६ चैत, काठमाडौं । राजधानीको व्यस्त बजारमा एक हुल युवा शालिकलाई मास्क लगाइदिन व्यस्त देखिए । उनीहरुले सिनामंगलको सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा रहेको लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको शालिकमा मास्क लगाइदिए ।
त्यही हुल शहीदगेटमा देखियो । ती युवाले शहीदगेटमा राखिएका शहीदका अर्धकदको शालिकहरुमा पनि मास्क लगाइदिए ।
त्यतिमात्रै होइन, तिनै युवाहरुले सिंहदरबारस्थित पृथ्वीनारायण, त्रिपुरेश्वरस्थित त्रिभुवन, चाबहिलको चुच्चेपाटीस्थित पासाङल्हामु लगायतको शालिकमा पनि मास्क लगाइदिए ।
काठमाडौंबासी यो दृष्य देखेर अचम्म मानिरहेका थिए । मानिसहरुले धुवाँ-धूलोबाट बच्न मास्क लगाउनु त स्वाभाविक हो तर, ती निर्जीव शालिकलाई मास्कको किन आवश्यक पर्यो होला ?
बास्तवमा कुरा अर्कै रहेछ, शालिकलाई धुवाँ-धूलोबाट जोगाउन नभई बढ्दो प्रदूषण रोक्न राजधानीको चाबहिलस्थित पशुपति क्याम्पसका विद्यार्थीले सचेतना अभियान चलाएका रहेछन् ।
प्रदुषणबाट बच्न मास्क लगाउनुपर्छ भन्ने जनचेतना फैलाउन स्वतःस्फूर्त यस्तो अभियान चलाइएको पशुपति क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत निमु मगरले बताए । यो कार्यक्रम आफूहरुले पहिलोपटक आयोजना गरेको र पछि पनि जनचेतनामुलक कार्यक्रम गर्दै जाने उनले बताए ।
यसअघि सर्वसाधारणलाई मास्क बितरण गर्दै आएका पशुपति क्याम्पसका विद्यार्थीहरुले ‘सक्छौं सफा गरौं, सक्दैनौं फोहोर नगरौं !’ भन्ने नाराका साथ शनिवार राजधानीस्थित सबै शालिक तथा मूर्तिहरुको सफाइ गर्दै मास्क लगाइदिएका थिए । उनीहरुले ट्राफिक प्रहरी र केही सर्वसाधारणलाई पानी र मास्क पनि वितरण गरेका थिए ।