+
+
Shares

नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?

प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ मंसिर ८ गते १७:०२

८ मङ्सिर, काठमाडौँ। गत वैशाखमा भारतले सन् २०२६ का लागि लिपुलेक हुँदै मानसरोवर यात्रामा जानेहरूका लागि आवेदन आह्वान गरेपछि त्यसमा असहमति जनाउँदै नेपालले ६ बुँदे कूटनीतिक नोट पठायो।

सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको कूटनीतिक नोटबारे जानकारी दिन जारी विज्ञप्तिमा उल्लेख छ।

‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ,’ त्यतिबेलाको विज्ञप्तिमा भनिएको छ।

तर त्यसको ६ महिनापछि भएको प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमणमा भने यो विषयले प्रवेश नै नपाएको भारतले जनाएको छ।

मङ्सिर ७ गते प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा–नओर्लंदै भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भने, ‘लिपुलेकको विषयमा दुई पक्षबीच कुनै छलफल भएन।’

प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यो विषयमा छलफल नभएको मात्र होइन, विगत लामो समयदेखि भारत र चीनले लिपुलेक पास हुँदै व्यापारलगायतका गतिविधि गर्दै आएको उनले बताए।

नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली सुगौली सन्धिअनुसार लिपुलेक मात्र होइन, लिम्पियाधुरासम्मै नेपाली भूभाग भएको बताउँछन्। उनी भन्छन्, ‘भारतले त्यस्तो भन्नु अस्वाभाविक होइन, तर हामीले ऐतिहासिक प्रमाणहरूका आधारमा आफ्नो कुरा निरन्तर राख्न सक्नुपर्दछ।’

कालापानी र सुस्ता क्षेत्रमा विवाद रहेको कुरा दुवै देशले औपचारिक रूपमै स्वीकारेको विषय हो। पहिलोपटक प्रधानमन्त्री बनेपछि सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेलामा कालापानी र सुस्तासहितका बाँकी सीमा विवादका विषयमा सीमा कार्यदलबाट आवश्यक प्राविधिक सुझाव तथा सहयोग लिएर काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएका थिए।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीको पालामा भएको त्यो सहमतिले बालेनको पालामा पनि निरन्तरता पाएको छ। मङ्सिरमा जारी संयुक्त वक्तव्यमा ‘बाँकी रहेका सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएको’ उल्लेख छ। त्यसयताको १२ वर्षमा परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठक बस्न सकेको छैन।

प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्।

मोदीको नेपाल भ्रमणकै बेलामा दुवै देशका प्रधानमन्त्रीहरूले सन् १९५० को शान्ति तथा मैत्री सन्धि र अन्य द्विपक्षीय सम्झौताहरूको पुनरावलोकन, परिमार्जन तथा अद्यावधिक गर्ने सहमति जनाएका थिए। त्यसपछि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन भयो। ईपीजीको प्रतिवेदन तयार भएर पनि अलपत्र छ।

यो प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने ईपीजीमा सहमति भएको थियो। भारतीय प्रधानमन्त्रीले यो प्रतिवेदन बुझ्न मानिरहेका थिएनन्।

बालेनको भ्रमणपछि भने भारतले औपचारिक रूपमै ईपीजी प्रतिवेदन असान्दर्भिक भएको प्रतिक्रिया जनाएको छ। विदेश सचिव मिश्रीले ‘इमिनेन्ट पर्सन्स ग्रुप’ शब्द नै मुस्किलले उच्चारण गरे।

‘त्यो के रे ! प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, म भन्छु त्यो त विगतको कुरा भइसक्यो। हामी यस विशेष मुद्दामा अगाडि हेरिरहेका छौँ, पछाडि फर्केर हेरेका छैनौँ,’ सञ्चारकर्मीको प्रश्नमा मिश्रीले भने।

‘ईपीजी प्रतिवेदनलाई जोइन्ट भिजन डकुमेन्ट (विकसित भारत र समुन्नत नेपाल : रिइम्याजिनिङ द पार्टनरसिप) ले प्रतिस्थापन गरेको हो त ?’ भन्ने प्रश्नमा मिश्रीले ‘हो’ नभनी प्रतिस्थापन गरेको आशय व्यक्त गरे।

ईपीजी प्रतिवेदन विगत भइसकेको र त्यसमा फर्कन नचाहने मात्र होइन, जोइन्ट भिजन डकुमेन्ट दुई देशको सम्बन्धबारे अग्रगामी, प्रगतिशील, बृहत् र विस्तृत भएको उनले उल्लेख गरे।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि ईपीजीमा उठाउने भनिएका विषय भिजन डकुमेन्टमा सम्बोधन गरिएको बताए। प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल–भारतबीच भएका १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि–सम्झौताहरूलाई पुनरावलोकन गर्न तयार छ भनेर स्पष्टसँगले बोलिसकेपछि ईपीजीभित्र भएका कन्टेन्टहरूलाई पनि सम्बोधन गर्ने गरेर हामीले अहिलेको भिजन डकुमेन्ट आएको छ।’

ईपीजीसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले भिजन डकुमेन्टमा नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट व्याख्या गर्न चाहेको बताए। ‘र, त्यसका लागि आवश्यक पर्ने नयाँ सन्धि गर्न पनि तयार छौँ भनेर दुइटा देशले भनेका छौँ,’ मन्त्री खनालले भने।

ईपीजीका सदस्य नीलाम्बर आचार्य भने दुई सरकार सहमत भएर तयार पारेको ईपीजी प्रतिवेदन उत्तिकै सान्दर्भिक भएको बताउँछन्। आचार्यले अनलाइनखबरसँग भने, ‘भारतीय प्रधानमन्त्रीले बुझ्न मात्र नमानेका हुन्। यसको सान्दर्भिकता सकिएको होइन।’

प्रधानमन्त्री शाह र मोदीबीच भारतीय सेनाको अग्निपथ योजनाबारे पनि छलफल नभएको विदेश सचिव मिश्रीले बताए। सन् २०२२ मा अग्निपथ योजना लागू भएपछि नेपालले भारतीय सेनामा गोर्खा भर्ती रोकेको छ।

गोर्खा भर्तीसँग जोडिएको अग्निपथबारे प्रश्न सोधेका पत्रकारलाई मिश्रीले भने, ‘अग्निपथको विषयमा दुई नेताको बीचमा छलफल भएन। यसको नीतिगत कुरा बुझ्न चाहनुहुन्छ भने रक्षा मन्त्रालयमा सम्पर्क गर्न मेरो सुझाव छ।’

भारतीय सञ्चारकर्मीहरूले जेनजी आन्दोलनको विषयमा पनि जिज्ञासा राखेका थिए। मिश्रीले बालेन र मोदीबीच कुराकानी नभएको बताए। एकान्तमा भएका कतिपय गोप्य बातचित सञ्चारकर्मीलाई भन्ने छुट भने आफूलाई नभएको मिश्रीको भनाइ थियो।

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?