Comments Add Comment

कलाका कुरामा रञ्जितको अनुभव

Kg-Ranjit

काठमाडौं । ‘सानोमा अरु कसैले बनाएका चित्रको हप्तौंसम्म कपी गर्थेँ । दुरुस्तै बनाउन कोसिस गर्थेँ,’ दृश्य चित्रकारको परिचय पाएका ८४ वर्षीय केजी रञ्जित बुधबार ललितपुरको बखुण्डोलमा आफ्नो कलाकारिता यात्राबारे सुनाउँदै थिए ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गरेको ‘कलाका कुरा’ को ११औं शृंखलामा रञ्जित कलाप्रेमी र कलाकारहरूको माझमा घेरिएका थिए । अग्रज कलाकारलाई सहजीकरण गरिरहेका थिए युवा कलाकार देवेन्द्र थुम्केलीले ।

हिमाली क्षेत्रको हवाई यात्रा गर्ने अवसर पाएका रञ्जितले त्यसै क्रममा हिमशृंखलाको चित्र बनाउन थालेका रहेछन् । कलाकारको रुपमा उनले तत्कालीन रोयल नेपाल वायुसेवा निगममा तीन दशक जागिर खाए । त्यस क्रममा तीन महिनासम्म माउन्टेन फ्लाइट गर्ने अवसर पाए । निगमको योजना थियो, नेपाललाई चिनाउने हिमाली दृश्यसहितको परिचय पुस्तिका निकाल्ने । माउन्टेन फ्लाइटपछि उनले हिमाली दृश्यलाई धमाधम चित्रमा उतारे ।

त्यसो त माछापुच्छ्रेको काखमा रहेको सुन्दर नगरी पोखरामा जन्मेका कलाकार रञ्जित हिमालसाग सानैदेखि नजिक थिए । तर, प्रोजेक्टकै रुपमा हिमचुचुराहरुको चित्र उतार्ने काम आएपछि उनले हिमालसँग निकट साइनो जोड्दै गए ।

चित्रका सबै आयाम र पक्षमा आफूलाई उभ्याएको बताउँदै रञ्जितले यथार्थवादीदेखि अमूर्त कलासम्म रचना गरेको सुनाए । चित्रका साथै मूर्ति समेत बनाएका उनले कलाकारको भावलाई जीवनसाग जोड्दै भने, ‘जीवन पनि रंगीन क्यानभास हो, म सधैं यसमा रमाउने कोसिस गरिरहेको हुन्छु ।’

अहिले पनि कलामै सक्रिय रञ्जितले आफूलाई चाहिने ब्रस, नाइफ तथा अन्य सामग्री आफैंले तयार पारी काम गर्ने गरेको बताए । नेपालका साथै विभिन्न देशमा कला प्रदर्शनीमा सहभागी भएका उनले धुवाँबाट समेत क्यानभासमा चित्र बनाएका छन् ।

कार्यक्रममा नेपाल ललितकला समीक्षक समाजका अध्यक्ष रमेश खनाल र ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले रञ्जितका कला र त्यसमा देखिने शैलीका बारेमा टिप्पणी गरेका थिए ।

 

तस्वीर सौजन्य : दिवेश प्रधान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment