Comments Add Comment

बैंकहरूको ७० प्रतिशत लगानी अनुत्पादक क्षेत्रमा, साना निक्षेपलाई कम ब्याजदर

राष्ट्र बैंक भन्छ- ब्याजदर बढाऊ, कर्जा लगानीयोग्य पुँजी जुटाऊ

१६ माघ, काठमाडौं । बैंकहरुले सेयर, ओभरड्राफ्ट, घरजग्गा जस्ता क्षेत्रमा आफ्नो कुल कर्जा लगानीको ७० प्रतिशतसम्म कर्जा विस्तार गरेका छन् । राष्ट्र बैंकका अनुसार यो अनुत्पादक क्षेत्रमा गरिएको लगानी हो । यसरी अनुत्पादक क्षेत्रमा बैंकहरुको लगानी बढेकोमा राष्ट्र बैंकले चिन्ता व्यक्त गरेकाे छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाश(पुस) सम्म वित्तीय विवरण प्रकाशित गरेका १० वाणिज्य बैंकले यस्तो क्षेत्रमा आफ्नो कुल कर्जाको ४८ देखि ७० प्रतिशतसम्म लगानी गरेको देखिएको छ ।

बैंकहरुले निजी क्षेत्रतर्फको कर्जा लक्ष्यभन्दा बढी अर्थात् ३०.४ प्रतिशत प्रवाह गरिसकेको र अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा बिस्तार जोखिमपूर्ण हुन सक्ने राष्ट्र बैंकले भन्दै आएको छ ।

यता ०७३ साल पुससम्म ४ खर्ब ८९ अर्ब कर्जा लगानी गरेका बैंकहरुले अनुत्पादक क्षेत्रमा मात्रै यो रकममध्ये ३ खर्ब ३ करोड रुपैयाँ लगानी गरेका छन् । सबै १० वटै बैंकको कुल कर्जाको तुलनामा यस्तो कर्जाको हिस्सा ६२ प्रतिशत मात्रै देखिए पनि संस्थाहरुको अलग-अलग अध्ययन गर्दा यो दर निकै उच्च छ ।

यस क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा ग्लोबल आइएमइ बैंक रहेको छ । यो बैंकले आफ्नो कुल कर्जा लगानीको ७० प्रतिशत अर्थात् ५१ अर्ब ६१ करोड रुपैयाँ लगानी यी क्षेत्रमा गरेको छ ।

आक्रामक कर्जा लगानी

गत वर्ष नाकाबन्दीको असरले कर्जा प्रवाहमा मन्दी खेपिरहेका बैंकहरु नाकाबन्दी अन्त्य यता भने कर्जा विस्तारमा आक्रामक रुपमा लागेको देखिन्छ । यी १० बैंकहरुको १८ देखि ६१ प्रतिशतसम्म निक्षेप संकलन बढ्दा बैंकहरुले कर्जा लगानी भने २४ प्रतिशतदेखि ६६ प्रतिशतसम्म बढाएका छन् ।

बैंकहरुले कर्जा लगानीमा आक्रामक नीति लिएर अगाडि बढे पनि लगानी हिस्सा अनुत्पादक क्षेत्रमा बढ्दा अहिले नै पनि बिभिन्न समस्याहरु देखिन थालेका छन् । आक्रामक कर्जा लगानीले बैंकहरुसँग थप कर्जा लगानीको लागि पुँजी अभाव हुन थालेको छ । राष्ट्रिय वाणिज्य बैंकसँग बाहेक अन्य बैंकहरुले कर्जा लगानी गर्न सक्ने सीमा कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत हाराहारी आइसकेको बताएका छन् । वित्तीय विवरण प्रकाशित गर्ने १० बैंकहरुको पनि त्यही देखिन्छ ।

हेर्नुहाेस् लगानी प्रवृत्ती

बैंकहरुले ठूला व्यक्तिगत निक्षेपमा १२ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरिरहेका छन् । र, उनीहरु राष्ट्र बैंकसँग कर्जायोग्य पुँजी उपलब्ध गराउन हारगुहार गरिरहेका छन् । तर, राष्ट्र बैंक भने अनुत्पादक क्षेत्रमा कर्जा बिस्तार गर्न पुँजी नदिने अडानमा छ ।

ब्याजदर बढाऊ, कर्जा लगानीयोग्य पुँजी जुटाऊः राष्ट्र बैंक 

‘उत्पादक क्षेत्रमा कर्जा लगानी गर्न नै समस्या भयो भनेर आउनुभयो भने वहाँहरुलाई हामी पुनर्कर्जा अन्तरगत ७/८ अर्ब रुपैयाँ सुविधा दिन सक्छौं तर अनुत्पादक क्षेत्रमा कर्जा बढाउनका लागि हामी केही गर्न सक्दैनौं,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अनलाइनखबरसँग भने ।

बैंकहरुलाई यस्ता अनुत्पादक क्षेत्रमा कर्जा लगानी विस्तार क्रमशः कम गर्दै जान र साना निक्षेपमा ब्याज दर बढाएर पुँजी जुटाउन थापाले जोड दिए ।

बैंकहरुले कुल निक्षेपको ५० प्रतिशतभन्दा कम हिस्सा रहेको ठूला निक्षेपमा धेरै ब्याज दर दिन थाले पनि साना निक्षेपमा ०६८ यता वृद्धि नगरेकाले लगानीयोग्य पुँजी अभावको समस्या देखावटी भएको तर्क थापाको छ ।

बैंकहरुले साना पुँजीका निक्षेपमा कम ब्याज दर दिएकै कारण बैंकिङ प्रणालीमा निक्षेपको दर अपेक्षित रुपमा बढ्न नसकेको राष्ट्र बैंकको भनाइ छ

असोजसम्मको बैंकहरुमा चल्ती र बचत निक्षेपको हिस्सा कुल निक्षेपमा १९ देखि ८० प्रतिशतसम्म थियो । बैंकहरुको यस्तो निक्षेप खातामा ६ अर्बदेखि १ खर्ब रुपैयाँसम्म रहेको देखिन्थ्यो । जब कि कुल निक्षेप ३१ अर्ब देखि १ खर्ब ४६ अर्ब रुपैयाँसम्म रहेको देखिन्थ्यो ।

यस्तो निक्षेपमा हाल केही बैंकले बढीमा ३ प्रतिशत ब्याजदर दिए पनि धेरैले भने २ प्रतिशतभन्दा कम दिइरहेका छन् । बैंकहरुले साना पुँजीका निक्षेपमा कम ब्याज दर दिएकै कारण बैंकिङ प्रणालीमा निक्षेपको दर अपेक्षित रुपमा बढ्न नसकेको राष्ट्र बैंकको भनाइ छ ।

अहिले पनि बैंकिङ प्रणाली बाहिर सहकारी वा व्यक्तिगत कर्जा लगानीजस्ता अनौपचारिक क्षेत्र तथा सर्वसाधारणको साथमा गरेर ३ खर्ब ५९ अर्ब रुपैयाँ छ । गत असारमा यस्तो रकम ३ खर्ब २८ अर्ब मात्र थियो । यसले बैंकिङ प्रणाली बाहिर रहने रकम बढ्दै गइरहेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment