Comments Add Comment

नेपाली गजल लेखनः मानक मान्न सकिन्न मोतीरामलाई

सन्दर्भः मोती जयन्ती

गजलले उर्दू भाषामा सबैभन्दा उच्च स्थान प्राप्त गरेको छ । त्यहाँ गजललाई सबैभन्दा अप्ठेरो विधा मानिन्छ । साहित्यका अरु सबै विधा लेखेर पोख्त भइसकेको र राम्रो सिर्जना शिल्प बुझेको मान्छेले मात्रै गजल लेख्न सक्छ भन्ने मान्यता छ । उत्कृष्ट कवि मात्र गजलकार बन्न सक्छ भन्ने धारणा छ ।

Sanat-Kumar-Wastiहाम्रो नेपालमा चाहिँ ठ्याक्कै उल्टो छ । जो केही पनि जान्दैन, उसले गजल त म पनि यसो लेख्छु भन्छ । यसरी हेर्ने हो भने नेपालमा गजल लेख्न नजान्ने मान्छे नै भेटिँदैन । नबुझेर नै गजल सबैले लेख्ने गरेका छन् । तर, गजल त्यति सस्तो कुरा होइन ।

मान्छेले के बुझे भने रदिफ र काफिया मिलायो, अन्तिममा तुकबन्दी हुन्छ, यसो टुक्राटाक्री जोडेपछि गजल हुने रहेछ । फेरि एउटा शेर दुई पंक्तिमै सकिन्छ, जम्मा दसवटा पंक्ति लेख्यो भने त गजल भइहाल्छ । त्योभन्दा सजिलो खेती नै केही भएन । हामीले अत्यन्तै सतही रुपमा गजललाई बुझ्यौं । जीवनको गहिरो अनुभव, अभिव्यक्तिको रचना शिल्प, प्रस्तुतिकरणको कला नजानीकन गजल बन्दैन ।

साहित्यका अरु विधामा कलम चलाउनेहरूले गजल लेख्नेहरूलाई अलिक उपेक्षाको दृष्टिले हेर्ने प्रवृत्ति छ । यसलाई म अत्यन्त स्वाभाविक मान्छु । किनभने गजल भनेर लागे पनि अधिकांशले गतिला गजल लेखेकै छैनन् ।

कयौं वर्षको साधना गरेर साहित्यमा उँचाइ प्राप्त गरेकाहरू एकातिर छन्, कोही दुई दिनदेखि कस्सिएर मैले आज राति लेखेको ताजा गजल भन्दै साहित्यकारको लर्कोमा बस्न चाहान्छ भने उसले उपेक्षा पाउनु अन्यथा होइन । गजललाई गहिराइमा बुझ्न नसक्नुको प्रतिफल हो यो ।

गजल के हो ?

गजलमा तीनवटा वर्ण छन् । ग भनेको गम्भीरता, ज भनेको जीवन्तता र ल भनेको लयात्मकता । मैले यसरी व्याख्या गरेको छु । गजलका बादशाह उर्दू साहित्यका गालिबले लेखेका छन् –

हवस को है नशात-ए-कार क्या
न हो मरना तो जीने का मजा क्या

बजा-ए जां है गालिब उस की हर बात
इबारत क्या इशारत क्या अदा क्या

यो गजलमा इबारत, इशारत र अदा भनेर तीनवटा तत्वको चर्चा गरिएको छ । यसलाई गजलका मर्मज्ञहरूले गालिबले गजलको स्वरूपलाई निर्धारण गरेको हो भनेका छन् ।

इबारत भनेको बयान गर्ने शैली, इशारत भनेको इशारा गर्ने तरिका र अदा भनेको अभिव्यक्ति गर्ने शिल्प । इबारत अर्थात् वर्णन शैली अन्तर्गत गजलमा भनिने कुरा वर्णनात्मक नभई सूत्रात्मक र सांकेतिक हुन्छ ।

इशारत भनेको सोझै नभनी विम्ब र प्रतीकबाट भनिन्छ । विम्ब र प्रतीक नभईकन सोझै भनिएको कुरा गजल हुँदैन । दुई पंक्तिभित्र सारा संसार अटाउनुपर्ने र अभिव्यक्तिको गहिराइलाई व्यक्त गर्नुपर्ने हुन्छ ।

तेस्रो, अदा अर्थात् शैली हो । संरचनाको शैली, जसमा लयात्मकता हुन्छ । त्यो कुनै बहर वा छन्दमा आधारित हुन्छ, त्यसमा रदिफ, काफिया र आफ्नै लय हुन्छ । गजल मूलतः गाउनका लागि लेखिएको रचना हो । त्यसैले गेयात्मकता त्यसको गुण हो । यिनै तीनवटा गुण भएका गजल उत्कृष्ट हुन्छन् ।

गजलमा जुन गम्भीरता, जीवन्तता र लयात्मकता हुनुपर्ने हो, ती तत्वहरूको बारेमा अनभिज्ञ भएका मान्छेहरूले पनि टुक्राटाक्री जोडेर, तुकबन्दी मिलाएर, रदिफ, काफिया राखेर एउटा फम्र्याट मिलाउने गर्छन् । तर, फम्र्याट मिलाउँदैमा गजल बन्दैन ।

बुद्ध जस्तो पलेँटी कस्दैमा, पहिरन लगाउँदैमा सबै जना बुद्ध बन्दैनन् । बुद्ध त हृदयको शुद्धताबाट मात्रै भइन्छ । नेपालमा गजलको संरचना र स्वरूप चाहिँ आएको छ । तर, गजलको मर्म, गहिराइ र हृदयस्पर्शिता चाहिँ आउन बाँकी नै छ ।

को बाट सिक्ने ? मानक कोही छैन

मैले जानेसम्म नेपाली समाजले गजललाई निकै गहिरोसँग रुचि राखेर अध्ययन गरिरहेको छ । आयातीत विधा भए पनि स्वीकृति दिएको र लोकपि्रय पनि बनेको छ । तर, गजलले आफ्नो पूर्ण मर्यादा, गम्भीर व्यक्तित्व, उँचाइ, आत्माको गहिराइ अझै पाउन सकेको छैन जस्तो लाग्छ ।

मूलतः एउटै समस्या छ गजल र हाम्रो सिंगो साहित्यमा । हामीकहाँ गुरु-शिष्यको परम्परा छैन । गजल भनेको आफैं जानिने कुरा होइन । गजल रचना गर्न पहिलो त असल श्रोता र संवेदनशील मानिस हुनुपर्छ । पहिले जीवनकै अनुभूति गहिरोसँग भएको हुनुपर्‍यो । त्यसपछि साहित्यको साधना गरेर त्यो अनुभूतिलाई राम्रो ढंगले अभिव्यक्त गर्ने सीप पनि हुनुपर्‍यो ।

यसका लागि जरुरी छ – आफूभन्दा अघिका राम्रा रचनाकारको रचना पढ्ने, सुन्ने, त्यसलाई आत्मसात् गर्ने र त्यस्तै गुणवत्ता आफूमा पनि आओस् भनेर साधना गर्ने । तर, हाम्रोमा त को सित बसेर सिक्ने, कसको हेरेर साधना गर्ने भन्ने नै समस्या छ । किनभने मानक गजल रचना गर्नेहरू नै कम छन् । दुई जना चार जना भेट्न पनि मुश्किल होला । जो असली साधक हुन्छन्, उनीहरु चुपचाप बसेका हुन्छन् ।

नेपालमा गजल भित्र्याउने मोतीराम भट्टलाई पनि हामीले मानक मान्ने अवस्था छैन । किनभने उनको युगमा त नेपाली गजल सुरुवाती अवस्थामा थियो । मोतीरामले जम्मा २२ वटा गजल रचना गरेका छन् । तिनीहरू पर्फ]{ट र राम्रा थोरै छन् । हिन्दी र उर्दूका गजल सुनेर, पढेर सिकेपछि लेखिएका ती गजल एउटा फम्र्याटमा बाँधिएका थिए ।

अन्त्यमा

हामीकहाँ गजल लेख्ने भनिन्छ । गजल लेख्ने भन्दै धडाधड लागिन्छ । तर, गजल लेख्ने विधा होइन । गजलले जुन उर्दू भाषामा उँचाइ प्राप्त गर्‍यो, त्यहाँ गजल शब्दसँग लेख्नु क्रियापद कहिल्यै जोडिँदैन । गजल केहना, गुनगुनाना, सुनाना भनिन्छ । गजल लेख्ने, छाप्ने, पढ्ने कुनै पत्रिकाको समाचार होइन ।

नेपालमा गजलको नाममा जे चलेको छ, त्यसले गजललाई नै गिज्याएको अवस्था छ । तर, सुरुसुरुमा सिक्दा यस्तै हुन्छ, बिस्तारै यो परिष्कार हुँदै जाँदै पनि छ । धेरै राम्रो रचना पनि आउँदै छन् ।

नेपाली गजल राम्रा पनि लेखिएका छन् । तर, ती थोरै छन् । अत्यन्तै संवेदनशील सर्जकले धेरै आराधना र उपासना गरेर राम्रा-राम्रा गजल रचना गरेका छन् । तर, केही नबुझी गजल लेख्नेहरूको र तिनका रचनाको यति ठूलो भिड छ, त्यो भिडमा राम्रो कुरा कता हराउँछ-हराउँछ ।

कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment