Comments Add Comment

ह्वाइट हाउसका प्रेस सचिवद्वारा राजीनामा, ट्रम्पसँग असन्तुष्ट

७ साउन, वासिङ्गटन । अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक पदमा राष्ट्रपति ट्रम्पले न्युयोर्कका एकजना धनाढ्य तथा लगानीकर्ता एन्थोनी स्कारामुस्सिलाई अकस्मात् नयाँ नियुक्ति दिएपछि यसमा चरम असन्तुष्टि प्रकट गर्दै स्पाइसरले राजीनामा दिएका हुन् ।

स्कारामुस्सिको नवनियुक्ति पश्चात् स्पाइसरले राष्ट्रपति ट्रम्पको कदमप्रति कडा आपत्तिसमेत जनाएका अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

तत्कालै राजीनामा दिए तापनि अगस्ट महिनासम्म कार्यरत भै त्यसपछि मात्र पदत्याग गर्ने ४५ बर्षीय स्पाइसरले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन । ह्वाइट हाउस जस्तो गरिमामयी कार्यालयको सञ्चार विभाग हाँक्ने योग्यता र औकात नवनियुक्त निर्देशक स्कारामुस्सिसँग हुँदै नभएको भनी स्पाइसर र उनका सहकर्मी चिफ अफ स्टाफ रेइन्स प्रिबसको दाबी रहेको छ ।

हालसम्म ह्वाइट हाउसप्रति पुर्याएको सेवा बापत धन्यबाद दिँदै आजै प्रकाशित एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले स्पाइसरको कार्य सम्पादन क्षमताबाट आफू प्रभावित रहेको उल्लेख गरेका छन् ।

स्पाइसरको राजीनामा तथा उनले स्कारामुस्सिको बारेमा गरेको टिप्पणीप्रति ट्वीटरमा प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले पहिला पहिला फटाहा सञ्चार माध्यमहरु (फेक न्युज मिडिया) ले समाचारहरुको अत्यन्त दुरुपयोग गरी ह्वाइट हाउसलाई उछाल्दा समेत यिनले ठीक पारेका थिए । तर, यत्ति सानो घटनामै राजीनामा दिइ हाल्नु पर्ने स्पाइसर गजबका ब्यक्ति रहेछन्’ भनी आश्चर्य प्रकट गर्नु भएको छ ।

राष्ट्रपति ट्रम्पको सञ्चार प्रशासनमा प्रवेश गरेको केही हप्तामै स्पाइसर विवादमा मुछिएका र अधिकांश अमेरिकी सञ्चार माध्यमहरुले उनलाई हास्यास्पद तथा आलोचनाका पात्र बनाएका थिए । नियुक्ति पाएको केही हप्तादेखि नै उनको सम्भाब्य राजीनामा वा बहिर्गमनको अडकल काटिन थालेको थियो ।

त्यस्तै, नवनियुक्त सञ्चार निर्देशक, ५३ बर्षीय स्कारामुस्सिले आफ्नो छवि एक राजनीतिक ब्यक्तित्व, अर्थबिद्, धनाढ्य तथा लगानी कर्ताका रुपमा निर्माण गरेका छन् ।

उनले न्युयोर्कका थुप्रै बैंक तथा अन्य वित्तिय संस्थाहरुमा काम गरिसकेका छन् । तर, उनी पनि विवाद रहित भने छैनन । केही समय अघि एक पटक, सिएनएनमा प्रसारित एक आलेख कथानक वृत्तान्तमा एउटा रुसी लगानी कोषको शंकास्पद गतिबिधिसँग उनको नाम गाँसिएको थियो ।

पछि सिएन्एन्ले उनको नाम मुछिएकोमा यसलाई सम्पादन गर्न बाँकी रहेको अवस्थामा प्राविधिक त्रुटीवश प्रसारण हुन पुगेको भन्दै क्षमा याचना गरेको थियो । रासस/सिन्ह्वा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment