Comments Add Comment

खेम दाइलाई गाउन लगाउने धोको पुरा भएन: राजनराज शिवाकोटी

rajanrajतेर्सो त हिड्न सजिलो कसरी काटौं उकाली

मै मोरी गए को होला सम्हालिदिने घरबारी…

खेमराज गुरुङको स्वरमा रेकर्ड भएको आफ्नै गीत झल्झली सम्झिरहेछन् संगीतकार राजनराज शिवाकोटी । जतिवेला राजनराज दोलखामै बसेर संगीत सिर्जना गर्दै थिए । खेमराज गुरुङको वारी जमुना पारि जमुना…ले बजार पिटेको थियो । राजनराजले क्यासेट किनेर गीत सुनेका थिए । खेमराज गुरुङको स्वरवाट प्रभावित राजनराज सोच्थे ‘म पनि यस्तै मौलिक गीत बनाउँछु’ ।

रेडियो नेपालका नवराज गुरुङसँग उनको राम्रो चिनाजानी थियो । नवराजले फोन गरेर भने ‘राजन जी मलाई तपाईको एउटा गीत चाहियो’ ।

राजनराजले कसले गाउने केहि सोधेनन् । ‘हिँडन सजिलो कसरी काटौं उकाली… बोलको गीत दिएर पठाए ।

पछि गीत आयो खेमराज गुरुङको स्वरमा । उनको गीतमा खेमराजको स्वर भर्ने मेसो उनै नवराज गुरुङले मिलाएका थिए ।

राजनराज आफ्नै काममा ब्यस्त भए । खेमराज पनि आफ्नै संसारमा थिए । कार्यक्रमतीर हाइहेलो भएपनि औपचारिक चिनजान गरेनन् ।

अहिले युट्युबमा करोड क्रस गरेको सुर्के थैलि हिट भइसकेको थियो । राजनराज काली काली गोरी ….बोलको गीतको भर्जिन स्टुडियोमा रेकडिङका लागि गए ।

स्टुडियोमा पुग्दा खेमराज गुरुङ बसिरहेका रहेछन् । उनलाई देख्ने बित्तिकै खेमराज जुरुक्क उठे र हक गर्दै भने ‘राजनभाई सारै राम्रो गीत बनायौ तिमीलाई बधाई छ’ ।

राजनराज भन्छन् ‘मैले सोचेकै थिइन् खेमदाइलाई मेरो सुर्केथैली यति मन परेको छ भनेर’ ।

त्यही विचमा पुरानो गीत गाएको पनि कुरा गरे । खेमराजले उनलाई भने ‘भाई मैले तपाइको एउटा गीत गाएको छु तर, अति चित्त बुझेको छैन । रिरेकर्डिङ गर्नुपर्छ’  ।

स्टुडियोमा काम हुँदै गर्दा आधा घण्टा बात मारे खेमराज र राजनराजले । त्यही विचमा खेमराजले अर्को पनि प्रस्ताव राखे ‘मलाई भाईको संगीतमा एउटा गीत गाउन मन लागेको छ । मेरो लागि एउटा गीत बनाउनुस्’ ।

त्यसपछि छुट्टिएका राजनराज र खेमराजको कहिल्यै भेट भएन । एक्कासी सामाजिक सञ्जालमा गायक गुरुङको मृत्यको खबर सुने । ‘सार्‍है नरमाइलो लागेको छ’ अनलाइनखबरसँग कुरा गर्दै राजनराजले भने । उनले गुरुङकै लागि भनेर पूर्वेली शैलिका तिनवटा गीत तयार पारेका थिए ।

राजनराज भन्छन् ‘फुर्सदमा सुनाउला भन्दै थिँए । मेरो ट्युनिङ सुन्नै नपाई खेम दाईले संसारवाट विदा लिनु भयो । दर्जनौ चर्चित गीतका सर्जक गुरुङको बिहिबार उपचारको क्रममा ४२ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment