Comments Add Comment

जमुनाको जीवनमा विपत्तिः पति बेपत्ता, आमा-छोरीलाई पत्थरी

६ वर्ष कुर्दा पनि पति फर्किएनन्, मृत्यु दर्ता गरेर बिधवा भत्ताले जिउने आशा

६ साउन, डोटी । दुःखमा साथ दिन्छु भन्ने पति भारत गएका उतै बेपत्ता भए । ९ वर्ष भयो डाक्टरले पित्तथैलीमा पत्थरी छ, अप्रेसन गर्नुपर्छ भनेका छन् । तर अप्रेस गर्ने पैसा उनीसँग छैन । दैव पनि कति निर्दयी भइदिए भने, यीनै बेसहराकी छोरीलाई पनि पत्थरी भयो ।

२९ वर्षीया जमुना नेपालीको यो पीडा कम्ति दर्दनाक छैन । स्थानीय तहमा चुनाव भएर जनप्रतिनिधि आएपछि केही सहयोग हुन्छ कि भनेर समुना दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा पुगिन् । मेयरका कुर्सीमा महिला नै देखेपछि उनले सहयोगको याचन गरिन् ।

‘सहयोग गरिदिनु पर्‍यो हजुर मलाई बचाई दिनुपर्‍यो’ नवनिर्वाचित मेयर मञ्जु मलासीको कार्यकक्षमा पुगेर जमुना नेपालीले आफ्नो पीडा पोखिन् । दिपायल सिलगढी नगरपालिका-८ निवासी २९ वर्षीया जमुना आफू मात्रै पथ्थरी बोकेर उपचारका लागि गुहार माग्दै छैनन्, उनकी सात वर्षीया छोरी निर्मला नेपाली पनि पिसाप थैलीमा पथ्थरी बोक्दैछिन् ।

‘आफू त नौ बर्षदेखि नै पथ्थरी बोक्दैछु, छोरीले पेट दुख्न लाग्यो, पिसाब पोल्नु लाग्यो भनेपछि गत फागुनमा स्वास्थ्य जाँच गराउँदा पिसाब थैलीमा पथ्थरी देखायो’ आँखाबाट आशु र्झादै जमुनाले भनिन् ‘अव छोरी पहिले मर्छे कि म पहिले भन्ने अवस्था छ ।’

बेपत्ता पतिको मृत्युदर्ता गर्ने प्रयास

छोरी जन्मेको एक बर्ष नपुग्दै श्रीमान् तारा नेपाली रोजगारीका लागि भारतको पञ्जाव गए । श्रीमान्ले पैसा कमाउलान् र आफू पनि उतै गएर पथ्थरीको शल्यक्रिया गराउँला भन्ने सोचेकी जमुनाले श्रीमानको बाटो कुरेको ६ वर्ष बितिसक्यो । तर, उनको अत्तोपत्तो छैन ।

‘भारत गएपछि एक बर्षपछि एक पटक फोन गर्नु भएको थियो’ अनलाइनखवरसँग कुरा गर्दै जमुना सम्झिन्छिन्, ‘त्यतिबेला पैसा कमाउन सकेको छैन, पैसा कमाएपछि तिमिलाई बोलाउला भन्नु भएको थियो, त्यसपछि कहाँ हुनुहुन्छ भन्ने बिषयमा समेत जानकारी छैन ।’

दुई छोरी र एक छोराकी आमा जमुना पित्त थैलीमा पथ्थरी हुँदाहुँदै पनि दैनिक मजदुरी गरेर आफु र छोराछोरीलाई पाल्दै आएकी थिइन् । उनी भन्छिन्-अव त सहनै नसक्ने भएँ, कसरी बाँचु ?

उनी सहयोग माग्दै केही रकम जुटेपछि भारततिरै जान्थेँ भन्छिन्, जहाँ उनकी बहिनी छिन् । बहिनीले सहयोग गर्ने हुन कि हैनन् भन्ने पनि थाह छैनन् उनलाई । ‘बैनीका खुट्टा छुन्थें, उसैलाई आग्रह गर्थेँ’ पञ्जाव रहेकी बैनीलाई सम्झदै उनी भन्छिन्, ‘पञ्जाब पुर्‍याइदिने मान्छे पनि कोही छैन ।’

थला परेपछि आमाको बृद्धभत्ता जमुनाको जीवनको सहारा बनेको छ । ‘६ बर्ष भन्दा बढी भइसक्यो श्रीमान् हराएको’ रुदै रुदै उनी भन्छिन् ‘श्रीमान्को मृत्यु दर्ता गरेर बिधवा भत्ता त पाइन्छ कि भनेको नगरपालिकाले हुन्न भन्यो ।’

नेपालको संविधानले स्वास्थ्य सुविधालाई मौलिक हकको रुपमा स्वीकार गरेको छ । तर, जमुना मात्रै होइनन्, थुप्रै जमुनाहरु स्वास्थ्य सम्वन्धी पीडा खेप्दै उपचारका लागि सहयोग माग्दै हिँडिरहेकी छन् ।

कानुनी व्यवस्था स्पष्ट भइनसकेका कारण उनको यो पीडामा मेयर मलासीले भने केही गर्न सकिनन् । उनी भन्छिन् ‘उहाँको यो समस्याका बिषयमा म नगर कार्यकारी अधिकृत र जिल्ला अस्पताल डोटीसँग समन्वय गरेर केही उपाय निकाल्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment