स्यामुएललाई त रङहरूसँग खेल्न मन पर्छ । मान्छेको चाइँचुइँसम्म पनि नसुनिने निर्जन नदी किनारलाई अबेरसम्म हेर्न मन लाग्छ । साँझसँगै निलोपना थपिइरहेको पहाड हेर्न मन लाग्छ । मनभित्र पाकेका प्रभावहरूलाई क्यानभासमा पस्किन मन लाग्छ । उसको यो कला चानचुने क्षमता होइन । तर पनि समाजको नजरमा ऊ असफल छ । घरको नजरमा असफल छ । मुख्य कुरा त, ऊ आफ्नै नजरमा असफल छ।
स्यामुएल कक्षा १० को परीक्षामा दुई पटक फेल भइसकेको छ । उसको मिहिनेत त अथक नै छ, तर उसलाई आफ्नो मिहिनेतप्रति पटक्कै आत्मविश्वास छैन । सम्मुखमा उभिएको छ । उसको मनमा चरम तनाव छ । एउटा उकुसमुकुस र उच्चाटलाग्दो अन्तर्द्वन्द्व छ, जसले धमिलिँदै गएको भविष्यको अनुभूतिलाई झन् गाढा बनाइदिएको छ ।
रित्तिएको मानिसले आफूभित्र आत्मबल आमन्त्रण गर्न कस्ता-कस्ता प्रयास गर्छ, त्यसको सजीव उदाहरण हो स्यामुएल । एकदिन उसले नजिकैको किराना पसलबाट एउटा साधारण डटपेन किन्छ । पेन साधारण छ, शायद साधारणमै सीमित नरहोस् भनेर स्यामुएलले टिपेक्सको सहायताले त्यसमा एउटा मुस्कुराइरहेको चिह्न बनाइदिन्छ।

तर यही साधारण पेनले स्यामुएललाई एउटा नयाँ सम्भावनाको क्षितिजतिर पथप्रदर्शन गरिदिन्छ, जहाँ उ आफ्नै चित्रकारितामा रमाएर पनि सफल जीवन बाँच्न सक्छ। समाज र परिवारले पहिल्याउन नसकेको सम्भावना र निभाउन नसकेको उत्तरदायित्व त्यो निर्जीव पेनले पूरा गरिदिन्छ । यसले समाज र परिवारको परम्परागत भूमिकामाथि नै गम्भीर प्रश्न उठाइदिन्छ ।
आजको प्रतिस्पर्धी युगमा केवल अङ्क र प्रमाणपत्रलाई नै जीवनको एकमात्र सफलता मान्ने सामाजिक चेतनालाई यस फिल्मले बलियो चुनौती दिएको छ । दक्षिण एसियाली समाजमा शिक्षालाई ज्ञानआर्जनभन्दा पनि प्रतिष्ठा कमाउने भर्याङका रूपमा हेरिन्छ । यही प्रवृत्तिका कारण विद्यार्थीहरू कसरी यन्त्रवत् बन्न बाध्य हुन्छन् भन्ने यथार्थलाई फिल्मले देखाएको छ ।
निर्देशक जोराम जोनाले कथाको केन्द्रमा ‘फ्यान्टासी’ तत्त्वको प्रयोग गरेर निराशाको भुमरीमा परेका विद्यार्थीहरूको तीतो यथार्थलाई पर्दामा उतारेका छन्, जसले दर्शकलाई गम्भीरता र उकुसमुकुसको अनुभूति गराउँछ ।
पात्रहरूको चरित्र चित्रणका हिसाबले स्यामुएलको भूमिकाले आजका लाखौँ पीडित विद्यार्थीहरूको दुरुस्त प्रतिनिधित्व गरेको छ । उनको हाउभाउ, आँखामा देखिने डर र काँपिरहेका हातहरूले उनको भित्री तनावलाई पर्दामा जीवन्त रूपमा प्रस्तुत गरेका छन् । चरम निराशाबाट सुरु भएको उनको यात्रा आत्म-स्वीकृति र कलात्मक स्वतन्त्रतामा पुगेर टुङ्गिने हुँदा चरित्रको विकास सुन्दर ढङ्गले गरिएको छ।

अर्कोतर्फ, जादुई कलम ‘म्याक्स’ वास्तवमा स्यामुएलकै अन्तरआत्माको आवाज वा हराएको आत्मबल र आशाको प्रतीक हो; जसले अन्धकारमा पनि एउटा सानो किरणले जीवन बचाउन सक्छ भन्ने प्रमाणित गर्छ । फिल्ममा आमाबुबालाई परम्परागत खलनायकका रूपमा नदेखाइ आफ्नै किसिमले छोराको भविष्यप्रति चिन्तित अभिभावकका रूपमा प्रस्तुत गरिएको छ । तर उनीहरूको त्यही अन्धो चिन्ता कसरी छोराका लागि मानसिक सास्ती बन्न पुग्छ भन्ने कुरा निर्देशकले सूक्ष्म रूपमा देखाएका छन् ।
यस फिल्मको सबैभन्दा बलियो पक्ष नै यसले उठाएको मानसिक स्वास्थ्य र विद्यार्थी आत्महत्याजस्तो अति संवेदनशील मुद्दा हो । विद्यार्थीहरू डिप्रेसनमा पर्दा कसरी नितान्त एक्लो महसुस गर्छन् र कसरी एउटा सानो नकारात्मक टिप्पणीले उनीहरूलाई आत्मघाती निर्णय लिन बाध्य पार्छ भन्ने कुरालाई यसले उजागर गरेको छ । यसले समाजमा व्याप्त मानसिक स्वास्थ्यसम्बन्धी भ्रमहरूलाई चिर्ने काम पनि गरेको छ ।

प्राविधिक पक्षको कुरा गर्दा जोराम जोनाको निर्देशनले छोटो समयमै दर्शकलाई पात्रसँग भावनात्मक रूपमा जोडेको छ । सिनेमाटोग्राफी पनि उत्तिकै तारिफयोग्य छ । जहाँ स्यामुएलको डिप्रेसन दर्शाउन ‘लो-की लाइटिङ’ को प्रयोग गरेर उनको मानसिक अन्धकार देखाइएको छ । उसले कलामा खुसी भेटेपछि भने दृश्यहरू उज्यालो र जीवन्त बन्दै जान्छन् ।
पार्श्व सङ्गीतले कथाको भावनालाई अझ प्रगाढ बनाएको छ । विशेष गरी आत्महत्याको प्रयास गर्ने दृश्य र कलमले पहिलो पटक सन्देश लेख्ने दृश्यमा प्रयोग गरिएको ध्वनिले दर्शकमा कौतूहल र उकुसमुकुस पैदा गर्छ।
यद्यपि, सर्ट फिल्म भएकाले स्यामुएलको डिप्रेसनको गहिराइलाई स्थापित गर्न अझ बढी समय दिन सकिने ठाउँ भने बाँकी नै देखिन्छ । साथै, केही दर्शकका लागि जादुई कलमको अवधारणा अलि बढी काल्पनिक लाग्न सक्छ ।
प्रतिक्रिया 4