News Summary
Generated by OK AI. Editorially reviewed.- बारा र धनुषामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
- बाराको करैयामाईमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५० वर्षीय उमेश शाह सुनारको उपचारका क्रममा वीरगञ्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ ।
- धनुषाको लक्ष्मीनियामा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा चालक जनकपुरका आनन्द उपाध्यायको मृत्यु भएको छ भने दुईजना घाइतेको उपचार भइरहेको छ ।
१० साउन, काठमाडौं । बारा र धनुषामा भएका मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बाराको करैयामाई गाउँपालिका–८ नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका ५० वर्षीय उमेश शाह सुनारको मृत्यु भएको छ । उनको उपचारको क्रममा न्युरो अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ बस्ने ४० वर्षीय पवन शाह सुनार घाइते भएका छन् । उनको उपचार जारी छ ।
मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा गएराति मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका ८ बालुवाटोलका आनन्द उपाध्यायको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उपाध्यायलाई उपचारका लागि हिरा हेल्थ केयर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार दुईजनाको अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4