+
+
Shares

हुलाकी मार्ग निर्माणमा भारतसँग नयाँ सहमति, ६ सडकखण्ड स्वदेशी लगानीमा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २१ गते २०:२९

Hulaki-Rajmarga

२१ भदौ, काठमाडौं । निर्माणाधीन हुलाकी मार्गको काम भदौ महिनाबाट सुरु हुने गरी भारतीय पक्षसँग नयाँ सहमति भएको छ । सहमति अनुसार अति महत्वपूर्ण ६ वटा सडक खण्डको काम नेपाल सरकार आफैले सुरु गर्ने छ । बाँकी ११ सडकखण्ड भने भारतीय सहयोगमा निर्माण हुनेछ ।

नेपाल र भारतबीच २०६६ सालमा हुलाकीमार्ग निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै बिचमै काम रोकेको थियो ।

‘पछिल्लो समय दुई देशका अधिकारीबीच भएको छलफलबाट सडक निर्माणमा नयाँ सहमति भएको छ र अब सबै अवरोध हटेको छ,’ हुलाकी राजमार्ग आयोजनाका निर्देशक बलराम मिश्रले अनलाइनखबरसँग भने ।

पूर्व-पश्चिम राजमार्गबाट भारतीय सीमासम्म जोड्ने ३२ वटा सडक र पुरानो हुलाकी सडक गरी करिब १८ सय किलोमिटर लामो सडक निर्माण र स्तरोन्नतिको काम आयोजना अन्तर्गत छ ।

उक्त सडक निर्माणका लागि भारत सरकारले ८ अर्ब रुपैयाँ दिने सहमति भएको थियो । भारतीय सहयोग रकम अपुग हुने भएपछि नेपाल सरकारले ५ अर्ब रुपैयाँ लगानी गरेर ६ सडकखण्डको काम आफै गर्न लागेको हो ।

नेपाल सरकारको लगानीमा अति महत्वपूर्ण ६ वटा सडक खण्डको काम आफैं सुरु गर्ने गरी भारतीय पक्षसँग सहमति भएको मिश्रले जानकारी दिए । सहमति भएसँगै अब आयोजना अन्तर्गतको २ सय ७ किलोमिटर सडक निर्माणमा कुनै अवरोध नरहेको उनले बताए ।

नेपाल सरकारको खर्चमा चारआली-केचना, नेपालगञ्ज-बखडा र भुरीगाउँ-गौलोरी सडक निर्माण हुने छ । यो काम दशैंपछि सुरु हुने निर्देशक मिश्रले बताए ।

६ वटा सडकखण्ड बाहेक ११ वटा सडकखण्ड भने भारतीय सहयोगमा नै निर्माण हुनेछ । जसमा आयोजनाले यही भदौ महिनाभित्र जनकपुर-जलेश्वर-भिट्टामोड, नवलपुर-मलंगवा, नयाँरोड मधुवनी सर्लाही र चारआली-केचना झापा अन्तर्गतका दुई वटाखण्डमध्ये एक खण्डको निर्माण कार्य सुरु गर्ने सहमति भएको छ ।

भारतसँग भएको सहमति पत्रमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला औपचारिक हस्ताक्षर हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?