमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र ९इसिमोड०का रिमोट सेन्सिङ् विशेषज्ञ देउराज गुरुङले भने ।

सरकार र स्थानीय समुदाय दुबैले पटक-पटक दिइएको चेतावनी बेवास्ता गरेकाले जुरे पहिरोमा त्यति धेरै मानवीय क्षति भएको विज्ञहरूको भनाइ छ । ँँत्यो क्षेत्रलाई २०३० को दशकदेखि नै उच्च जोखिमयुक्त क्षेत्र भनी पहिचान गरिएको थियो । २०७१ मा पूरै पहाड खस्नुअघि त्यही क्षेत्रमा थुप्रै चोटि साना-साना पहिरो गएका थिए, ’’ गुरुङले बताए ।

हिउँ कम, बाढी धेरै

यस्तो प्रभाव परेको सिन्धुपाल्चोकको जुरेमा मात्र होइन । सुनकोशी जस्ता नदी उत्पत्ती हुने हिमालहरूमा समस्या सुरु भैसकेको छ । बढ्दो तापक्रमले गर्दा हिमनदीहरू तीव्ररुपमा पग्लिरहेका विभिन्न अध्ययनहरूले देखाएका छन् ।

एक अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान टोलीले गत वर्ष सप्तकोशीको महत्वपूर्ण सहायक नदी दूधकोशी नदीमा रहेका हिमनदीहरूको पहिलो विस्तृत अध्ययन प्रकाशित गर्यो । दूधकोशी सगरमाथा क्षेत्र हुँदै बग्छ । ती वैज्ञानिकहरूले सगरमाथा क्षेत्रका सबैजसो हिमनदीहरू यो शताब्दीको अन्त्यसम्ममा सुक्ने सम्भावना रहेको चेतावनी दिएका छन् ।

हिमरेखाको उचाइ बढ्दै गएकाले हिमनदी पग्लने क्रममा वृद्धि र बरफ सञ्चयको मात्रा घटेको पनि वैज्ञानिकहरूले बताए ।

Koshi 5
विष्फोटको जोखिममा रहेको नेपालको रोलवालिङ् उपत्यकामा रहेका सुन्दर हिमतालहरू मध्येको एकः च्छो रोल्पा हिमताल । यो तस्वीर २०६७ बैशाख २७ मा लिइएको हो

च्छो रोल्पा हिमताल नेपालको हिमालय क्षेत्रमा विष्फोटको जोखिममा रहेका हिमतालहरू मध्ये अग्रणीमा पर्छ । इसिमोडका प्रदीप मूलका अनुसार, सन् १९६० देखि २०१० सम्ममा यो हिमताल ०।२३ वर्ग किलोमिटरबाट फैलिएर १।५३ वर्ग कलोमिटर पुगेको छ । यो शिघ्र फैलावटले विष्फोटको जोखिम वृद्धि गरेको छ ।

हिमताल विष्फोट भई बाढी आएमा तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति हुन सक्छ ।टोलीका मुख्य वैज्ञानिक जोसेफ शियाले यसलाई कुनै व्यक्तिगत ब्याङ्क खातासँग तुलना गरे । ‘वर्षभरिमा तपाईँले खातामा पैसा जम्मा  गर्नुहुन्छ र यसबाट खर्च पनि गर्नुहुन्छ । वर्षको अन्त्यमा, तपाईँले खर्च गरेको रकमभन्दा जम्मा गरेको रकम धेरै भयो भने तपाईँसँग धनात्मक निक्षेप सञ्चित हुन्छ । हिमनदीलाई पनि त्यसैगरि बुझ्न सकिन्छ । हिमनदीहरूको राश हिउँ परेपछि बढ्छ र पग्लेपछि घट्छ । वर्षभरिमा जम्मा भएको हिउँको राशबाट पग्लेको हिउँ घटाउँदा हिमराशीको ‘खुद सञ्चिती’ आउँछ ।’’

शेर्पाहरूलाई डर

सगरमाथा र हिमालयका अन्य अग्ला चुचुरा हेर्न नेपालमा हरेक वर्ष हजारौँ पर्यटकहरू आउने गर्छन् । तर, यी सुन्दर हिमचुचुराहरूमा हिउँ र बरफ नरहने हो भने कस्ता देखिएलान् ? यी हिमाल तल्लोतटीय क्षेत्रमा बस्ने लाखौँ मानिसका लागि पानीको, जीवन र जिविकोपार्जनको स्रोत समेत हो । सगरमाथा २१ पटक चढेका आप्पा शेर्पालाई यसैको चिन्ता छ । उनी हिमाल बचाउन विश्व समुदायलाई झक्झक्याउन चाहन्छन् ।

सुनकोशी किनारमा रहेको पाङ्ग्रेटारका ओभिध्वज कार्कीले १९८१ को बाढी देखेका थिए । त्यसपछिका समयमा गाउँलेहरूलाई यस्तो घटना फेरि हुन सक्ने चेतावनी धेरैचोटि दिइएको छ

सन् २०१२ मा संसारलाई यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव देखाउन उनले आफ्नो समूहसँग तीन महिनासम्म १६ सय किलोमिटर पदयात्रा गरे । ”सबैभन्दा चिन्ता लाग्ने कुरा चाहिँ हिमालमा  थोरै हिउँ सञ्चित भैरहेको छ, म सगरमाथा चढ्दा पनि यो महशुस गर्छु, यो सामान्य प्रक्रिया होइन,’’ उनले भने ।

फैलँदै हिमताल, बढ्दै जोखिम

हामीले हिमताल फुटेर आउने बाढीको जोखिम उच्च रहेको भनी पहिचान गरिएको सुनकोशी नदीको किनारै किनार यात्रा गर्यौँ ।
इसिमोडका अनुसार, नेपालका हिमालमा रेकर्ड गरिएका हिमताल फुटेर बाढी आएका २४ प्रकोपमध्ये, तीन ध्वंशात्मकसहित, १६ वटा कोशी बेसिनमा भएका थिए।

सुनकोशीको उद्गम विन्दु तिब्बतमा रहेको पोइकु नदीको झाङ्जाम्बु हिमताल हो । सन् १९८१ मा यो ताल फुट्यो । एक घण्टामा १ करोड ९० लाख घन मिटर पानी प्रवाह भई आएको बाढीले कैयौँ घर ध्वस्त भए, र १२ वटा पुल, २७ किलोमिटर सडक र सुनकोशी जलविद्युत बाँधको एउटा गेट भत्कियो ।

सुनकोशी किनारमा रहेको पाङ्ग्रेटारका ओभिध्वज कार्कीले १९८१ को बाढी देखेका थिए । त्यसपछिका समयमा गाउँलेहरूलाई यस्तो घटना फेरि हुन सक्ने चेतावनी धेरैचोटि दिइएको छ ।

हिमतालहरू उच्च हिमाली भेगमा हुन्छन् । तर, हिउँ पग्लाइको गति बढेसँगै यी तालहरू तीव्र रुपमा फैलिरहेका हुनाले गाउँवस्ती र खेतहरू बग्ने जोखिम बढ्दै गएको अनुसन्धानकर्ताहरू बताउँछन् ।

“माथि हिमालमा के भैरहेको छ, हामीलाई थाहा छैन, तर पछिल्ला केही दशकहरूमा बाढीले गर्दा हामीले धेरै धानखेत गुमाइसक्यौँ,’’ कार्कीले भने ।

नेपालका हिमताल

हिमताल फुटेर आउने बाढी अक्सर ध्वंशात्मक हुन्छन् र यसको पूर्वानुमान गर्न सकिँदैन । तर क्षति कम गर्न सकिन्छ । ‘एउटा उपाय भनेको तल्लो तटीय क्षेत्रका मानिसलाई सचेत गराउन पूर्वजानकारी प्रणाली जडान गर्ने हो । तर, दीर्घकालीन समाधानचाहिँ बाढी आउने सम्भावना भएको क्षेत्रमा बस्ती बसाउन हतोत्साहित गरी समुदायलाई सुरक्षित स्थानमा पुनर्वास गराउनु नै हो,’’ यस क्षेत्रमा वृहत अनुसन्धान गरेका नरेन्द्र खनाल भन्छन् ।

मौसम विज्ञान विभागले केही किलोमिटर माथि बाह्रबिसेमा नदीको सतह सामान्यभन्दा बढी देखिएमा तल्लो तटमा बस्ने समुदायहरूलाई सचेत गराउने भनी नदीको सतह नाप्न खम्बा गाडेको छ

कार्कीलाई जोखिमका बारेमा थाहा भए पनि यसरी नै बस्नुको विकल्प छैन । “परिवार पाल्ने अर्को कुनै उपाय नभएकाले म यो ठाउँ छोडेर जान सक्दिँन ।’’ सरकारले जोखिम घटाउन केही कदम चालेको छ, तर यो पर्याप्त छैन । जल तथा मौसम विज्ञान विभागले केही किलोमिटर माथि बाह्रबिसेमा नदीको सतह सामान्यभन्दा बढी देखिएमा तल्लो तटमा बस्ने समुदायहरूलाई सचेत गराउने भनी नदीको सतह नाप्न खम्बा गाडेको छ ।तर, हामी त्यो ठाउँमा पुग्दा उक्त खम्बा विरुप अवस्थामा थियो र राम्ररी मर्मत सम्भार समेत गरिएको थिएन ।

रमेश भुसाल (द थर्ड पोल डट नेटका नेपाल सम्पादक)  र नवीन बराल (फोटोग्राफर) ले कोशी नदीका विभिन्न सहायक नदीहरूको तटै-तट तिब्बती सीमानादेखि भारतीय सिमानासम्म यात्रा सम्पन्न गरेका छन् । लामो यात्रापछि लेखिएको यो लेख थर्ड पोलबाट लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment