Comments Add Comment

‘सामर्थ्य हामीसँगै छ, पोखरालाई पर्यटकीय र शैक्षिक हब बनाउन सक्छौं’

१५ बैशाख, पोखरा । कुनै पनि तन्नेरीलाई कहाँ घुम्न जाने भन्यो भने, प्रायःको जवाफ हुन्छ-पोखरा । आन्तरिक र बाहृय पर्यटकको प्रमुख गन्तव्य शहर पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका बन्दैछ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुको प्रमुख एजेण्डा पनि पोखरालाई पर्यटनको अब बनाउनेनै हुनसक्छ । प्रदेश नम्बर ४ को सम्भावित राजधानी समेत भएकाले पोखराको मेयर हुने व्यक्ति सामान्य भिजनले मात्र पुग्दैन ।

देशकै ठूलो महानगर र पर्यटकीय शहर पोखराको सामथ्र्य र सम्भावना के के हुन सक्छन् ? यसबारेमा बहस चलिरहेका बेला हामीले तत्कालिन पोखरा उपमहानगरपालिका -हाल महानगर)का पूर्वमेयर कृष्ण थापालाई सोध्यौं, पोखराका सामथ्र्य के हुन् र यसको सम्बृद्धि कसरी हुन सक्छ ?

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवारको रुपमा सिफारिस समेत भएका थापाले पोखराको सामथ्र्य र सम्बृद्धिका बारेमा अनलाइनखबरसँग खुलेरै कुरा गरे ।

प्रस्तुत छ, अनलाइनखबरकर्मी शन्देस श्रेष्ठले पोखराको सम्बृद्धिसँग केन्दि्रत रहेर थापासँग गरेको कुराकानीः

तपाईले पहिचान गरेका पोखरा लेखनाथ महानगरपालिकाका सामथ्र्य के-के हुन् ?

हेर्नुस्, पोखरा लेखनाथ महानगरपालिकाको सामथ्र्य भनेको जल, जमिन र जंगल नै हो । यहाँ ८ वटा ताल छन् । फेवाताल, बेगनास ताल, रुपाताल, मैदी ताल, खाष्टे ताल, दिपाङ ताल, गुँदेताल, न्यूरेनी ताल छन् । हिमालको आँगन छ । यसलाई विश्वकै राम्रो पर्यटनको हब बनाउन सकिन्छ । हाम्रो यहि सामथ्र्यलाई सम्बृद्धिसँग जोड्न सकिन्छ ।्

पोखरामा पर्यटनका लागि के के को हब बनाउन सकिन्छ ?

पोखरा विश्वकै सुन्दर सहर मध्येको एक हो । यहाँ धेरै किसिमका पर्यटनको हब बनाउन सकिन्छ । शैक्षिक केन्द्र बनाएर विदेशबाट पोखरा आएर अध्ययन गर्ने थलोको रुपमा विकास गर्न सकिन्छ । जसका लागि शिक्षालाई शैक्षिक उद्योगकै रुपमा विकास गरिनुपर्दछ । ताकी गुणस्तरीय शिक्षाका लागि पोखरा आउनै पर्ने बाध्यता बनोस् ।

स्वास्थ्यको केन्द्र पनि बनाउन सकिन्छ पोखरा लेखनाथ महानगरलाई । ठूलठूला सुविधासम्पन्न टिचिङ अस्पताल बनाउने, अध्ययन गर्नलाई पनि र उपचार गर्नलाई पनि पोखरा आउने वातावरण पनि बनाउन सकिन्छ । यहाँको वातावरण एकदमै राम्रो भएकाले यसको सम्भावना धेरै छ ।

प्रशस्त जग्गा जमिन भएकाले अत्याधुनिक कृषी प्रणालीमार्फत आत्मनिर्भर बनाउनुपर्छ । अहिलेजस्तो निर्वाहमुखी तरिकाले हैन ।
जलपनि प्रशस्त छ पोखरा लेखनाथ महानगरपालिकामा । यहाँ हाईड्रोको प्रचुर सम्भावना छ । यसलाई उद्योगको रुपमा अगाडि बढायौं भने यस महानगरलाई प्रशस्त हुन्छ ।

खेलकुदको पनि यहाँ अत्यधिक सम्भावना छ । स्वच्छ वातावरणमा हिमाल हेर्दै खेल खेल्न र हेर्न मिल्ने ठाउँ हो पोखरा । तर खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ ।

साहित्य, कला र संस्कृतिको राजधानी पनि हो पोखरा । यसलाई पनि साहित्य, कला र संस्कृति उद्योगको रुपमा विकास गर्नुपर्छ । पोखरा लेखनाथ महानगरमा विश्वकै ध्यान तान्न सक्ने क्षमता छ । त्यसैले यसलाई पनि उद्योगमार्फत चलचित्र सुटिङ स्थलको रुपमा विकास गर्न सक्नुपर्छ । ताकी यहाँ जुनसुकै चलचित्र पनि सुटिङ गर्न पुग्नै पर्ने गन्तव्यको रुपमा लिने खालको होस् ।

अहिले भइरहेको पोखराको सामथ्र्यबाट यहाँको सम्बृद्धि सम्भव छ ?

हामीले पर्यटन जोनहरु छुट्याएर काम गर्नुपर्छ । लेकसाईड मात्रै पर्यटकीय क्षेत्र हैन । अन्य पर्यटकीय ठाउँहरुलाई पनि लेकसाईडजस्तै गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्छ । त्यसका लागि पूर्वाधार बनाउनुपर्छ । जस्तै लेकसाईडदेखी माथिल्लो पामे क्षेत्र तथा ८ वटै तालको वरीपरी रेष्टुरेण्ट तथा होटलहरु निर्माण गरेर जहाँ बस्न चाहेपनि पर्यटक बस्ने वातावरण निर्माण गर्नुपर्छ ।

त्यस्तै, पुराना तथा हाल थपिएका गाउँहरुमा भिलेज टुरिजमको कन्सेप्टमा काम गर्नुपर्छ । त्यहाँ होमस्टे सञ्चालन गरेर पर्यटकलाई लोभ्याउन सक्नुपर्छ । सेती नदीको दुबै किनारमा फुटपाथ निर्माण गरेर ठाउँठाउँमा बस्नलायक होटल तथा रेष्टुरेण्ट बनाएर पर्यटनको नयाँ सम्भावना कोर्न सकिन्छ । पोखरा सबै मौसमका लागि भन्ने कन्सेप्टमा काम गर्नुपर्छ । यहाँ जाडो र गर्मी दुबै मौसममा पर्यटनको सम्भावना छ । जाडोमा न उत्पात जाडो हुन्छ न त गर्मीमा खपिनसक्नु गर्मी नै । त्यसैले यहाँको वातावरणको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।

त्यस्तै ८ वटै ताललाई सदुपयोग गर्न सकिन्छ । फेवातालबाट निकालिएको जलविद्युतको क्षमता अलिकति मात्रै सुधार गर्ने हो भने पनि तत्कालै २ गुणा बढाउन सकिन्छ । यसको सदुपयोग नै गर्ने हो भने त चार गुणासम्म पनि उत्पादन क्षमता बढाउन सकिन्छ । त्यसका लागि यसको सर्भे गरेर काम गर्न आवश्यक छ ।

पोखरा लेखनाथ महानगरमा पर्ने मर्दिखोला, बिजयपुरखोला, कालिखोला, फुस्रेखोला लगायतबाट जलविद्युत निकालेर पूरै महानगर झलमल्ल पार्नुका साथै बेचेर आम्दानी समेत गर्न सकिन्छ ।

तपाई एकपटक मेयर भएर परीक्षण भइसकेको मान्छे हो, फेरि मेयर बन्दा तपाईले पोखराका लागि के गर्न सक्नु हुन्छ ?

मसँग भिजन छ । काम गर्ने क्षमता छ । साथै मैले आफू मेयर भएको बेला नेपालमै पहिलोपटक १२ वटा कामको शुरुवात गरेको थिएँ । मैले शहरी गरिबी न्यूनिकरण अभियान, अत्याधुनिक सेनिटेरियन ल्याण्डफिल्डसाईड निर्माण, सहरका सबैभन्दा चाक्लो सडक -न्यूरोड)को निर्माण, एक घर २ रुख रोप्ने नीति, राष्ट्रिय अन्तर नगर फुटवल प्रतियोगिता, अन्तर दोहोरी राष्ट्रिय प्रतियोगिता, महिला सशक्तिकरणका लागि बजेटको ब्यबस्था, नगरको जेष्ठ महिलालाई हरेक वर्ष सम्मान गर्दै ‘नगर माता’ घोषणा गर्ने र उसलाई बाँचुञ्जेलसम्म आवश्यक सबै प्रबन्ध गरिदिने, नेपालकै पहिलो मातृशिशु अस्पताल निर्माण, अन्र्तराष्ट्रिय भगिनी सम्बन्धको शुरुवात, जिआईएस प्रणालीबाट घर नम्बरिङ र आफ्नो नगरको मान प्रतिष्ठा उच्च बनाउन भूमिका खेल्ने एकजनालाई हरेक वर्ष ‘पोखरा रत्न’ सम्मान दिने परम्पराको शुरुवात गरेको थिएँ । अहिले त्यो अलपत्र परेको छ । अब ति कार्यलाई निरन्तरता दिएर थप कार्य जो आएपनि गर्नुपर्छ । तीकार्य म आफैले शुरुवात गरेकाले त्यसको निरन्तरताका लागि पनि म चाहिन्छ भन्ने लागेर मैले उम्मेद्वारी दिन लागेको हुँ । यद्वपी पार्टीले कसलाई अगाडि सार्छ हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment