Comments Add Comment

यी कांग्रेस नेता, जसले सुहागरात छाडेर जेल रोजे

वीरकेशरी गौतम

११ जेठ, दाङ । पञ्चायतविरुद्ध ०३६ सालको जनआन्दोलन उत्कर्षमा थियो । प्रभावशाली कांग्रेस नेताहरु खुमबहादुर खड्का र तीर्थलाल चैतुलाई प्रशासनले पक्रेर जेलमा कोचिसकेको थियो । अर्का नेता बलदेव मजगैंया भारतमा निर्वासनमा थिए । दाङमा कांग्रेसको कमाण्ड सम्हालेका थिए वीरकेशरी गौतमले ।

प्रशासनको तारो बनिरहेका उनी भूमिगत थिए । त्यसैबेला विवाहको साइत जुर्‍यो । बिहे गर्नैपर्ने परिवारको दबावपछि वीरकेशरीले जुक्ति निकाले, बेहुलाविनाको जन्ती जाने ।

परिवारका सदस्य र आफन्त पनि राजी भए । किनकि प्रहरीको गिरफ्तारीबाट बच्ने यो नै राम्रो उपाय हुने उनीहरुले ठाने । त्यसैले बिहेमा धेरै आफन्तलाई बोलाइएन । एकदमै निकटका विश्वासपात्रमा सीमित व्यक्तिहरुलाई मात्र जन्तीको रुपमा बोलाइयो र उनीहरुलाई आ-आफ्नै तरिकाले बेहुलीको घरमा भेला हुन भनियो ।

बिहेको दिन जन्ती टोली बेहुलाको घरबाट नभई आ-आफ्नै तरिकाले पश्चिम दाङको धनौरा प्रस्थान गर्‍यो । आजभन्दा करिब ३७ वर्ष अघिको कुरा सम्झिँदै वीरकेशरीले अनलाइनखबरसँग भने, ‘प्रहरीले खोजिरहेकाले म घरमा बस्दैनथें । घर पनि घेरा हालेको थियो । त्यसैले तिमीहरु आफ्नै तरिकाले जन्ति जाऊ, म आफ्नै तरिकाले बिहे घरमा आउँछु भनें । अनि त्यसै गरियो ।’

प्रहरीको डरले बेहुला बिनाको जन्ती घोराहीबाट बेहुली लिन पश्चिम दाङको धनौरी पुग्यो । बिहेको सामान्य मात्रै तयारी थियो । बेहुली पक्षलाई पहिल्यै भनिएको थियो बेहुला सिन्दूर हाल्नमात्रै आइपुग्ने भनेर ।

त्यसैअनुसार वीरकेशरी लुक्दै-लुक्दै पुगे धनौरी । वीरकेशरीले बिनाको सिउँदो रंगाए । बिहेको सामान्य विधि पूरा गरेपछि उनी जीवन संगीनीसँगै होइन कि एक्लै त्यहाँबाट टाप कसे । तर, प्रहरीबाट उम्किन भने सकेनन् ।

‘मलाई समात्न थुप्रै सुराकी अञ्चलाधीशले खटाएका थिए । प्रहरीले पनि घर घेरा हालेको थियो । म सिउँदो हालेर भागिसकेको थिएँ,’ बिहेकै दिन आफू पक्राउ पर्दाको क्षण उनले सम्झिए , ‘तर घोराही नजिकै बीच सडकमा मलाई प्रहरीले फेला पार्‍यो र समातिहाल्यो ।’

त्यतिबेला अञ्चलाधीश थिए दिगम्बर झा । कांग्रेसीहरुको सम्भावित आन्दोलन र त्यसमा वीरकेशरी गौतमको जुझारु नेतृत्वसँग तर्सिएको तत्कालीन प्रशासनले पञ्चायतको समर्थनमा हस्ताक्षर गर्न दबाव दियो । तर, क्रान्तिकारी छवि भएका गौतमले अञ्चलाधीशको प्रस्तावलाई ठाडै अस्वीकार गरे र बिहेकै दिन सुहागरातको साटो जेल जीवन रोजे ।

‘म त राजनीतिका लागि घर परिवार त्यागेर हिँडेको मान्छे, मैले पञ्चायतलाई स्वीकार गर्न सकिनँ । त्यसपछि मलाई बिहेकै दिन जेलमा कोचियो,’ उनले रोमान्टिक पारामा थपे, ‘मैले सुहागरात मनाउनै पाइनँ । म जेलमा, श्रीमती घरमा ।’

धनौरीबाट बेहुलाबिनाको बेहुलीमात्र लिएर आफन्तहरु घोराही फर्किए । बिहेको रंगीन रातको समयमा वीरकेशरी जेलमा यातना भोग्दै थिए । यो कुरा धेरै घण्टापछिमात्र बेहुलीलाई थाहा दिइयो । घरमा रुवाबासी थियो । वीरकेशरीलाई भने सल्यान जेल चलान गरियो जहाँ उनले सात महिना बिताए ।

अन्ततः पञ्चायत ढल्यो । वीरकेशरी पनि मुक्त भए । त्यसपछि पनि राजनीतिक उतार-चढाव जारी रह्यो । सबैभन्दा कठीन दिन माओवादीको सशस्त्र युद्धमा भयो । माओवादी तारोमा परे वीरकेशरीजस्तै सयौं कांग्रेसी नेता-कार्यकर्ताहरु ।

त्यहीबेला नेपाली कांग्रेस विभाजन भयो । खुमबहादुर खड्का शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक)तिर लागे  । वीरकेशरी संस्थापन पक्षमै थिए । उनले नेपाली कांग्रेसको दाङ जिल्ला सभापति भएर कठिन परिस्थितिमा पनि कुशलतापूर्वक १० वर्षसम्म नेतृत्व सम्हाले । जिल्ला विकास समितिका दलीय प्रतिनिधि भएर दाङको विकासमा भूमिका पनि उनले खेले ।

‘सशस्त्र लडाईंमा धेरैको जग्गा कब्जा भयो । घर लुटियो । कतिपयको हत्या भयो । तर, मैले हिम्मत हारिनँ । कांग्रेसको नेतृत्व गरिरहें,’ वीरकेशरीले आफूले गरेका महत्वपूर्ण कामबारे बताउन खोजे, ‘माओवादीले कब्जा गरेका जग्गा पनि शान्ति प्रक्रियापछि फिर्ता गराएँ । कतिपयलाई राहत र क्षतिपूर्ति दिलाएँ ।’

आफ्नो कार्यकालमा पार्टीमा गुट–उपगुट पनि हुन नदिएको दाबी उनले गरे । तर, अहिले फेरि बिभिन्न गुटको जन्म भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘मेरो त्याग, समर्पण र निष्ठाको राजनीति सबैलाई थाहा छ । दंगाली जनता यसबारे जानकार छन् । तर, अहिले यो समूह र त्यो समूहको भन्दै कांग्रेसीहरु लागेको देख्दा चिन्ता लाग्छ,’ अहिलेसम्म लाभको पदमा नपुगेका गौतमले भने, ‘गुटको राजनीतिले पार्टी कमजोर हुन्छ । म सबै एकतावद्ध भएको बलियो कांग्रेस देख्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment