Comments Add Comment

‘भरियाको भूगोल’ को पश्चिम नेपाल यात्रा पूरा

काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कृति ‘भरियाको भूगोल’ देशका पश्चिमी शहरको काव्य यात्रा पूरा गरी राजधानी फर्केको छ ।

प्रकाशन संस्था नेपालयको संयोजनमा बैशाख १७ गते हेटौंडाबाट सुरु भएको पुस्तक यात्रा १८ गते चितवनको रत्ननगर टाँडी, नारायणगढ, कावासोती हुँदै अगाडि बढेको थियो ।

हेटौंडामा हेटौंडा क्याम्पसभित्र आयोजित कार्यक्रममा अधिकारीको लेखन र पुस्तकमाथि कवि निमेश निखिल, घनश्याम घिमिरे, बच्चुराम अधिकारी र नीरा शर्माले आफ्ना धारणा व्यक्त गरेका थिए ।

१८ गते बिहान रत्ननगर टाँडीमा गजलकार धनराज गिरीले सञ्चालन गरेको कार्यक्रममा संगीतकार/कवि आभासले दिनेश अधिकारीको काव्यमा रहेको गीति सौन्दर्यबारे चर्चा गरेका थिए । शिक्षासेवी उदय अधिकारीले कविहरू सामाजिक र राजनीतिक सोचबाट अप्रभावित रहन नसक्ने बताए भने कवि भूपिनले ‘भरियाको भूगोल’ काव्यमाथि विवेचनात्मक चर्चा गरेका थिए ।

सोही दिन दिउँसो कावासोती पुगेको पुस्तक यात्राका क्रममा दिनेश अधिकारीले झण्डै ४५ मिनेट कविता वाचन गरेका थिए ।

१९ गते टोलीले पाल्पा पुगेपछि धवल पुस्तकालयमा आयोजना गरिएको कार्यक्रममा दिनेशले एक दर्जनजति कविता सुनाएका थिए । कार्यक्रमको अन्त्यमा कविले उपस्थित कविताप्रेमीहरु आफ्ना रचनामाथि राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए । कार्यक्रममा कविताप्रेमी पाठकहरुले कृतिमा लेखकसँग हस्ताक्षर पनि गराएका थिए ।

टोली त्यसै दिन वालिङ पुग्दा बाल विद्या विकास स्कूलको प्राङ्गणमा शिक्षक, विद्यार्थी र स्थानीय साहित्यप्रेमीको उपस्थितिमा काव्य विमर्श गरियो ।

पुस्तक यात्रा २० गते कुस्मा पुगेको थियो भने सोही दिन साँझ बाग्लुङमा कार्यक्रम भएको थियो । बागलुङ जेसिसले आयोजना गरेको कार्यक्रममा काजी रोशन, प्रेम छोटा लगायत व्यक्तित्वहरूको उपस्थितिमा कवि दिनेशले आफ्ना लोकप्रिय कविता र गीत वाचन गरेर रौनक बढाएका थिए ।

२१ गते बिहान बेनीमा आयोजित अन्तरसंवादमा समीक्षक मुकुन्द पौडेलले श्रमिकमाथि आधारित ‘भरियाको भूगोल’ ले नीति निर्माणमा पनि प्रभाव पारोस् भन्ने सदिच्छा व्यक्त गरेका थिए । यसपछि पुस्तक यात्राको दशौं कार्यक्रम दमौलीमा हुँदा काव्यमाथि डा. ईश्वरचन्द्र वाग्लेले टिप्पणी गरेका थिए । गण्डकी बाङ्‌मय  प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा काशीनाथ न्यौपाने, आकाश अधिकारी, गौकुमारी न्यौपाने लगायत स्थानीय लेखकहरूले मन्तव्य राखेका थिए ।

यात्राका क्रममा सबै ठाउँमा गायक तथा संगीतकार आभासले दिनेशको काव्यमा रहेको गीति सौन्दर्य र उनको व्यक्तित्वबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment