Comments Add Comment

एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य

 

१७ जेठ, काठमाडौं । एनसेलले चौथो पुस्ताको मोवाइल सेवाफोरजी/ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ ।

नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरिएको एनसेलले जनाएको छ ।

नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले भोलि बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा यो सेवा लिन सक्नेछन् ।

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

सन् २०१७ को अन्त्य सम्ममा कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य एनसेलले लिएको छ । यसका लागि उसले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी सेवाका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरबाट फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । नयाँग्राहकले फोरजी सिम नै प्राप्त गर्ने उसले बताएको छ ।

एनसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिनमा १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन् ।

यस बाहेक चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment